२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

तारा एयरलाई कारबाहीको आदेश

जिल्ला प्रशासन कार्यालयले तारा एयरलाई कारबाही गर्न नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ। नियमित उडान समयभन्दा अगावै यात्रुलाई छाडेर उक्त एयरको जहाजले उडान भरेपछि स्थानीय प्रशासनले उक्त एयरलाई कारबाही गर्न आदेश दिएको हो।

जुम्लास्थित चन्दननाथ नगरपालिका ७ का गोविन्द महतले जिल्ला प्रशासन कार्यालयमा जानकारी बेगर उडान समयभन्दा अगाडि नै यात्रु छाडेर गएको भन्दै उजुरी दिएपछि अनुसन्धान गरी कारबाही गर्न आदेश दिइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। मंगलबार दिउँसो १ बजे नेपालगन्जबाट जुम्लाका लागि उक्त जहाजको समय तालिका थियो। तर उक्त जहाज ११ः५५ मा उडेको महतले जनाए। उनी जुम्लामा पर्यवेक्षकका लागि जाँदै थिए। ‘मलाई खबरै नगरेर उडान समयभन्दा पहिला नै उडान भयो,’ महतले भने, ‘यात्रुलाई अलपत्र पारियो।’ उक्त एयरसँग अन्तिममा सहमती भएको उनी बताउँछन्। ताराले बुधबारका लागि टिकट उपलब्ध गराएको उनको भनाइ छ।

मौसम खराबीका कारण निर्धारित समय तालिकाभन्दा अगाडिनै उडान गरिएको तारा एयर नेपालगन्जका स्टेशन म्यानेजर दिलिप कार्कीले जनाए। ‘हामीले मान्छेभन्दा मौसमलाई हेरेर उडान भर्छाैं,’ उनले भने, ‘उहाँलाई सबैभन्दा पहिला बोरिङ पास दिएका थियौं। उहाँ बाहिर निस्किनु भएछ। हामीले खोज्यौं। भेटाएनौं। उहाँकै कारणले उडान रोक्न सकिएन। अनि उडान भर्‍यौं।’ तोकिएको समयभन्दा अगाडि उडान भर्नु एयरको नियत नभइ बाध्यता भएको उनी बताउँछन्। यस विषयमा नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणले सोधपुछ गरेको उनी बताउँछन्।

प्रकाशित: २८ वैशाख २०७९ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App