८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनसरीमा अन्न भण्डारण गृह सञ्चालन

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ। नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह संचालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ।

यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ। मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ। भण्डारण गृहको संचालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ।

अन्न भण्डारणको आधारमा किसानका लागि बैंक मार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवण कुमार यादवले बताए। कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ। कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको सो कम्पनीले जनाएको छ।

तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्व ४९ करोड रुपैँया रहेको कम्पनीले बताएको छ। वेयर हाउसमा तीनवटा अन्न भण्डारण प्लान्ट स्वचालित, साइलो प्रविधिमा आधारित रहेका छन्। प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेका ती प्लान्टमध्ये एउटामा मकै, एउटामा गहुँ र एउटामा भटमास भण्डारण गरिने कम्पनीले जनाएको छ।

भण्डारणस्थलको अभावमा उत्पादनको समयमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य हुने कम्पनीले विश्वास लिएको छ। खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषिवस्तु सङ्कलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपियो समेत जारी गर्ने गरी तयारी अघि बढाइएको जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App