६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शतप्रतिशत बढ्यो महँगी

सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाको लक्ष्य राखेको भए पनि बोर्डर लाइन क्रस गरेर मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको छ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार पत्रकार भेटघाटमा अर्थतन्त्रका सूचक सकारात्मक भएको दाबी गरिरहँदा नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मूल्यवृद्धि भने अचाक्ली बढेको देखिएको छ।

गत वर्षको तुलनामा मूल्यवृद्धि शतप्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.०३ प्रतिशत रहेकामा यो वर्ष सोही अवधिमा बढेर ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष कोभिडका कारण वस्तुको खपत कम थियो। मूल्यवृद्धि नियन्त्रणमा थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर परेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायातको भाडा बढ्यो,’ भट्टले भने, ‘ढुवानी भाडा बढ्दा लागत बढेर मूल्य बढ्यो।’

अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ।

गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा घिउ तथा तेलको मूल्य २६.३४ प्रतिशत, तरकारीको मूल्य १३.९६ प्रतिशत, दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्य ११.१० प्रतिशत, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १०.३० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। मूल्यवृद्धि भएपछि राष्ट्र बैंकले कर्जा विस्तार रोक्ने काम गरेको प्रवक्ता भट्टले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यवृद्धि भएको छ,’ उनले भने। गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा १६.२७, विविध वस्तु तथा सेवामा १६.२७ प्रतिशत र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ।

रेमिट्यान्स आप्रवाहमा सुधार

आयात बढेर विदेशी मुद्रा सञ्चिति गिरावट भइरहेको अवस्थामा फागुनमा रेमिट्यान्स आगमन वृद्धि भएको छ। यसले सरकारलाई केही राहत भएको छ। विदेशी मुद्रा सञ्चिति घटेपछि मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेको अवस्थामा रेमिट्यान्स आगमनमा वृद्धि भएको छ। विगतका वर्षको जस्तो वृद्धिदर नभएपछि अघिल्लो महिनाको तुलनामा घट्दो क्रम रोकिएर सुधार भएको छ। यसले विदेशी मुद्रा सञ्चितिको चापमा केही राहत पुगेको छ।

माघमा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले गिरावट आएको थियो। फागुनमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले मात्र कमी आएको छ। रेमिट्यान्स घट्ने क्रम रोकिएर अघिल्लो महिनाभन्दा बढेको छ। फागुनसम्म विप्रेषण ६ सय ३१ अर्ब १९ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ।

असारदेखि डलर सञ्चिति घट्दै आएको थियो। माघमा विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सकेकोमा फागुनमा पनि सोही अवस्था रहेको छ।

फागुन मसान्तसम्ममा ११ खर्ब ७१ अर्ब रूपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति छ। यो सञ्चितिले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ। गत असार मसान्तमा १३ सय ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई फागुन मसान्तमा ११ सय ७१ अर्ब रूपैयाँ कायम भएको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रूपैयाँ रहेकामा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ।

चालु खाता ४ सय ६२ अर्ब ९३ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ सय ५१ अर्ब ४२ करोड रूपैयाँले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटा छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब रूपैयाँ कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड थियो।

शोधनान्तर स्थिति २ सय ५८ अर्ब ६४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाख रूपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४ प्रतिशतले बढेको थियो।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२.४ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह २५.२ प्रतिशतले बढेको छ।  

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

आव २०७८÷७९ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले र औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले बढेको छ। त्यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ। प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.४ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.१ प्रतिशतले र हायर पर्चेज कर्जा ५ प्रतिशतले बढेको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App