२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशका मुख्यमन्त्रीको सद्भावना भ्रमणः मधेस–पहाड पर्यटन सर्किट बनाउने योजना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली स्टिमर चढेर सर्लाहीको भरत ताल भ्रमण गर्दै। तस्बिरः नागरिक

मधेस प्रदेशको तीनदिने सद्भावना भ्रमणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यहाँको पर्यटनलाई गण्डकी प्रदेशको पर्यटकीय सर्किटले जोडेर समृद्धिको सहयात्रा सुरु भएको बताएका छन्।

मधेस र गण्डकी प्रदेशमा समृद्धिको सेतु ‘पर्यटन रहेको उनको भनाइ छ। दुवै प्रदेशको समृद्धिका लागि पर्यटन प्रवद्र्धनको सहयात्रा सुरु भएको छ।

‘मधेस प्रदेशको भ्रमणका क्रममा गण्डकी–मधेस पर्यटकीय सर्किट तयार पार्ने सम्भावनाको अध्ययन गर्दैछु,’ मुख्यमन्त्री नेपालीले भने, ‘पर्यटकीय सम्भावनाका योजनालाई सहकार्य गर्ने अघि बढाउनेछौं।’ उनले जनकपुरधामसँग पर्यटकीय करिडोर बनाउने प्रतिबद्धता व्यक्त गरे।

जनकपुरधाम पोखरासँग हवाई सम्पर्क स्थापित भएपछि धार्मिक, सांस्कृतिकलगायतको सद्भाव समेत प्रगाढ हुने उनको विश्वास छ। पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण र जनकपुरधाम धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। यी दुई सहरबीचको सीधा हवाई उडानले दुवै सहरमा मात्र नभई दुवै प्रदेशमा पर्यटक भरिने मुख्यमन्त्री नेपालीले बताए।

उनले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रशंसा गर्दै संवैधानीक अधिकार प्राप्तिका लागि गण्डकी र मधेस प्रदेश सरकार एकजुट भएर अगाडि बढुनुपर्ने धारणा व्यक्त गरे। संघीयताका लागि मधेस प्रदेशको बलिदानीपूर्ण संघर्षका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले राउतको खुलेर प्रशंसा गरेका थिए।

मुख्यमन्त्री नेपालीले राजश्वको बाँडफाँडमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले प्रदेश विकासका आवश्यकताहरू पूरा गर्न सम्भव नहुने बताए। उनले भने, ‘नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालय हटाएको छैन। कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन। शान्ति सुरक्षालगायतका मुख्य काममा प्रदेशलाई अधिकार दिएको छैन। जसले गर्दा प्रदेश सरकार चाहेर पनि जना काम गर्न सक्ने अवस्थामा छैन।’

ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या रहेको, विकास निर्माणमा बाधक विभिन्न कानुनी व्यवस्था आदीको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको भन्दै यसका लागि प्रदेशहरूले एकताबद्ध भएर आवाज उठाउनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘ठूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको छ।

यसमा प्रदेशको संलग्नता बृद्धि हुनुपर्दछ।’ उनले अन्तर प्रदेश समन्वय परिषद्को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु पर्ने आवश्यक्ता औल्याए। साझा सरोकारका विषयमा समय समयमा मुख्य मन्त्रीहरूबीच छलफल गरी अनुभव तथा सहयोगको आदानप्रदान गर्नुपर्ने धारणा व्यक्त गर्दै सात वटै प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गरी उपयुक्त समयमा छलफल कार्यक्रम पोखरामा आयोजना गर्ने मुख्यमन्त्री नेपालीले इच्छा व्यक्त गरे।

गण्डकी र मधेस प्रदेशबीचमा धेरै समानता र सहकार्यको सम्भावना छ। गण्डकी प्रदेशमा आउने पर्यटकलाई मधेस प्रदेश र मधेस प्रदेशमा आउने पर्यटकलाई गण्डकी प्रदेश भ्रमण गर्न अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाइमा अगाडि बढाउने उनले योजना सुनाए। जल पर्यटन, कृषि पर्यटन, शिक्षा र स्वास्थ्य पर्यटनमा पनि सहकार्य गरेर अघि बढ्न सकिने उनले बताए।

आपसी हितका बृहत परियोजनाहरू जानकी, लुम्बिनी, मुक्तिनाथ र पोखरा जोड्ने सर्किट विकास गर्न सकिने भन्दै मुख्यमन्त्री पोखरेलले हवाई उडानलाई नियमित बनाउने र यसको क्षमता बढाउन सक्ने सम्भावना पनि रहेको बताए। अन्तरप्रदेश सद्भावना भ्रमणले दुई प्रदेशबीच सहयोगको आदान प्रदान र भ्रातृत्व बृद्धिमा टेवा पुग्ने उनले बताए।

मधेश प्रदेशका मुख्यमन्त्री राउतले गण्डकी सरकारका असल अभ्यासको अनुकरण गरेर अघि बढ्ने बताए। पर्यटकीय र धार्मिक सम्बन्ध कायम गर्नका लागि मधेस सरकार प्रतिबद्ध रहेको उनले बताए। गण्डकी प्रदेशको मुख्यमन्त्रीको भ्रमण सांस्कृतिक अन्तरघुलन, मिलाप र सहकार्यको मियो भएको उनले बताए। मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले मुख्यमन्त्री नेपालीको भ्रमणले दुई प्रदेशबीचको पर्यटकीय र धार्मिक सम्बन्धलाई प्रगाढ बनाउन टेवा पुग्ने बताए।

नाटा गण्डकी च्याप्टर अध्यक्ष सञ्जयकान्त सिग्देलले दुई प्रदेशबीच हवाई सम्पर्क स्थापित भएपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। नाटा मधेश च्याप्टर अध्यक्ष मोहन शर्मा लामिछानेले पोखरा र जनकपुरधामबीच हवाई उडान केबल हवाई उडान मात्र नभई पर्यटन क्षेत्रको नयाँ उडान भएको बताए। पोखरा–जनकपुरधामको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको १८ सदस्यी टोली शनिबार जनकपुर पुगेको हो। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७८ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App