१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भरतपुरमा सम्पूर्ण कर अनलाइनबाटै

भरतपुर महानगरपालिकाले अनलाइन प्रणालीमार्फत कर भुक्तानीको सुरुवात गरेको छ। यसअघि नक्सा पास, सिफारिस दस्तुरको अनलाइनमार्फत कर तिर्ने व्यवस्था गरेको महानगरले आज (मंगलबार) देखि सम्पूर्ण सेवाहरूको कर अनलाइन प्रविधिमार्फत् भुक्तानी गर्ने व्यवस्था गरेको हो।

सुशासन कायम राख्न अनलाइन प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। ‘हामी स्मार्ट सिटीको अवधारणाअनुसार अगाडि बढेका छौं,’ उनले भनिन्, ‘सुशासनसहितको सेवा प्रवाहमा अनलाइन प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौं।’ प्रविधिको युगमा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैले प्रविधिलाई आत्मसाथ गर्दै जानुपर्ने दाहालले बताइन्।

भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐतिहासिक कार्यको सुरुवात भएको बताएका छन्। उनले स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो पार गरेको समेत बताए। ‘हाम्रो चुनावी प्रतिबद्धतामा स्मार्ट सिटीको अवधारणा थियो। यसको सुरुवात भएको छ,’ उनले भने, ‘कार्यान्वयनका लागि सबै तहतप्काबाट लाग्न आवश्यक छ।’

प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सुशासन कायम राख्न यस प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ‘अनलाइन पेमेन्टले भ्रष्टाचार घटाउँछ। सेवाग्राहीले लाइन बस्नु परेन। कर्मचारीलाई पनि आधा लोड घट्छ,’ उनले भने, ‘आधुनिक युगमा प्रविधिको प्रयोग गर्दै कर्मचारीको संख्या घटाउँदै लैजानुपर्छ।’ यो प्रविधि सुरक्षित रहेको समेत सुवेदीले बताए। कर तिरेको रसिद आफ्नो इमेलमा नै आउने व्यवस्था गरिएको छ।

दुई वर्षभित्र डिजिटल सेवा सम्पूर्ण वडामा पुर्‍याउने गरी काम भइरहेको उनले बताए। यसका लागि कर्मचारी तथा सेवाग्राहीलाई तालिम दिने योजना रहेको उनले सुनाए। अनलाइन पेमेन्टका लागि सम्पत्ति, मालपोत तथा भूमिकर लगायतका करहरू तिरेको रसिद हेरी करदाता संकेत नम्बरका आधारमा काम हुन्छ। 

भरतपुर महानगरले सम्पत्ति, मालपोत(भूमि), व्यवसाय, घरजग्गा बहाल, सवारी साधान, मनोरञ्जन र विज्ञापनमा कर लगाउँदै आएको छ। अब यी सेवाको कर घरबाट नै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्।

भरतपुर महानगरपालिकाको अनलाइन पेजमा र्ग मोबाइलमार्फत कर तिर्न सकिने सुवेदीले बताए। सेवाग्राही अन्योलनमा देखिएका छन्। भरतपुर १३ का रामराज महतो यस प्रविधि राम्रो भए पनि प्रयोग गर्न नसक्ने बताए। सेवा त राम्रो हो। तर, सेवाग्राहीले चलाउन जान्नुपर्‍यो।

चलाउनै नजाने त के अर्थ भयो र? भरतपुर महानगरमा साना सिँचाइको माग गर्न आएका ६३ वर्षीय महतोले भने, सबैलाई चलाउन सिकाउन आवश्यक छ।’ मंगलबार दिउँसोसम्म ६ जनाले अनलाइनमार्फत् राजस्व तिरेका छन्। भरतपुर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र, नागरिक सेवा कक्षसमेत बनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App