८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

आइतबारदेखि चल्ने भयो जनकपुर–जयनगर रेल

शनिबार देउवा–मोदीले उद्घाटन गर्ने

जयनगर–जनकपुर चलाउन ल्याएको रेल। तस्बिरः नागरिक

जनकपुर–जयनगर रेल आइतबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेपछि आइतबारदेखि रेल सञ्चालनमा आउनेछ।  

नेपाल ल्याइएको १७ महिनापछि आइतबारबाट यात्रुसहित रेल सञ्चालनमा आउन लागेको नेपाल रेल्वे कम्पनीका प्रवन्धक निरञ्जन झाले बताए। भारतबाट ८४ करोड रुपैयाँमा खरिद गरी ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो।

नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले उद्घाटनअगावै फागुनको पहिलो सत्ता ‘ड्राय रन’ गरिएको थियो। दैनिक एकपटक रेल जयनगरबाट–जनकपुरसम्म चलाइएको थियो। त्यसपछि फागुनको दोस्रो सातादेखि धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामै रेल पार्किङ गरी राखिएको थियो। रेलको प्राविधिक जाँचपछि पार्किङ गरी राखिएको प्रवन्धक झाले बताए।

यस रेलमा एसी र जनरल गरी १३ सय यात्रु बोक्न सक्ने रेलको क्षमता छ। रेलको औपचारिक उद्घाटनपछि १२ भारतीय कर्मचारी आउने बताइएको छ।

०७७ असोजमा धुमधामले स्वागत गरेर भित्र्याइएको रेल सेटको पुस महिनाको दोस्रो सात्ता पुनः परीक्षण गरिएको थियो। जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिकमा रेल गुडाएर परीक्षण गरिपछि पुनः इनरुवामा थन्काइएको थियो। पटकपटक रेल लिकमा गुडाएर थन्काउने गरिएकोले मधेसका जनता अब रेल नचल्ने भन्दै निराश बनेका थिए।

रेल सेट भित्रिएको दश महिनापछि गत साउनमा रेल्वे लिकमा गति परीक्षण यकीन गरिएको गियो। त्यो बेला ‘अब रेल चल्ने भयो’ भनेर जनतामा खुसी छाएको थियो। तर कानूनी अड्चन, कर्मचारी तथा बजेट अभाव लगायतका जटिलताले रेल लामो समय थन्किँदा जनता निराश बन्न पुगेका थिए। आइतबार घुम्टो उघारेर रेल्वे लिकमाथि रेल दौडेको देख्न यस भेगका जनतामा पुनः उत्साह संचार भएको छ।

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन २०७७ असोजमा परीक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झण्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेल सेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पुर्‍याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे। त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो।  

पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रुत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो। नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरीद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। रेल विभागका जनकपुर साइटका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ।

दुई वटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ। यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ। तर जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले गत वर्ष असोज महिनामै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। रेल बनाउन भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीलाई जिम्मा दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा अग्रणी मानिन्छ। अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ। पछि महोत्तरीको बिजलपुरसम्म विस्तार गर्ने योजना छ। त्यहाँबाट पनि बर्दिबाससम्म रेल चलाउने योजना छ।

प्रकाशित: १५ चैत्र २०७८ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App