१५ चैत्र २०८० बिहीबार
अर्थ

भारतीय पाहुनाको आगमनले पोखरामा चमक

व्यवसायी भन्छन्ः कोरोना अघिकै आकारमा भारतीय भित्रिन थाले

पोखरा फेवातालमा सोमबार दिउँसो डुंगा सवारमा रहेका भारतीय पर्यटक। तस्बिरः उमेश पुन/नागरिक

स्थानीय तहको चुनावले गर्दा पछिल्लो केही दिन आन्तरिक पाहुना उत्तिसारो घुमफिरमा निस्केनन्। तर, भारतीय पाहुनाको आगमन पनि निरन्तर रहिरह्यो। पछिल्लो समय भारतीय पाहुनाको उत्साहजनक आगमन बढेको भन्दै यहाँका व्यवसायी खुसी छन्। यो बेला कोरोना भाइरस संक्रमण पनि कमजोर भएको र भारतीय पाहुनाको आगमन बढ्दा व्यवसायीले राहत महसुस गर्न पाएका छन्।

पोखरामा पछिल्लो समय भारतीय सवारीमा आउने पर्यटकको भीडभाड छ। लेकसाइडको सडकमा सर्वत्र भारतीय पर्यटक देख्न सकिन्छ। कतिपय भारतीय मुक्तिनाथ दर्शन गर्ने निहुँमा आएका छन् भने नेपालसँग सीमा जोडिएका भारतीय सहरका पाहुना भने त्यहाँको गर्मी छल्न अहिले पोखरा आएका छन्। कोरोना संक्रमणले पछिल्लो दुई वर्ष कमजोर भएको भारतीय पाहुनाको आगमनमा अहिले उत्साहजनक वृद्धिले व्यवसायीले केही राहत महसुस गर्न पाएका छन्।  

व्यवसायी भन्छन्, ‘भारतीय पाहुनाकै कारण अहिले पर्यटन क्षेत्रले सुखको सास फेर्न पाएको छ।' पोखराको लेकसाइडमा संचालनमा रहेको ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डेले ल्याण्डमार्कको अकुपेन्सी करिब ४० प्रतिशत रहेकोमा २० प्रतिशत भारतीय पाहुनाले हिस्सा लिएको बताए। ‘हामी पछिल्लो तीन महिनादेखि करिब ४० प्रतिशत अकुपेन्सीमा छौ। ती मध्ये आधा पाहुना भारतीय छन्। १५ प्रतिशत नेपाली र बाँकी पाँच प्रतिशत तेश्रो मुलुकका विदेशी छन्,’ उनले भने, ‘यो बेला भारतीय पाहुना आएकैले गर्दा पोखराको लेकसाइडमा चमक छाएको छ। लेकसाइड पाहुनामय देखिएको छ।’

भारतको नोएडामा हालै भएको एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे) मा समेत सहभागी भएर फर्केका पाण्डेले भारतीय पाहुना नेपाल आउन इच्छुक रहेको बताए। उनका अनुसार यतिबेला पारिवारिक र सामूहिक रुपमा पोखरामा भारतीय पाहुना भित्रिएका छन्। सामूहिक रुपमा भित्रिएका कतिपय भारतीय तीर्थयात्रीको रुपमा रहेका छन् भने पारिवारिक रुपमा आएका पाहुना भने नितान्त घुमफिरका लागि छन्। ‘सस्तादेखि महंगा सबैखाले भारतीय पाहुना यतिबेला पोखरा आएका छन्, कोरोनाको कहरबाट माथि उकास्न यो आगमनले व्यवसायीलाई उक्साएको छ,’ उनले भने, ‘अब कुन अवरोध नहुने हो भने पोखरामा पर्याप्त भारतीय पाहुना आउनेछन्।’

अहिले भारतीयहरु निजी र ठूला सवारी लिएर पोखरा भित्रिएका छन्। भारतीय पर्यटक सवार ठूला आकारका बस अहिले लेकसाइडका गल्लिगल्लिमा ठड्याइएको देखिन्छ। पर्यटकहरु हिँड्डुल र फेवातालमा डुंगा सयरमा व्यस्त देखिन्छन्। बेलुकी पख फेवाताल किनारको फुटट्रयाकमा भारतीय पाहुना खचाखच भेटिन्छन्। चुनावका कारण पछिल्ला केही दिन आन्तरिकको आगमनका केही असर गरेपनि भारतीय पाहुनाको आगमन भने सोचेभन्दा बढी राम्रो भएको व्यवसायीले बताएका छन्।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) मा आवद्ध व्यवसायी राजेश पहारीका अनुसार भारतीय पाहुनाको यतिबेलाको पोखराको आगमन उत्साहजनक रुपमा रहेको छ। भारतका सबैजसो सहरका पाहुना पोखरा आएका छन्। तीमध्ये पनि गुजराजतका अझै बढी छन्। तीर्थयात्री बाहेक पारिवारिक, सामूहिक घुमघामका पाहुना पनि रहेको उनले बताए। भारतमा यो बेला अधिक गर्मी भएकोले पनि सीमा क्षेत्रका भारतीय सितल महसुस गर्न पनि यो बेला पोखरा आएको उनले बताए।

‘भारतीय पाहुनाको यो बेलाको आगमन देख्न कोरोना संक्रमणको कुनै असर देखिन्न। कोरोना अघिकै जस्तै आकारमा भारतीय पाहुना देखिन्छन्, यसले व्यवसायीलाई राहत दिलाएको छ,’ पहारीले भने, ‘पाहुना र हामी व्यवसायी सबैले कोरोनाको अप्ठेरो बिर्से जस्तो अनुभव भएको छ।’ उनका अनुसार यतिबेला भारतीय पाहुनाको आगमनको हिसाबले कोरोनाको कुनै प्रभाव नदेखिएपनि तेश्रो मुलुकका विदेशी भने अझै उत्तिसारो भित्रिन सकेका छैनन्। ‘भारतीयको आगमनले त कोरोनाको अप्ठेरो बिर्साउँछ, तर, अरु मुलुकका विदेशी भने अझै आउन सकेका छैनन्,’ उनले भने,‘आन्तरिक र भारतीय पाहुनाको यही आगमनले गर्दा अहिले व्यवसायी थामिएको छ। चुनावका बेला केहीदिन आन्तरिक पाहुना उत्तिसारो नबढेपनि त्यसपछिका दिनको भीड भने बढिसकेको उनले बताए।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी पनि यतिबेला पोखराका सानातिना सबैजसो होटलमा भारतीय पाहुना रहेको बताउँछन्। ठूला र महंगा होटलमा खर्चिला र मध्यमस्तरका होटलमा केही सस्ता भारतीय पाहुना रहेको उनी बताउँछन्। पर्यटन क्षेत्रमा मार्चदेखि मे सम्मको समयलाई पर्यटकीय सिजन मानिन्छ। कोरोना लगायतका केही समस्याले अझै तेश्रो मुलुकका विदेशीको आगमन उत्ति सहज नभईसकेपनि भारतीयको आगमनले कोरोना कहर बिर्साएको उनी बताउँछन्।  

‘यो पटक भारतीयको आगमनमा निकै नै सुधार भएको छ। तेश्रो मुलुकका पाहुनाको भने अझै उत्तिसारो आगमन भईसकेको छैन। तर पनि गति भने लिँदैछ,’ सुवेदीले भने। उनका अनुसार भारतीयको आगमन कोरोना अघिको अवस्थाको जस्तो देखिएको छ। त्यसले गर्दा होटलको अकुपेन्सी अनुपात पनि निकै नै बढेको उनले छ। अहिले शनिबार र आइतबारको बिदाले गर्दा आन्तरिक पाहुना थपिएपनि अरु दिनको आगमन पनि उत्तिकै राम्रो रहेको उनले बताए।

‘अहिले बिदाका दिन बाहेक अरु दिनको यहाँका होटलको अकुपेन्सि कम्तीमा ४० प्रतिशत छ। बिदा हुँदा आन्तरिक पाहुना थपिँदा त्यो आकार ६० प्रतिशतसम्म उक्लिन्छ,’ अध्यक्ष सुवेदीले भने, ‘कोरोनाले थलिएको अवस्थामा यो आकारमा आगमन होला भन्ने हामीले सोचेका पनि थिएनौ, तर, भारतीय पाहुनाको आगमन सोचेभन्दा बढी छ।’  

लेकसाइडका होटलमा मात्र नभई पदयात्रामा पनि अहिले चहलपहल बढेको उनले बताए। पदयात्रामा पाहुना जाँदा ती क्षेत्रका व्यवसायीलाई पनि सहज भएको उनले बताए। ‘पोखरा क्षेत्रभित्र मात्र नभई पदयात्रा क्षेत्रमा पनि पाहुना पुगेका छन,’ उनले भने, ‘भारतीय पाहुनाको आगमनले निकै नै छोटो समयमा गति लिएको छ। तर तेश्रो मुलुकका पाहुना अझै सोचेजति आउन सकेका छैनन्।’  

प्रकाशित: ९ जेष्ठ २०७९ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App