२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इम्बोस्डको ‘एम्बुस’

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’

यातायात कार्यालय गुर्जुधारामा पुरानो नम्बर प्लेट हटाएर इम्बोस्ड नम्बर प्लेट राखिँदै।

काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे।

बल्लतल्ल इम्बोस्ड नम्बर प्लेट त पाए तर फेरि डाटा ‘सबमिट’ भएन भनियो। त्यो दिन पनि त्यसै बित्यो। बुधबार पनि बिहानै उनी कार्यालय पुगे। लामो दौडधुपपछि दिउँसोतिर उनको हातमा नम्बर प्लेट पर्‍यो तर त्यो फिट गर्ने मान्छे नभेटिँदा ३ बजेसम्म हिलो र झरीबीच अलमलिनुपर्‍यो।

इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमा हुँदैको अवस्थामा सवारीसाधनमा जडान गर्नुपर्छ। नयाँ प्लेट राखेको फोटो खिचेर रुजु गर्न छुट्टै जनशक्ति खटाइएको हुन्छ। जसका कारण प्लेट लिएपछि फेरि रुजुका लागि खटाइएका व्यक्ति खोज्दै हिँड्नुपर्ने अवस्थाले सेवाग्राहीलाई थप हैरान बनाउँछ।

‘मलाई इम्बोस्डमा भएको भनिएका चलखेलबारे केही थाहा छैन,’ बुधबार अपराह्न दिक्दार अवस्थामा भेटिएका गौतमले भने, ‘तर तीन दिन यातायात कार्यालयको अस्तव्यस्ततामा बिताउनुपर्दा एम्बुसमा परेजस्तै भयो।’ यातायात व्यवस्था विभागअन्तर्गतको कार्यालयमा देखिएको यो अस्तव्यस्ताले आफूलाई निकै दिक्दार बनाएको उनले सुनाए। ‘सरकारलाई कहिल्यै चेत आएन,’ आफ्नो पीडालाई उनले सामाजिक सञ्जालमा समेत पोखे, ‘जनतालाई दुःख दिने यस्तो सरकार त विश्वमा कहीँ पनि नहोला?’

यस्तो पीडा भोग्ने उनी एक्ला सेवाग्राही होइनन्। सरकारले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनमा साउन १ देखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना निकालेलगत्तै हजारौं सर्वसाधारणले यातायात कार्यालयमा यस्तै समस्या भोगे, भोगिरहेका छन्। यातायात व्यवस्था विभागले गत शुक्रबार सूचना प्रकाशित गरेर अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेसँगै पहिलो दिन त यातायात कार्यालयमा एकाएक भिड बढ्दा अस्तव्यस्तताले झडप होलाजस्तै परिस्थिति सिर्जना भयो।

अनलाइनबाट आवेदन दिए पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि सेवाग्राहीले निकै सास्ती भोग्नुपर्ने देखिएको छ। त्यसरी आवेदन दिनेहरूले पहिलोपटक ‘भेरिफिकेसन’का लागि, दोस्रोपटक ‘पर्सनलाइजेसन’ गर्न कार्यालयमै पुग्नुपर्छ। राजस्व बुझाएर इम्बोस्ड नम्बर प्लेट लिन तथा जडान गराउन तेस्रोपटक पनि यातायात कार्यालयमै जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ।

‘सरकारले भनेजति पैसा तिरेर लगाउँछु भन्दा पनि दुःख पाइयो,’ कोटेश्वरका सन्देश ढकालले भने, ‘भिडमा च्यापिँदै, हिलोमा लड्दै बल्लतल्ल नम्बर प्लेट लगाउन पाएँ।’ त्यो काम फत्ते गर्न पूरा तीन दिन लागेको उनले सुनाए। ‘तर यसबीचमा खाजा खानेसमेत फुर्सद मिलेन,’ उनले भने, ‘तयारी पूरा नगरी निर्णय गरेका कारण हामी सेवाग्राही दुःख भोग्न बाध्य भयौं।’

इम्बोस्ड नम्बर जडान नगरिएको पाइए कारबाही हुने चेतावनी दिइएका कारण एकैपटक समस्या आएको उनको बुझाइ छ। त्यसो त चर्को आलोचनापछि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषयमा सरकार केही लचक देखिएको छ। ४० दिनभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जोड्ने निर्णय अव्यावहारिक भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि मंगलबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरेर आफ्नो आशय त्यस्तो नभएको स्पष्टीकरण दिएको छ।

विज्ञप्तिमा साउन १ भित्र सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान हुनुपर्ने अवस्था नभएको तर सेवाग्राहीले लापरबाही देखाएका कारण त्यस्तो सूचना निकाल्नुपरेको तर्क गरिएको छ। विज्ञप्तिमा २०७८ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधन, फागुन १ देखि नामसारी हुने सवारीसाधन र २०७९ जेठ १ देखि सवारीधनी प्रमाणपत्र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको उल्लेख छ।

यातायात विभागका महानिर्देशक नमराज घिमिरेले पनि नेपालका सबै सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट लगाउन नभनिएको बताए। ‘नेपालमा दर्ता भएका सबै सवारीसाधनमा इम्बोस्ड प्लेट लगाउनुपर्छ भनिएको होइन,’ उनले भने, ‘म आम सवारीधनीलाई नआत्तिन र नडराउन अनुरोध गर्छु।’ सेवाग्राहीले सरकारी नियमबारे लापरबाही गरेका कारण सम्झाउन यस्तो सूचना निकालिएको उनले दाबी गरे।

‘लगाए पनि हुन्छ नलगाए पनि हुन्छ भन्ने मनोभाव सवारीधनीमा देखियो,’ उनले भने, ‘लगाउन जरुरी छ भनेर सम्झाउन हामीले सूचना निकालेका मात्र हौं।’ विज्ञप्तिपछि सेवाग्राहीको कार्यालय आगमनमा केही कमी आए पनि अपायक ठाउँमा रहेको अस्तव्यस्त कार्यालयमा बेथिति उस्तै छ। ‘पहिलो कुरा त सवारीसाधन पार्क गर्ने उपयुक्त ठाउँ छैन,’ भोटाहिटीबाट आएका अनिश श्रेष्ठले भने, ‘पार्क गरेर निस्क्यो, कार्यालयहरू तीनचारतिर छरिएका छन्।’

कार्यालय खोज्दैमा दिन जाने बताउँदै उनले पुराना फाइल खोज्न र राजस्व तिर्न लाइन बस्नुपर्ने हुँदा दिक्क लाग्ने उनले सुनाए। ‘यसमा पनि कहिले कुन कागजात नभएको त कहिले के नपुगेको भन्दै कर्मचारीले फर्काउँछन्,’ उनले भने, ‘यहाँ पुगेपछि सजिलै उम्कनै सकिन्न।’ गुर्जुधारामा भएको अस्तव्यस्तताबारे आफू जानकार भएको उल्लेख गर्दै यातायात विभागका महानिर्देशक घिमिरेले त्यो आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताए। ‘वाग्मती प्रदेशअन्तर्गतको मन्त्रालयले हेर्ने हो,’ उनले भने, ‘हामीले केही जनशक्ति पठाएर सहयोग गर्दा पनि व्यवस्थित हुन सकेको छैन।’

यातायात व्यवस्था कार्यालय गुर्जुधाराका सूचना अधिकारी लेखनाथ खतिवडाले सेवाग्राहीको चाप एक्कासि बढेकाले अस्तव्यस्तता निम्तिएको स्वीकार गरे। एकातिर खुला आकाशमुनि सेवा दिनुपर्ने बाध्यता, अर्कातिर बेलाबेलामा पानी पर्ने अवस्थाका कारण झनै समस्या जटिल बनेको उनले स्पष्ट पारे। ‘हामी तत्कालै सेवाग्राहीलाई सोचेजस्तो सेवा दिन सक्दैनौं,’ उनले भने, ‘यसका लागि हामीले प्रदेशको सम्बन्धित मन्त्रालयमा जानकारी गराइसकेका छौं।’

कस्तो हुन्छ नम्बर प्लेट?

इम्बोस्ड नम्बर प्लेटमा देशको झन्डा र नाम, प्रदेशको नाम, सवारीसाधनको वर्ग, लट र नम्बर उल्लेख गरिएको हुन्छ। सरकारले हाल चार प्रकारका इम्बोस्ड नम्बर प्लेट जारी गरिरहेको छ। सार्वजनिक यातायातका लागि पहेंलो रङको प्लेटमा कालो अक्षर, निजी सवारीका लागि सेतो प्लेटमा कालो अक्षर, सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षर, कूटनीतिक नियोगका सवारीका लागि निलो प्लेटमा सेतो अक्षरको नम्बर प्लेट राख्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App