६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न माग

विराटनगरमा आयोजित ट्रेड एक्स्पो समापन कार्यक्रममा सहभागीहरू। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक प्रदर्शनी स्थल बनाउन प्रदेश सरकारसँग माग गरेका छन्। औद्योगिक प्रदर्शनी स्थलको अभाबका कारण धेरै समस्या भइरहेको र प्रदेश १ का उत्पादनहरूको प्रवर्द्धनमा पनि समस्या भइरहेकाले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न प्रदेश सरकारसँग उद्योगी व्यवसायीले माग गरेका हुन्।  

विराटनगरमा आयोजित विराट एक्स्पोको समापन समारोहमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि वर्षौंदेखि माग गर्दै आए पनि सरकारले आश्वासन मात्रै दिएको गुनासो गरे। उनले भने,‘ओद्योगिक नगरी विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि तीनै तहका सरकारलाई पटक–पटक आग्रह गर्‍यौ तर, कुनै पनि सरकारले काम अघि बढाउन चासो देखाएनन्।’

रिजालले उद्योगी व्यवसायीले मन्दिरको जग्गा भाडामा लिएर प्रदर्शनी स्थल निर्माणको प्रस्ताव गर्दासमेत तीनै तहका सरकारले प्रदर्शनी स्थल निर्माणका लागि बजेटसमेत विनियोजन नगरेको बताए। उनले तत्कालै सार्वजनिक निजी लगानीमा औद्योगिक प्रदर्शनी स्थाल निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउन प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई आग्रह गरे।

विराटनगर ३ स्थित मन्दिरको गुठीको साढे ३ विघा  जग्गा भाडामा लिएर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न विराटनगरका उद्योगी व्यवसायीले माग गर्दै आएका छन्। उद्योगी व्यवसायीहरूले मन्दिरको गुठीको जग्गा भाडाका लागि सम्झौतासमेत गरिसकेका छन्। तर, निजी क्षेत्रले जग्गा उपलब्ध गराउँदा पनि सरकारले औद्योगिक प्रदर्शनीस्थल निर्माणमा चासो नदेखाएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए। उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मुख्यमन्त्री राजेन्द्र राईलाई आग्रह गरे।

विराटनगर महानगरपालिकाका मेयर भीम पारजुलीले औद्योगिक प्रदर्शनीस्थल समृद्धिको आधार भएकाले जसरी पनि निर्माण गर्नुपर्ने बताए। ‘औद्योगिक प्रदर्शनीस्थल आर्थिक समृद्धिको आधार भएकाले जसरी पनि निर्माण गर्नुपर्दछ,’ उनले भने,‘औद्योगिक प्रदर्शनीस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विराटनगर महानगरपालिका तत्पर छ।’

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले औद्यौगिक प्रदर्शनीस्थल निर्माणका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए। ‘औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि प्रदेश सरकार तयार छ,’ उनले भने,‘सरोकारवाला पक्षको बैठक बसेर बजेटलगायतका प्रकृया अघि बढाऔं।’

राईले प्रदेश सरकार प्रदेश मा उद्योग व्यवसाय फष्टाउने वातावरण तयार पार्न लागिपरेको दाबी पनि गरे। उनले उद्योग व्यवसाय फष्टाउनका लागि आवश्यक नीतिगत सुधार गर्न पनि प्रदेश सरकार तत्पर रहेको उनले बताए। उद्योगी व्यवसायीले औद्योगिक वातावरण बाउनका लागि नीति, नियम, ऐन, कानुन, के–के चाहिएको हो खाका लिएर आए प्रदेश सरकार सघाउन तत्पर रहेको स्पष्ट पारे।

प्रकाशित: २७ चैत्र २०७८ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App