१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चार्टर उडानका नाममा चर्काे शुल्क: हवाई उडानमा पनि बिचौलिया

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका जिल्लामा बुधबारसम्म आठवटा नियमित उडान हुनुपर्ने हो। तर यहाँ दुई वटा मात्र नियमित उडान भए।

नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठवटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।

नियमित उडान भरेको भए एकतर्फी शुल्क लाग्थ्यो। चार्टर गर्दा दोब्बर पैसा लाग्ने गर्छ। नियमित उडान स्थगित गरेर चार्टर उडान मात्र गराउँदा कर्णाली र सुदूरपश्चिमका नागरिक महँगो शुल्कमा सवाइ यात्रा गर्न बाध्य छन्।

नेपाल एयरलाइन्सले २० गते आइतबारबाट नियमित उडान गर्ने भन्दै समय तालिका तोकेको थियो। नेपालगन्जमा कर्णाली र सुदूरपश्चिमका पाँचवटा विमानस्थल जुम्ला, सिमिकोट, ताल्चा, बाजुरा, रुकुममा नियमित उडान गर्ने तालिका नेपाल एयरलाइन्सले बनाएको छ।

यी विमानस्थलमध्ये सिमीकोट र ताल्चामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी हप्तामा चारपटक, बाजुरामा सोमबार, मंगलबार र शुक्रबार गरी तीनपटक, जुम्लामा आइतबार र बिहीबार गरी हप्तामा दुईपटक, रुकुममा मंगलबार र शुक्रबार गरी हप्तामा दुईपटक उडान तालिका तोकिएको छ।

तालिकाअनुसार बुधबारसम्म आठवटा मियमित उडान हुनुपर्नेमा मात्र दुईवटा नियमति उडान गरियो। बरु आठवटा चार्टर उडान गरियो। आइतबार भने जुम्लामा नियमित उडान भयो। त्यसपछि सोमबार बाजुराको नियमित उडान भएन। बरु सिमीकोटमा नियमित उडान गरियो। सोमबार नै ताल्चा विमानस्थलमा दुईवटा चार्टर उडान गरियो।

मंगलबार तोकिएको बाजुरा, सिमीकोट, ताल्चा र रुकुमको नियमित उडान गरिएन। बरु मंगलबारका दिन सिमीकोटमा एउटा र ताल्चामा एउटा चार्टर उडान गरियो। बुधाबार कुनै पनि नियमित उडानको तालिका तोकिएको थिएन। यस दिन सिमीकोटमा दुईवटा, ताल्चामा एकवटा र रुकुममा एउटा चार्टर उडान गरियो। यसरी बल्लबल्ल भए पनि उडानका लागि टिकट पाएका र पालो कुरेर बसेका नागरिकलाई नेपाल एयरलाइन्सले ठगेको छ।

नेपाल एयरलाइन्स नेपालगन्जका लेखापाल पविन गुरुङ चार्टर उडानको निर्णय एयरलाइन्सको केन्द्रीय कार्यालयले गर्ने गरेको बताउँछन्। माथिबाट चार्टर उडानको तालिका ताकेर पठाइदिने गरेको र आफूहरूले बाध्य भएर नियमित उडान रोक्नु परेको उनले बताए। यसबाट सेवाग्राही मर्कामा परेको थाहा हुँदाहुँदै आफूहरू आदेश मान्न बाध्य भएको उनको भनाइ छ।

यता, यात्रुहरूले नियमित उडान रोकेर हतारमा चार्टर उडानबाट मान्छे पठाइरहेको नेपाल एयरलाइन्सको कामबारे अनुगमन गरिनुपर्ने र यात्रुहरूलाई सास्ती दिने कर्मचारीहरूलाई कारबाही गरिनुपर्ने बताए। ‘यसरी खुलेआम राज्यकै कम्पनीले नागरिकलाई ठगिरहेको छ। तर यहाँ हाम्रो पीडा सुनिदिने कुनै निकाय नै छैन,’ विमानस्थलमा भेटिएका एक व्यक्तिले भने।

विमानस्थल प्रमुख झा नियमित उडान रोकेर चार्टर उडान गरेको भए यात्रुहरूले लिखित उजुरी दिनसक्ने र त्यस्तो उजुरीमाथि कारबाही गरी नियमित उडान नभएसम्म चार्टर उडान गर्न नदिइने बताउँछन्। ‘म केही दिन बाहिर थिएँ। मलाई यसबारेमा कतैबाट पनि जानकारी आएको छैन। यदी कतैबाट बेनामे उजुरी आयो भने पनि मैले एयरलाइन्सलाई कानुनानुसार कारबाही गर्छु,’ उनले भने।

बाजुराकी कमला शाही दिदीका साथ काठमाडांैबाट उपचार गरेर फर्किइन्। चैत १९ गते उनीहरूले नेपालगन्जबाट बाजुरा जान नेपाल एयरलाइन्सको टिकट लिइसकेका छन्। उनीहरूको टिकटमा मंगलबार बिहान ११ः१५ बजेको उडान समय उल्लेख छ। तर मंगलबार बिनाकारण उडान रद्द गरिएको र अब शुक्रबार मात्रै उडान हुने भनेर खबर आयो।

उनीहरूले अब शुक्रबारसम्म उडानका लागि कुर्नुपरे कम्तिमा एक हप्ता नेपालगन्जको होटलको खर्च उठाउनुपर्नेछ। ‘शुक्रबार पनि हुन्छ कि हुँदैन ठेगान छैन। प्लेनको टिकटभन्दा बढी होटल र खानाकै खर्च भइसक्यो,’ कमलाले भनिन्, ‘टिकट लिइसकेका मान्छेलाई कुराएर चार्टर उडान गर्नु त ठूलो अन्याय भएन र?’

कमलाकी ७५ वर्षीया दिदीको अपरेसन भएकोले उनलाई बसमा बाजुरा लैजान नसकिने अवस्था छ। बाजुरामा बालविकास शिक्षिका रहेकी कमलाजस्तै कयौं नागरिकहरू नेपाल एयरलाइन्सको मनोमानीका कारण समस्यामा परेका छन्। ‘बाध्य भएर प्लेनमै जानुपर्ने अवस्था भएका हामीजस्ता दुर्गम क्षेत्रवासीलाई यो ठूलो अन्याय हो। हामीजस्तै बाध्यताले होटलमा थन्किएकाहरू धेरै छन्,’ उनले भनिन्।

नेपालको पूर्वी क्षेत्रमा पर्यटकको चाप बढेको भन्दै निजी विमान कम्पनीहरूले नेपालगन्जबाट सबै उडान काठमाडौं सारेपछि कर्णाली र सुदूर पश्चिमका नागरिक र पर्यटकलाई आवतजावत गर्न पाइरहेका छैनन्। नेपालगन्ज र पर्यटकीय गन्तव्यहरूमा यात्रु तथा पर्यटकहरू अलपत्र परेका छन्।

एउटा विमानबाट सेवा दिइरहेको नेपाल एयरलाइन्सले पनि नागरिकहरूलाई सकेसम्म सहज सेवा दिनुपर्नेमा यही मौकामा उल्टै चार्टर उडानको नाममा चर्काे शुल्क असुलिरहेको पाइएको छ। बिचौलियाहरूसँग मिलेर शक्ति र पैसा हुनेहरूलाई चार्टर उडानबाट ओसार्ने तर निमुखाहरूलाई टिकट लिइसकेका नियमित उडान पनि रद्द गरेर थप दुःख दिइरहेको खुलेको छ। हुम्लाका लागि करिब साढे २१ हजारसम्म भाडा लिने गरेका छन्।

प्रकाशित: २७ चैत्र २०७८ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App