६ वैशाख २०८१ बिहीबार
अर्थ

औद्योगिक लोडसेडिङले उद्योगी व्यवसायी थला पर्ने अवस्थामा: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १६ घण्टाको लोडसेडिङ हुँदा उद्योगी व्यवसायी थला पर्ने अवस्थामा पुगेको जनाएको छ। महासंघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न विद्युत् प्राधिकरणसँग अनुरोध गरेको छ।

‘औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन्’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योग विना कुनै पूर्व सूचना दैनिक १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुगेका छन्। यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ।’

महासंघले चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौं उद्योगबाट महासंघमा अनुरोध पत्र आएको पनि जानकारी गराएको छ।

महासंघले लामो समय विद्युत् कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सावाँ भुक्तानी लगायतमा गम्भीर समस्या पर्ने भएकाले महासंघ सरकार र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ।

‘प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता विगतमा पटकपटक गरेको महासंघ स्मरण गराउन चाहन्छ’, महासंघको विज्ञप्तिमा भनिएको छ–‘यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिनेमा हाम्रो चिन्ता छ। एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिना सूचना घण्टौं विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता बढाएको छ।’

उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघको भनाइ रहेको छ।

महासंघले विद्यमान समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिंदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न सरकारसँग अनुरोध गरेको छ। महासंघले उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्बाध विद्युत् आपूर्तिको सुनिश्चितता दिलाउन प्राधिकरणसँग अनुरोध गरेको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App