coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालगञ्ज विमानस्थल उडान समय थप

नेपालगञ्ज विमानस्थलमा अब राति पनि उडान गर्न पाइने भएको छ। यसअघि साँझ ६ बजेपछि उडान गर्दा विमान कम्पनीले अतिरिक्त उडान शुल्क तिर्नुपर्ने गरेकोमा अब उक्त शुल्क हटाइएको विमानस्थल प्रमुख सुभाष झाले जानकारी दिए।

अब राति १२ बजेसम्म पनि विमान कम्पनीहरूले नियमित शुल्कमै उडान गर्न पाउने जानकारी उनले दिए। विमान कम्पनीहरूले यसअघि पनि साँझ ६ बजेपछि उडान गर्ने गरेका थिए तर नियमित उडानको समय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै तोकिएको थियो। वैशाख १५ गतेदेखि भने नयाँ नियम लागू भई अब राति १२ बजेसम्म विमानस्थल नियमितरूपमा खुला रहने भएको जानकारी झाले दिए।

निजी कम्पनीका जहाज फर्किए नेपालगञ्ज

कर्णालीमा नियमित उडान रोकेर काठमाडौं गएका निजी कम्पनीका विमानहरू नेपालगञ्ज फर्किएका छन्। नेपालगञ्जबाट सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्स, तारा एयर र समिट एयरका जहाज नेपालगञ्ज बेस बनाएर कर्णालीका विमानस्थलहरूमा नियमित उडान गर्न थालेका छन्। सीताको जहाज भने अझै नेपालगञ्ज फर्किएको छैन।

लुक्ला जाने पर्यटकहरूको संख्या घटेपछि विमानहरू पुनः नेपालगञ्ज फर्किएका हुन्। पैसा कमाउने लोभमा कर्णालीका नागरिकहरूको सेवा पाउने अधिकारलाई बेवास्ता गर्दै कम्पनीहरू काठामाडौं गएका थिए। यसबाट नागरिकहरूले सास्ती खेप्नुपरेको थियो।

विमानस्थलमा नेपाली सेना

नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटिएपछि नेपालगञ्ज विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिएको छ। सरकारले विमानस्थल सुरक्षामा खटिएका प्रहरीलाई निर्वाचन सुरक्षामा खटाएर विमानस्थल सुरक्षामा सेना खटाउने निर्णय गरेको थियो।

सोहीअनुसार शुक्रबारबाट नेपालगञ्ज विमानस्थल सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले नेपालगञ्ज विमानस्थलमा सेना पुगेको जानकारी दिए। ‘सरकारको निर्णयअनुसार नै नेपालगञ्ज विमानस्थलमा नेपाली सेना पुगेको छ,’ उनले भने, ‘त्यहाँ कार्यरत जनशक्ति अब निर्वाचन सुरक्षामा परिचालन हुन्छन्।’

नेपालगञ्ज विमानस्थलमा खटिएका प्रहरीका प्राविधिक जनशक्ति बाहेक अन्य सबै निर्वाचन सुरक्षामा खटिने डिएसपी न्यौपानेले बताए। ‘नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिए पनि प्राविधिक जनशक्ति हाम्रो नै परिचालन हुन्छ’, उनले भने–‘त्योबाहेक अन्य प्रहरी जनशक्तिलाई निर्वाचन सुरक्षामा परिचालन हुन्छन्।’

नेपाली सेनाले विमानस्थलसहित नेपालगञ्ज कारागार, नेपाल आयल निगमको राँझास्थित डिपो र बाल सुधार गृहको सुरक्षा जिम्मेवारी लिनेछ। निर्वाचन सकिएपछि पुनः विमानस्थल लगायतको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले लिने छ।

प्रकाशित: २५ वैशाख २०७९ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App