सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताएकी हुन्।
अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ। मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताईन्। विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जल संरक्षण र सम्वद्र्धनमा पर्याप्त सचेत रहेको पनि बताईन्।
भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै उनले त्यसका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पुर्याउनु पर्ने बताईन्। मन्त्री भुसालले पीउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताईन्।
प्रकाशित: ८ चैत्र २०७८ ०७:५८ मंगलबार