२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमनले लय लिँदै

पोखरा फेवातालमा डुंगा सयरको तयारीमा रहेका विदेशी पाहुना। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले बल्ल तेश्रो मुलुकका पाहुना स्वागत गर्न थालेको छ। अहिले पर्यटकीय सहर पोखरामा तेश्रो मुलुकका विदेशी पर्यटक देखिन थालेका छन्। पोखरामा मात्र नभई आसपासका पदमार्गमा पनि तेश्रो मुलुकका विदेशी पुग्न थालेका छन्। यतिबेलाको पोखराका होटलको बुकिङ पनि सन्तोषजनक हुँदै गएको व्यवसायी बताउँछन्।  

कोरोनाले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले यो अवधिमा खासै विदेशी पाहुना देख्न सकेन। कतिपय महिना त विदेशीको आगमन करिब शुन्यमै रह्यो। तर, अहिले भने होटल, रेस्टुराँ सहित पदमार्ग क्षेत्रमा विदेशी पाहुना पुग्न थालेका छन्। लामो समयको अन्तरालपछि विदेशीको आगमन बढ्न थालेपछि यहाँका व्यवसायीले सुखद् अनुभूति गरेका छन्। उनीहरु भन्छन, ‘फेरि पनि कोरोना भाइरसको संक्रमण नबढ्ने हो भने पर्यटक आगमनमा पक्कै सुधार हुनेछ।’

सन् २०१९ को अन्तिममा चीनबाट कोरोना भाइरस संक्रमण सुरु भएपनि त्यसको मार नेपालको पर्यटन क्षेत्रमा करिब तीनमहिना पछि मात्र पर्न थालेको थियो। २०२० को मार्च मध्यपछि बल्ल नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असर बिस्तारै पर्न थाल्दा आगमन प्रभावित हुँदै गएको थियो। त्यसपछि लकडाउन हुँदा विदेशीको आगमन झन्डै शुन्यको आकारमा झरेको थियो। त्यसपछिको समय पर्यटनमा निकै नै उतारचढाव बनेपनि अहिले भने व्यवसायीलाई आशावादी बनाउने गरि आगमन बढ्न थालेको व्यवसायी बताउँछन्।  

फिस्टेल लजका महाप्रबन्धक रोशन खवास भन्छन, ‘भारतीयको आगमन यो बेला निकै नै राम्रो छ। अमेरिकन र यूरोपियन मुलका पर्यटक पनि आउन थालेका छन्।’ उनका अनुसार अझैपनि कोरियन, चिनियाँ र जापानी पाहुनाको आगमन सुरु भएको छैन। नेपालमा विदेशी पर्यटक भित्रिने मुख्य श्रोतका रुपमा रहेको चीन, कोरिया, जापान लगायतका मुलुकका पाहुना आउन नसकेकोले ती देशको विकल्पमा अन्यत्र बजारीकरण गरेर पाहुना भिœयाउन पहल गर्नुपर्ने उनले बताए।  

उनका अनुसार फिस्टेल लजको मार्च महिनाको अकुपेन्सी अनुपात ५५ प्रतिशत थियो। चालु महिनामा ६० प्रतिशत र अर्काे महिनामा पनि ६० प्रतिशत पुग्ने अपेक्षा रहेको उनले सुनाए। ‘पर्यटनमा कोरोनापछिको सबैभन्दा राम्रो माहोल अहिले सिर्जना भएको छ। अब कोरोना संक्रमण नबढ्ने हो भने समस्या नहोला,’ उनले भने, ‘विदेशी पाहुना आउन थालेका छन्। हामीले स्वदेशी र भारतीयको मात्र भर पर्नुपरेकोमा अब अन्य मुलुकबाट पनि आउँदा उत्साह थपेको छ।’  

कोरोनाले थलिएको पर्यटन क्षेत्रमा गत फेब्रुुअरीको मध्यदेखि बल्ल सुधारका संकेत देखिएका थिए। फेबु्रअरी मध्यदेखि बल्ल तेश्रो मुलुकका विदेशी भित्रिन थालेका थिए। त्यसपछि विदेशी आगमनमा ब्रेक नलाग्दा अकुपेन्सी पनि उकासिएको उनले बताए। ‘शुन्यमा झरेको पर्यटन क्षेत्रले छोटो समयमा धेरै पाहुना ल्याउन सकेको छ। विभिन्न देशमा अझै सिधा हवाई उडान थप्ने हो भने पाहुना आउनेछन,’ उनले भने। उनका अनुुसार सम्भावित पर्यटक आउने मुलुक बंगलादेश, बहराइन, कतार, साउदी लगायत मुलुकलाई अहिले प्राथमिकता दिएर पाहुना आकर्षण गर्न सक्नुपर्छ। त्यसो भएमा चिन, कोरिया, जापान लगायका मुलुकबाट आउन नपाएका पाहुनाको ठाउँ पनि अरु मुलुकका नागरिकबाट परिपूर्ति गर्न सकिने उनले बताए।  

कोरोना भाइरस संक्रमणले थलिएको अवस्थामा सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यसअघि सन् २०२० मा नेपालमा सबैगरि २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक भित्रिएका थिए।  नेपाल पर्यटन बोर्डका अनुसार गत मार्चमा नेपालमा ४२ हजार ६ जना विदेशी भित्रिएको तथ्यांक छ। यो संख्या २०२१ को मार्चमा १४ हजार ९ सय ७७ थियो। २०२० मार्चमा ४२ हजार ७ सय ७६ र २०१९ मा १ लाख २७ हजार ३ सय ५१ रहेको थियो। 

कोरोना महामारीपछि २०२२ को मार्चमा सबैभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डका निर्र्देशक तथा प्रवक्ता मणिराज लामिछानेले बताए। ‘पर्यटन क्षेत्रमा चलायमान देखिएको छ। अघिल्लो वर्षको मार्च भन्दा यो वर्ष मार्चमा पर्यटकको आगमन ३३ प्रतिशतले रिभाइभ भएको छ,’ उनले भने, ‘अब कुनै समस्या नहुने हो भने पर्यटन क्षेत्रले छिटै नै गति लिनेछ।’  

पर्यटन क्षेत्र रिभाइभलको दिशामा अघि बढेको संकेत पनि अहिलेको आगमनले देखाएको उनले बताए। ‘पर्यटन पूर्नउत्थान गर्ने बेलामा यसअघि यो विषयले खासै महत्व पाउने गरेको थिएन। तर, अहिले विदेशी मुद्राको अभाव भएको बेला विदेशी पाहुनाको महत्व झनै बढेको देखाउँछ,’ उनले भने, ‘विशेष रणनीति बनाएर पर्यटन क्षेत्र फोकस गर्ने हो भने यसले अर्थतन्त्र उकास्छ। कोरोनाका कारण विगत दुइवर्षदेखि विदेशी मुद्रा भित्रिनै पाएको थिएन। त्यसले राष्ट्रकै सञ्चिती घटाएको थियो। तर, अब विदेशी भित्रिँदा मुलुककै आर्थिक अवस्थामा सुधार आउनेछ।’  

व्यवसायीहरु विदेशी पाहुना भित्रिन थालेपछि उत्साही बनेका छन्। लामो समयको नोक्सान अब कम हुने उनीहरुको आँकलन छ। अहिलेसम्म जेनतेन व्यवसाय धानेको भएपनि अब भने केही आम्दानी हुन सक्ने उनीहरुको आँकलन छ। पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली भन्छन, ‘मार्च महिनामा आगमन बढेको छ। पर्यटनमा आशालाग्दो अवस्था देखिएको छ। आगामि सिजनका लागि राम्रो संकेत मान्न सकिन्छ।’ उनका अनुसार आगामि सिजन सेप्टेम्बरबाट सुरु हुन्छ। आगामि दिनमा कुनै समस्या नथपिएमा सिजनको आगमन झनै बढी प्रभावकारी हुनेमा आफुहरु आशावादी रहेको उनले बताए।  

‘आगामि सिजनमा तेश्रो मुलुकका विदेशीको आगमन कम्तिमा ५० प्रतिशत बढ्न सक्छ,’ होटल संघका केन्द्रीय सदस्य समेत रहेका पराजुली भन्छन, ‘कोरोना संक्रमण बढेपछि हामीले जेनतेन रुपमा मात्र पर्यटन धानेका थियौ। तर, अब व्यवसाय धान्न सकिन्छ। आगामि सिजनमा आम्दानी नै हुन सक्छ, तर अवस्था बिग्रनु हुँदैन।’  

प्रकाशित: २८ चैत्र २०७८ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App