५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघ नेतृत्वमा सिंह र पाण्डेले प्रतिस्पर्धा गर्ने

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशनअन्तर्गत हुने निर्वाचनमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन्।

अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। वरिष्ठ उपाध्यक्ष कालिका कन्सट्रक्सनका कार्यकारी निर्देशक हन्। अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन्। अध्यक्षका प्रतिस्पर्धी पाण्डेले महासंघको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने बताए। ‘महासंघमा पुरानो पुस्ताको योगदान नभएको होइन। तर अब महासंघ पुरानो पुस्ताकै कारणले अघि बढ्न सक्ने अवस्था छैन,’ उनले भने, ‘राजनीतिक दलहरूमा पनि नयाँ पुस्तामा नेतृत्व आइसकेकाले महासंघ अघि बढाउन नयाँ नेतृत्व आवश्यक छ।’

पाण्डेले एकीकृत नेतृत्वमा युवाको अधिकतम सहभागिता गराउने बताए। ‘महासंघमा धेरै परिवर्तन जरुरी भइसकेको छ। अब निर्माण व्यवसायलाई सम्मानजनक रूपमा स्थापित गराउने प्रयत्न रहनेछ,’ उनले भने, ‘कन्ट्र्याक्ट म्यानेजमेन्टदेखि हरेक क्षेत्रलाई सम्मानजनक बनाउन आवश्यक भइसकेको छ।’

वर्तमान अध्यक्ष सिंहले फेरि अध्यक्ष दोहोर्‍याउने घोषणा गरे। सिंहले आफ्नो कार्यकालमा सार्वजनिक खरिद नियमावलीको छैटौं संशोधनले निर्माण क्षेत्रमा ठूलो समस्या ल्याएकाले करिब एक वर्ष उक्त नियमावली संशोधन गर्ने कार्यकै लागि खर्चिनुपरेको बताए। ‘एकातर्फ सार्वजनिक खरिद नियमावली संशोधन गर्न दबाब दियौं,’ उनले भने, ‘अर्काेतर्फ कोभिड १९ को कारणले निर्माण क्षेत्रमा समस्या ल्यायो।’ अध्यक्ष सिंहले महासंघमा चुस्तदुुरुस्त रूपमा कार्यसम्पादन गर्न फेरि आउन चाहेको बताए। साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघले जनाएको छ। साधारणसभामा करिब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ।

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। महासंघको ५९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव, २ उप–महासचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुनेछ। साधारणसभामा सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन र व्यवसायीका अन्य मागका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने बताइएको छ।

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए। वरिष्ठ उपाध्यक्ष पाण्डेले समस्याग्रस्त निर्माण उद्योेग सुधारका लागि ११औं संशोधन आवश्यक रहेको बताए।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इन्धनको भारी मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरू थप मारमा परेको महासंघका महासचिव रोशन दाहालले बताए।

प्रकाशित: २६ फाल्गुन २०७८ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App