१७ मंसिर २०७९ शनिबार
अर्थ

सात महिनामै साढे ११ खर्बको आयातः विदेशी मुद्रा सञ्चिति घटेपछि आयात घटाउने नीति

पूर्वीपहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट संकलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्कनजिकै ल्याएर सुकाएको अम्रिसोको कुचो व्यवस्थापन गर्दै मजदुर। अम्रिसोको कुचो छिमेकी भारत लगायत तेस्रो मुलुकमा समेत निर्यात हुन्। थोरै परिमाणमा हुने नेपालको निर्य

वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयात निरुत्साहित गर्दै आएको छ। कोभिडपछि वैदेशिक रोजगारीमा आएको गिरावटसँगै रेमिटेन्स आप्रवाहमा कमी र वस्तु आयात वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को वस्तुको आयातमा कडाइ गरको हो।

केही समयअघि ४७ वस्तुको आयातमा कडाइ गरेको नेपाल राष्ट्र बैंकले फेरि सुन आयातको कोटा आधा कटौती गरेको छ। राष्ट्र बैंकले बिलासी वस्तुको आयातमा कडाइ गर्दै जाने नीति लिएको छ। दैनिक २० किलो सुन आयात अनुमति दिँदै आएकोमा आइतबारदेखि परिमाण घटाएर १० किलोको सीमा तोकेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने मात्र छ। यसले अर्थतन्त्रलाई थप जटिल मोडतर्फ लगेको संकेत गर्छ। यो पुस मसान्तसम्मको मात्र तथ्यांक हो। चालु आवको ६ महिनामा विदेशी मुद्राको सञ्चिति निकै घटेको छ। चालु आर्थिक वर्षको सात महिनामै ११ खर्ब ४७ अर्बको वस्तु आयात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४२ प्रतिशतले बढी हो। गत आवमा ८ खर्ब ३ अर्बको वस्तु आयात भएको थियो।

वस्तु खरिद गर्न ११ खर्ब ४७ अर्ब रूपैयाँ बाहिरिएको छ। विदेशबाट सामान आयात गर्दा डलर देशबाट बाहिरिन्छ। यसलाई रेमिटेन्स र निर्यातले धान्न नसकेपछि विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो। नेपालबाट निर्यातको हिस्सा निकै सानो भएको, विदेशी मुद्रा आर्जनको माध्यम पर्यटन क्षेत्रमा कोभिडले असर परेको र रेमिटेन्स आगमनमा पनि गिरावट आएकाले विदेशी मुद्रामा चाप परेको हो। सात महिनाको १२ खर्ब ७९ अर्बको वैदेशिक व्यापारमा एक खर्ब ३१ अर्ब रूपैयाँको वस्तु मात्र निर्यात भएको छ।

आयातको हिस्सा ठूलो र निर्यातको हिस्सा निकै सानो भएकाले विदेशी मुद्राको चाप परेर वस्तु आयात गर्न विदेशी विनिमय सञ्चिति घटे पनि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। बिलासी वस्तु सुन आयात गर्दा डलर बिदेसिने भएपछि कटौती गरेको हो। नेपाली बजारमा अवैध रूपमा सुन आयात भइरहेको अवस्थामा कोटा घटाएपछि गैरकानुनी रूपमा सुन आयत बढ्न सक्ने अनुमान गरिएको छ।

सुनको मूल्य वृद्धि भएपछि माग धेरै नभए पनि विवाहको सिजनमा अहिलेको कोटाले नपुग्ने सुन व्यवसायीले बताएका छन्। नेपाली बजारमा अवैध रूपमा सुन आयात हुँदै आएको छ। प्रहरीले विमानस्थल लगायत विभिन्न ठाउँबाट सुन कारोबारीलाई पक्राउ गर्दै आएको छ।

सुन आयातमा कडाइ गरेपछि बजारमा झन् समस्या हुन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘अहिले मूल्य घटेकाले माग पनि घटेको छ,’ शाक्यले भने, ‘आयातमा आधा कटौती गरेपछि यसको असर बजारमा पर्छ।’ सिजनको समयमा कालोबजारी हुन सक्ने बताए। ‘सरकारले नियन्त्रण गर्न सकेन भने समस्या हुन सक्छ,’ उनले भने, ‘बोर्डरबाट पनि अवैध रूपमा आउन सक्छ।’

राष्ट्र बैंकले २०७६ सालमा पनि विदेशी सञ्चिति घटेको भन्दै सुनको कोटा १० किलो बताएको थियो। १० किलो सुनले बजारको माग धान्न नसकेको भन्दै लबिङ गरेपछि २०७७ चैतमा बढाएर फेरि २० किलो पु¥याएको थियो। चालु आर्थिक वर्षको पहिलो सात महिनामै नेपालमा करिब सवा २५ अर्ब रूपैयाँ बराबरको ३६ सय ४३ किलो सुन आयात भएको छ। सुन मात्र नभएर चाँदी, हिराका गहना आयातमा पनि कडाइ गरेको छ। मोतीका गरगहना आयातमा पनि कडाइ गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बिलासीका वस्तु आयातमा कडाइ गर्ने संकेत गर्दै आएका थिए। आन्तरिक उत्पादनलाई प्रवद्र्धन एवं औद्योगिकीकरणका जोड दिने बताए पनि त्यसो हुन सकेको छैन।

कोभिडपछि विदेशी मुद्रा सञ्चिति घटेर लगातार ओरालो लागेपछि अर्थतन्त्रमा समस्या देखिन थालेको छ। राष्ट्र बैंकल केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो।

चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी सुपारी, केराउ, केरा, छोकडा, सबै प्रकारका घडी, सजावटका सामग्री, डेकोरेसनका सामान, डेरी प्रडक्ट, सबै प्रकारका फूल, जनावरका दानालगायत वस्तुमा पनि कडाइ गरेको छ।

इन्धनका गाडीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ। आयातकर्ता कम्पनीले प्रतितपत्र (एलसी) खोल्दा इन्धनका गाडीमा बैंकबाट ५० प्रतिशत ऋण लिन पाइने व्यवस्था गरेको छ।

पुस मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६.७ प्रतिशतले घटेको छ। गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय पुस मसान्तमा सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोड भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड डलर रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ करोड कायम भएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App