पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले पेट्रोलिय पदार्थको ढुवानी नरोक्ने भएको छ। संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै ढुवानी रोक्ने आफूहरुको कुनै पनि आन्दोलन नरहेको स्पष्ट पारेको हो।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कमिसन र ढुवानी भाडा बढाउन माग गर्दै आजैदेखि (शुक्रबार) पेट्रोलियम पदार्थको लोड/अनलोड नगर्ने घोषणा गरीरहँदा पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ भलवारीले भने संवादबाटै समस्या समाधान गर्ने भन्दै पेट्रोलियम पदार्थको नियमित ढुवानी गर्ने जनाएको हो। संघ अन्तर्गत २४० वटा ट्याङ्कर छन्। ती ट्याङ्करले आयल निगमको भलवारी डिपोबाट लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, पाल्पासहित स्याङ्गजा र बाग्लुङसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्छन्। संघले ढुवानी नियमित गर्ने जनाएसंगै यी जिल्लाहरुमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुनेछ।
देश र जनताप्रति संघ र त्यसमा आवद्ध व्यवसायीहरुको पनि सामाजिक उत्तरदायित्व रहने भएकाले पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक बस्तुको ढुवानी रोकेर जनतालाई दुःख दिने पक्षमा आफूहरु नभएको पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघका अध्यक्ष राकेश कशोधन बताए। संघको कुनैपनि आन्दोलनका कार्यक्रम नरहेको र पेट्रोलियम पदार्थको सहज ढुवानी भइरहेको उनले जानकारी दिए।
संघका महासचिव भुपराज अर्यालले संघले यसअघि नै राखेका ६ बुँदे मागप्रति नेपाल आयाल निगमले वार्ताकै माध्यमबाट पूरा गर्ने आश्वासन दिएकाले आन्दोलनको औचित्य नदेखिएको बताए। निर्वाचन नजिकिँदै गएको अवस्थामा देश र जनताप्रति व्यवसायीहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भएकाले पेट्रोलियम पदार्थको ढुवानी नियमित गरी जनउत्तरदायित्व बहन गर्ने निर्णय संघले गरेको महासचिव अर्यालले बताए। संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष श्रवण गुरुङले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक बस्तु ढुवानी रोक्न नहुने भन्दै वार्ता र संवादको माध्यमबाट अगाडी बढ्नु पर्नेमा जोड दिए।
देशको वर्तमान अवस्थामा पेट्रोलिमय पदार्थ जस्तो अत्यावश्यक बस्तुको ढुवानी रोकिदिँदा अराजकता पैदा हुन सक्ने र त्यसले आसन्न निर्वाचनलाई समेत असर गर्न सक्ने प्रति सचेत रहनु पर्नेमा यहाँका पेट्रोलियम ढुवानी व्यवसायीको भनाइ छ। नेपाल आयल निगम मातहतमा रही व्यवसाय गर्ने तीन वटा व्यवसायी संस्थाहरु ग्यास व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोलियम बिक्रेता सम्मिलित राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ गते नेपाल आयल निगम लि. समक्ष ६ बुँदे माग पेश गर्दे माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरी कार्यक्रमहरु सार्वजनिक गरेको थियो। तर चैत १६ गते नेपाल सरकार, नेपाल आयल निगम लि. र व्यवसायीबीच वार्ता बसी समस्या समाधानका लागि निगमले केही समय माग गरेको थियो।
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ भलवारीले निगमको सो आग्रहलाई स्वीकार गरी आफ्ना ६ बुँदे माग यथावत नै रहेपनि आन्दोलन स्थगित गरी ढुवानी नियमित गर्ने बैठकबाटै निर्णय गरेको हो। यहाँका ढुवानी व्यवसायीले आसन्न निर्वाचन भय रहित वतावरणमा सम्पन्न गराउन सरकारलाई आग्रह गर्दै आफूहरु पनि त्यसका लागि प्रतिवद्ध रहेको र पेट्रोलियम पदार्थको सहज ढुवानी गर्ने स्पष्ट पारेका छन्।
प्रकाशित: १८ चैत्र २०७८ १५:०४ शुक्रबार