२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भैंसेपाटीमा मन्त्रीनिवास निर्माण कछुवा गतिमा

ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई गएको वैशाखसम्म भैंसेपाटीमा सार्ने सरकारको योजना थियो। त्यसका लागि सरकारले पहिलो र दोस्रो चरणमा २७ वटा भवन निर्माण पनि गर्‍याे। तर त्यसपछिको काम अघि बढ्न नसक्दा सरकारी योजना अनुसार वैशाखसम्म मन्त्री निवास त्यहाँ सार्न सकिएन।

विशेष भवन निर्माण आयोजनाले मन्त्री निवासका लागि रङरोगन तथा आन्तरिक सजावटका लागि २७ करोड रूपैयाँ छुट्याएको छ। तर यसका लागि आयोजनाले टेन्डर लगाएको छैन। कहिले टेन्डर लाग्ने हो अझै टुंगो छैन। आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार काम अघि बढ्यो भने अबको ८ महिनापछि मन्त्री निवास निर्माणको सबै काम पुरा हुने अवस्था छ।

‘एक दुई महिनामै तेस्रो चरणको कामको ठेक्का लाग्यो भने ८ महिनामा काम सकिन्छ, नभए अझै कति महिना लम्बिने हो टुंगो छैन,’ आयोजनाका एक कर्मचारी भन्छन्। मन्त्री निवासका लागि अहिले दोस्रो चरणको काम भइरहेको छ। दोस्रो चरणअन्तर्गत पौडी पोखरी, स्वास्थ्य क्लब, खानेपानी पाइप, सुरक्षाकर्मी बस्ने कोठा, भित्री सडक निर्माणलगायतका काम भइरहेको छ।

दोस्रो चरणको कामका लागि ४४ करोड रूपैयाँमा ठेक्का लगाइएको हो। मन्त्री निवासका लागि भित्री सडक निर्माणक्रममा स्थानीयवासीले अवरोध सिर्जना गरेका थिए। यसकारण पनि काममा ढिलासुस्ती भएको आयोजनाले जनाएको छ। ठेक्का सम्झौताअनुसार दोस्रो चरणको काम ८ महिनाअघि नै पूरा हुनुपथ्र्यो। तर अहिले पनि दोस्रो चरणकै काम भइरहेको छ।

आयोजना प्रमुख श्रेष्ठले कोरोना महामारी र भित्री सडक निर्माणमा स्थानीयवासीको अवरोधको कारण काममा ढिलासुस्ती भएको बताए। मन्त्री निवास निर्माण गर्न २०७६ कात्तिकमा केसी–समानान्तार जेभी व्यावासायिक कम्पनीसँग सम्झौता गरिएको थियो। २ वर्षभित्र काम सक्नेगरी सम्झौता भएको थियो। पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ छुट्याएको थियो।

पहिलो चरणमा भवन निर्माण, दोस्रो र तेस्रो चरणमा साजसजावट र रङरोगनको काम पूरा गर्ने सरकारको योजना थियो। सम्झौताअनुसार पहिलो चरणको काम त पुरा भयो तर दोस्रो चरणको काम कछुवा गतिमा छ। तेस्रो चरणको कामका लगि ठेक्का नै लागेको छैन। तेस्रो चरणका काम पुरा भएपछि मात्र भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुख बस्नेछन्।

मन्त्री निवासको जग्गा ९६ रोपनी १० आना छ। प्रत्येक भवनले करिब ७ आना जग्गा ओगटेका छन। आयोजनाका अनुसार मन्त्री आवासमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ। त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा (सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने), निजी कोठा र स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ।

दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको छ। मन्त्री निवासका भवनमा नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको छ। भैसेंपाटीमै मुख्यमन्त्री तथा प्रदेश प्रमुखका लागि सम्पर्क कार्यालय तथा आवासीय प्रयोजनका लागि सातवटा सुविधा सम्पन्न भवन बनाउने सरकारी योजनाको काम पनि कछुवा गतिमा छ। भवनमा रङरोगन तथा आन्तरिक सजावटको काम भएको छैन।

यसका लागि सरकारले २० करोड रूपैयाँ छुट्याएको छ। यो काम पूरा हुन झन्डै एक वर्ष लाग्ने भएको छ। बेला २०७८ असोजसम्म सबै काम पूरा हुनेगरी सम्झौता भएको थियो। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणका लागि संघीय सरकारले ७२ करोड रूपैयाँ छुट्याएको छ। पहिलो चरणमा ७ वटा सुविधासम्पन्न भवन बनेका छन्। तर त्यसपछिको काम अघि बढेको छैन।

सरकारको योजना अनुसार सातवटा सुविधासम्पन्न भवन निर्माण भएपछि प्रदेश प्रमुख तथा मुख्यमन्त्री काठमाडाैँ आएको बेला आवासका लागि होटलमा बस्नुपर्ने छैन। मन्त्री निवासलाई पुल्चोकबाट भैंसेपाटीमा सारेर त्यहाँ विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाडौं आएका बेला बस्ने राजकीय अतिथि गृह बनाउने सरकारको योजना छ। त्यसका लागि डिजाइनसमेत तयार भएको सहरी विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App