४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन महिना समय र १८ करोड व्ययभार थप

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना निर्माणको क्रममा कमजोर चट्टान भेटिएर नयाँ भेरिएसन गर्दा र स्थानीय नागरिकको अवरोधले काम गर्न नपाउँदा आयोजनाको व्ययभार १८ करोड थपिने भएको छ। निर्माणाधीन आयोजनाको इभाक्युएसन टनेल (आपत्कालीन सुरुङमा) मा कमजोर चट्टान भेटिएर डिजाइन परिवर्तन गर्नुपरेकाले आयोजनालाई थप ९ करोड रूपैयाँको व्ययभार थपिएको हो।

त्यस्तै स्थानीयको आन्दोलनले आयोजनाको निर्माण कार्य गत (चैत–वैशाख) महिनामा एक साता ठप्प हुँदा जापनिज निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले दैनिक डेढ करोड रूपैयाँको दरले ६ दिनको ९ करोड रूपैयाँ र तीन महिना म्याद थपको दाबी गरेको थियो।

अहिलेसम्म ८६ दिन म्याद थप भइसके पनि कम्पनीले माग गरेको ९ करोड क्लेम आयोजनाले स्वीकृत गरिसकेको भने छैन। यो विषय अहिले विवाद निरूपण हुने क्रममा छ। नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले इभाक्युएसन टनेलको डिजाइन परिर्वतन भएकाले १५ अर्ब रूपैयाँको ०.६ प्रतिशतको दरले ९ करोड रूपैयाँ भेरिएसन स्वीकृति भइसकेको बताए।

‘हामीले नरम खालको चट्टान भेटिने एष्टिमेट गरेका थिएनौं तर निर्माणको क्रममा नरम र कमजोर चट्टान भेट्टियो। यसबाहेक स्थानीयले पुल र अन्य संरचना लगायतको माग समेत गरेकाले सो रकम बराबरको भेरिएसन भएको हो।’ यसले एकातर्फ आयोजनाको लागत बढेको छ भने अर्काेतर्फ आयोजना निर्माण सम्पन्न हुने म्याद पनि पर सरेको छ।

आयोजनाले ठेकेदार कम्पनीलाई ८६ दिन म्याद पनि थप गरेको छ। आयोजनाका निर्देशक शाक्यले इभाक्युएसन टनेल खन्ने क्रममा माथिल्लो भागबाट चट्टान निरन्तर झर्ने समस्या देखिएसँगै डिजाइन परिवर्तन गरेर ‘गाउन्टिङ स्टेप्लाइजिङ’ गर्दा भेरिएसन गर्नुपर्ने अवस्था आएको बताए।

‘पहिलाको डिजाइनमा सुरुङमा ‘गाउन्टिङ स्टेप्लाइजिङ’को प्रावधान राखिएको थिएन’, उनले भने-‘डिजाइन रिभ्यु गरेर नयाँ व्यवस्था गरेसँगै आयोजनाको लागत केही वृद्धि भएको हो।’ सुरुङमार्ग खन्दा कमजोर चट्टान भेटिएसँगै स्टिलको रड लगायतका सामग्री राखेर सुरुङलाई स्टेप्लाइज गर्नुपर्ने हुन्छ।

आयोजनाका निर्देशक शाक्यले इभाक्युएसन टनेलमा कमजोर चट्टान भेटिएसँगै यो खण्डमा डेढ महिनाजति काम रोकिएको बताए। अहिले इभाक्युएसन टनेलको डिजाइन रिभ्यु गरेर परिवर्तन गरेका छौं। अब भने इभाक्युएसन टनेलको कामले गति लिनेछ।’

फेरि ब्रेकथ्रुको डेट सर्‍यो

आयोजनाले सुरुको चरणमा आगामी साउनमहिनाभित्रै नागढुंगा–नौबिसे सुरुङमार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) गर्ने लक्ष्य राखेको थियो। गत चैतदेखि इभाक्युएसन टनेलतर्फ कमजोर चट्टान भेट्टिएसँगै आयोजनाको ब्रेक थ्रु गर्ने म्याद आगामी असोज–कात्तिकमा धकेलिएको थियो तर अब भने असोज कात्तिक महिनामा पनि ब्रेक थ्रु नहुने सम्भावना बढेको छ।

आयोजनाले पनि ब्रेक थ्रु गर्न नहतारिने स्पष्ट पारेको छ। निर्देशक शाक्यले आयोजनाले सुरुङको ब्रेक थ्रु गर्नुभन्दा पनि आयोजनाको सम्पूर्ण पूर्वाधारलाई छिटो सक्ने गरी नयाँ रणनीति फेरिएको दाबी गरे। ‘पहिला हामीले सुरुङमार्ग खन्ने काम सिध्याएपछि मात्रै सुरुङभित्रको भुइँमा ढलान लगायतका संरचना निर्माण गर्ने लक्ष्य राखेका थियौं’, उनले भने–‘अब सुरुङ खनेर सकिएको ठाउँमा लाइनिङ लगायतका काम पनि गर्ने योजनासहित अघि बढ्नेछौं।’

बाहिरी जिल्लालाई राजधानी काठमाडौंसँग जोडने एक मात्र नागढुंगा नौबिसे सुरुङ मार्ग अन्तर्गत मुख्य सुरुङको करिब आधा भाग खनिएको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटर मध्ये अहिलेसम्म १२ सय ८३ मिटर मात्रै सुरुङ खनिएको छ। गत मे महिनामा भने ७९ मिटर सुरुङ खनिएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App