१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सगरमाथा विमानस्थलका लागि झण्डै १४ हजार रुख काटिँदै

फाइल तस्बिर

प्रस्तावित सगरमाथा विमानस्थल बनाउनका लागि उदयपुरमा झण्डै १४ हजार रुख काटिने भएको छ। त्रियुगा नगरपालिका १ र २ भित्र पर्ने जोगीदह क्षेत्रस्थित प्रस्तावित एयरपोर्टका लागि रुख काट्न छपान कार्य भईरहेको छ।  

एयरपोर्टका लागि आवश्यक जमिन स्थानीय २ वटा सामुदायिक वन उपभोक्ता समूहको अधिग्रहण गर्ने प्रक्रियामा छ। एयरपोर्टलाई चाहिने १ सय ५६ दशमलव ११ हेक्टर अर्थात ५ सय ८१ बिगाहा १ धुर जमिन अधिग्रहण गरी जसमा रहेका रुख विरुवा काट्ने प्रक्रिया अघि बढाइएको हो। जोगीदहका कङ सामुदायिक वन र मोथियाही सामुदायिक वन उपभोक्ता समूहको उक्त क्षेत्रफलभित्र रहेका १३ हजार ६ सय ३७ वटा रुख काट्ने प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।  

डिभिजन वन अधिकृत (डिएफओ) अम्बिकाप्रसाद पौडेलका अनुसार कङ सामुदायिक वन उपभोक्ता समूहका ९ हजार २ सय ८० वटा र मोथियाही सामुदायिक वन उपभोक्ता समूहका ४ हजार ३ सय ३७ वटा रुख काट्नु पर्ने छ। रुख काट्नुअघि गर्नुपर्ने छपान कार्य अहिले धमाधम भईरहेको पनि डिएफओ पौडेलले बताए।  

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त पत्र अनुसार गएको फागुन २५ गतेदेखि रुख छपान गर्ने कार्य भईरहेको र अहिलेसम्म ८० प्रतिशत काम सकिएको उनले बताए। छपान सकिएपछि काठको परिमाण मूल्याङ्कन गरी त्यसको सम्पूर्ण बिबरण कम्प्युटर पोष्टिङ गरिसकेर प्राधिकरणमा पठाउने पौडेलले बताए। यताबाट पठाइएको बिबरण प्राधिकरणले स्वीकृत गरेर आएपछि रुख कटान कार्य अघि बढाइने डिएफओ पौडेलले बताएका छन्।  

त्यहाँ काटिने रुखबाट न्यूनतम पौने २ लाख क्युविकफिट काठ उत्पादन हुने अनुमान डिभिजन वनले गरेको छ। सहायक वन अधिकृत जागेश्वर साहका अनुसार पहिलो चरणमा सर्भेक्षण गर्दा १८ हजार रुख ढाल्नुपर्ने हिसाव निस्केको थियो। जसबाट २ लाख क्युविकफिट काठ उत्पादन हुने अनुमान गरिएको थियो। तर, पछिल्लो सर्भेक्षणमा रुख संख्या घटेर १३ हजार ६ सय ३७ मा झरेकाले काठको परिमाण पनि घट्ने उनको अनुमान छ।  

एयरपोर्ट बनाउने १ सय ५६.११ हेक्टर जमिनमध्ये १ सय ५.१ हेक्टरमा भौतिक पूर्वाधारको संरचना बनाइने छ। त्यसैले रुख कटान कार्य पनि भौतिक पूर्वाधार संरचना निर्माण गर्ने क्षेत्रभित्रको मात्र गरिने छ। १ सय ५६ हेक्टर क्षेत्रभित्र घेराबेरा (बाउण्डरी) भने गर्नुपर्ने सहायक वन अधिकृत साहले बताए। त्यसका लागि १ हजार ८ सय मिटर लामो घेराबार लगाउनुपर्ने प्राविधिक इस्टिमेट बनेको वनको भनाई छ।  

प्राधिकरणले एयरपोर्ट निर्माणका लागि चालु आर्थिक वर्ष ६५ लाख रकम विनियोजन गरेको जनाइएको छ। जसमध्ये रुख छपानका लागि १० लाख हाराहारी बजेट खर्च हुने अनुमान छ। रुख कटानपछि घेराबारसहित बाँकी काम अघि बढाउने प्राधिकरणले योजना बनाएको जनाइएको छ।

प्रकाशित: १७ चैत्र २०७८ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App