२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डेढ महिनामा १७ लाख सवारीसाधनमा कसरी जडान होला इम्बोस्ड नम्बर प्लेट?

यातायात व्यवस्था विभागले आगामी डेढ महिनाभित्र बाग्मती प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। बाग्मती प्रदेशमा गत कात्तिक मसान्तभित्र दर्ता भएका सवारीसाधनको संख्या मात्रै १७ लाख बढी छ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जिम्मेवारी दुई वटा कार्यालयलाई मात्रै तोकेको छ। यातायात कार्यालयले सवारीचालक अनुमतिपत्र र नवीकरणको काम पनि तोकिएको समयमै गर्न गर्न सकेको छैन। त्यस्तै इम्बोस्ड नम्बर प्लेट पनि तोकिएको समयभित्रै गर्न सक्ने सम्भावना देखिँदैन।

त्यति मात्रै होइन्, इम्बोस्ड नम्बर प्लेटको नम्बर सिफारिस गर्ने कार्यालय पनि दुई वटा मात्रै तोकिएको हुँदा समस्या आउने निश्चित छ। विभागले यसका लागि विभागले यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारालाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न परिपत्र गरेको छ।

यी दुवै यातायात कार्यालयको संरचना हेर्दा डेढ महिनामा १७ लाखभन्दा धेरै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य संभव देखिँदैन। यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुनाका प्रमुख मदन पोखरेलले आफ्नो कार्यालयले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने नभएर नम्बर मात्रै सिफारिस गर्ने बताए। ‘हाम्रो कार्यालयले इम्बोस्ड नम्बर मात्रै सिफारिस गर्ने हो। इम्बोस्ड नम्बर प्लेट निर्माण र जडानको कार्य भने ठेकेदार कम्पनी मार्फत हुने गर्छ।’

प्रमुख पोखरेलले कार्यालयमा नम्बर सिफारिस गर्नका लागि मात्रै एक जना कर्मचारी खटाइएको बताए। ‘विभागले कुनै काम गर भनेर भन्यो भने हामीलाई त्यो काम गर्न प्रदेश सरकारले जनशक्तिदेखि अन्य पूर्वाधार व्यवस्था गरिदिए मात्र हामी काम गर्न सक्छौं’, उनले भने–‘त्यस्तो प्रबन्ध गरेन भने हामीले जति भ्याउँछौं सो क्रमशः गर्दै जानेछौं।’ कार्यालयका अनुसार अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्न आउनेको खासै भीड छैन। सम्भवतः अब विभागको सूचनासँगै सेवाग्राहीको संख्या वृद्धि हुन सक्नेछ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले इम्बोस्ड नम्बर प्लेट अत्यधिक उत्पादन भएर राख्ने ठाउँ समेत नभएकाले जडानमा कुनै समस्या नहुने दाबी गरे। ‘सवारीधनीले जडान नगरिदिने हो भने नेपाल सरकारले ल्याएको पोलिसी नै फेल होला भन्ने डर भइसक्यो’, उनले भने–‘अहिले सबै पूर्वाधार तयार भइसकेको र प्राविधिक पनि तयारी अवस्थामा रहेकाले जडानमा समस्या नहोला भन्ने नै छ।’

विभागका महानिर्देशक नमराज घिमिरेले यातायात व्यवस्था कार्यालयहरूसँग छलफल गरेर सवारीसाधनको लट अनुसारको समय निर्धारणका लागि अनुरोध गर्ने बताए। ‘हामी यातायात कार्यालयहरूसँग एक पटक छलफल गरेर लटअनुसार काम सुरु गर्न अनुरोध गर्ने तयारीमा छौं’, उनले भने–‘लट निर्धारण गरेपछि पनि इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कानुनअनुसार कारबाही गरिनेछ।’

विभागले कार्यालयसँग समन्वय गरेर कार्यतालिका समेत प्रकाशन गर्ने तयारी गरिरहेको बताए। विभागले इम्बोस्ड नम्बर प्लेट तोकिएको समयमै जडान नगरेको खण्डमा अनुगमन कसरी हुने र कारबाही कस्तो गर्ने भन्ने प्रावधान ऐनमा स्पष्ट छैन।

प्रकाशित: २३ जेष्ठ २०७९ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App