१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

तुवाँलोले हवाई उडानमा सधैं पिरलो

पोखरा विमानस्थलमा हवाई उडानको पर्खाइमा रहेका यात्रु। तस्बिरः उमेश पुन/नागरिक

पछिल्लो साता पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भए। एक साता अघिदेखि दिनहुँ ‘डिस्टर्व’ भइरहेका उडान सोमबार मात्र तोकिएको संख्यामा हुन सके। तुवाँलोका कारण भिजिविलिटी नपुग्दा पोखराबाट विभिन्न गन्तव्यका लागि हुने उडान प्रभावित हुँदै आएका छन्। तुवाँलोका कारण उडान प्रभावित हुँदा यात्रुलाई भने सधैं सास्ती हुने गरेको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एक सातादेखि दिनहुँ आधाजसो उडान रद्द भइरहेका थिए। एक सातापछि सोमबार बल्ल तोकिएका सबै उडान हुन सकेको उनले बताए। पछिल्लो समय पोखरा विमानस्थलबाट दिनमा करिब तीन दर्जन (एकतर्फी) उडान हुने गरेका थिए। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि उत्तिकै हुने गरेको थियो।

पोखरा विमानस्थलले दिनमा एक सय बढी उडान र अवतरण व्यवस्थापन गर्दै आएको छ तर भिजिविलिटी नपुग्दा उडान र अवतरण प्रभावित भएको सुवेदीले बताए। ‘एकसातादेखि दैनिक आधाजति उडान अवरुद्ध भए। अल्ट्रालाइटका उडान पनि प्रभावित भए। डाँडाकाँडा ढाकिने गरी बाक्लो तुवाँलो लागेकाले उडान नै अनिश्चित हुने गरेको छ’, उनले भने– ‘सोमबार पनि अन्योल कायमै रहेको थियो तर कुनै पनि वेला रोकिन सक्ने आशंकाका बीच तालिका अनुसार नै उडानहरू भए।’ तुवाँलोका कारण वेलावेला पोखराबाट हुने उडान प्रभावित हुँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘उडान हुनका लागि आवश्यक पाँचहजार मिटरको भिजिविलिटी नै पुग्दैन। त्यसैले उडान रोकिने गरेका छन्’, उनले भने– ‘पोखराको भिजिविलिटी चारहजार मिटरमा सीमित हुने गरेको छ।’

पोखराबाट बिहान ६ बजे नै मुस्ताङको जोमसोमका लागि उडान सुरु हुन्छ तर अहिले विमानस्थल बिहानको समयमा खुल्नै छाडेको छ। बिहानपख खुलेको खण्डमा पनि केहीबेरपछि पुन बन्द हुने गरेको छ। गत शनिबार बिहान ६ बजे नै खुलेको विमानस्थल ७ बजेपछि बन्द भएको थियो। तुवाँलो बढ्दा जोमसोमबाट फर्केको जहाज अवतरणमा कठिनाइ भएको थियो। विमानस्थल खुलै रहेको जानकारी पाएपछि जोमसोमबाट उडेको जहाज पोखरा आइपुग्दा तुवाँलोले ढाकिसकेको थियो।

बिहानपख खुलेको विमानस्थल उडान र अवतरण पनि तुुवाँलोले ढाकेपछि रोकिने गरेको उनले बताए। ‘बिहानपख खुलेको विमानस्थल पनि केही समयपछि बन्द हुने गरेको छ र दिउँसो ढिलो गरी मात्र विमानस्थल खुल्ने गरेको छ’, उनले भने– ‘कुनै पनि उडान तोकिएको समयमा हुन सकेनन्। यस्तै अवस्था पोहोर पनि भएको थियो। वेलावेला यहाँको उडान तुवाँलोले रोक्दै आएको छ।’

सुवेदीका अनुसार पछिल्लो एकसाता दिउँसो २ बजेपछि मात्र उडान र अवरण भएका थिए। बिहानपखका अधिकांश उडान रद्द भएका थिए। ढिलो गरी विमानस्थल खुलेपछि एकैपटक उडान र अवतरणमा चाप पर्ने गरेको सुवेदीले बताए। अहिले पोखरा विमानस्थलबाट बेलुकी साढे ६ बजेसम्म उडान हुने गरेको छ। पोखराबाट काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा र जनकपुरसम्म नियमित उडान भइरहेका छन्। तीमध्ये सबैभन्दा बढी बुद्ध एयरले काठमाडौंका लागि दैनिक दर्जन हाराहारीमा उडान गर्दै आएको छ। पोखराबाट बुद्ध, यती, श्री, गुण, तारा र समिट एयरले विभिन्न गन्तव्यमा उडान गर्छन्।

पोखरामा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रविधिमा आधारित भएर मात्र उडान हुन्छ। भिएफआरमा ५ किलोमिटर दूरीको ग्राउण्ड भिजिविलिटी हुनुपर्छ तर तुवाँलोले पोखरा विमानस्थलको भिजिविलिटी कम हुने गरेको सुवेदी बताउँछन्।

हवाई उड्डयन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण सञ्चालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ। सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ।

प्रकाशित: २२ चैत्र २०७८ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App