५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

‘डुलुवा’ टोलीको भारत प्रवर्द्धन अभियान

भारतका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनार्थ निस्किन थालेको डुलुवा टोलीलाई पोखराबाट बिदाई गर्दै। तस्बिरः उमेश पुन/नागरिक

पोखराको पर्यटन प्रवद्र्धन गर्न युवा पर्यटन व्यवसायीको टोली एक महिने भारत भ्रमणमा निस्केको छ। टोलीले प्रवर्द्धनको यो समुहलाई ‘डुलुवा’ नाम दिएको छ। टोलीले यसअघि स्वदेशकै विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका गतिविधि गर्दै आएको थियो।  

नेपालका विभिन्न ठाउँमा यसअघि नै पर्यटन प्रवर्द्धनात्मक गतिविधि गर्दै आएकोमा यो पटक भने भारतीय सहरमा प्रवर्द्धन गर्ने समूहले बताएको छ। पोखरा पर्यटन व्यवसायमा संलग्न रहेका १९ जना युवाहरु प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुंदै लदाखसम्मको यात्रामा निस्केको उनीहरुले बताएका छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा प्रवर्द्धनात्मक अभियानले थप भारतीय पर्यटक भित्र्याउन सघाउने व्यवसायीको अपेक्षा छ।

पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रप्रवर्द्धनात्मक गतिविधि चलाएको यो टोलीले यो पटक भारतको भारतको अमृतसर, कश्मिर, कार्गिल, लदाख, मोनाली, सिमला, देहरादुन, नैनीताल लगायतका सहरमा कार्यक्रम गर्ने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए।

उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने, एकअर्को ठाउँका बारेमा जानकारी आदानप्रदान गर्ने पनि बताए। ‘घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेका हौं। यसले भारतीय पर्यटकलाई पनि नेपाल बोलाउन सहयोग गर्नेछ। भारतीय पाहुना नेपाल आउँदा त्यसको लाभ पर्यटनमा पर्नेछ,’ उनले भने। यो टोलीले नेपालका ७० जिल्लाको यात्रा यसअघि नै सकिसकेको छ।  

डुलुवा टोलीलाई बिदाइ गर्दे पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा भारतीय पर्यटकको चाँप बढिरहेको बेला यो प्रवर्द्धनात्मक अभियानले थप भारतीय पाहुना भित्रिने अपेक्षा रहेको बताए। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो टोलीको अभियानले थोरै भएपनि राहत दिलाउने गरि भारतीय पर्यटक भित्रयाउन सघाउने उनले बताए।  

उनले भारतका लामो यात्रा गर्दा पोखरा र नेपालको ठूलो प्रचार हुने बताए। उनले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा साहसिक गतिविधिको प्रबद्र्धन गर्ने बताए। ‘पोखरा आंफैमा साहसिक पर्यटकीय गन्तव्य हो। थप साहसिक पर्यटक भित्र्याउन यस्ता अभियान जरुरी छ,’ उनले भने।  

बिदाइ कार्यक्रममा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने बताए। उनले भारतका प्रसिद्ध, परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरेको र त्यसले नेपालको पर्यटनमा पनि सकारात्मक सन्देश दिलाउने बताए।  

पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। भट्टराईले झन्डै डेढ दशकअघि नै उक्त क्षेत्रको भ्रमण गरेको पनि बताए। ‘यो यात्रा निकै नै साहसिक छ। यसले नेपालको पहिचान ती क्षेत्रमा पनि फराकिलो बनाउनेछ,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा पनि यसले सहयोग गर्नेछ। आगामि दिनमा पोखरामा ती क्षेत्रबाट पनि पर्यटक भित्रिन सक्छन्।’

समुहका अर्का सुनील भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको बताए। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धनात्मक सहयोग छ। डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको टोलीमा नौजना प्याराग्लाइडिङ पाइलट समेत रहेको समूहका सदस्य भट्टराइले जानकारी दिए। यो टोलीले सन् २००८ देखी ‘डुलुवा’ नाम जुराएर घुमघाम गर्दै आएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७९ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App