२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

भित्रिन थाले भारतीय पाहुना

मे महिनासम्मको बुकिङ झनै राम्रोः व्यवसायी

पोखरा फेवातालमा डुंगा सयर गर्दै भारतीय सहितका पाहुना। फाइल तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण कमजोर भएसँगै भारतीय पाहुना पोखरा भित्रिन थालेका छन्। कोरोनाको तेश्रो लहरको संक्रमणले गति लिएसँगै पोखरामा भारतीय पाहुनाको आगमन खस्किएर करिब शुन्यमा झरेको थियो। तर, संक्रमण कमजोर भएपछि भारतीय पाहुना पोखरा आउन थालेको व्यवसायीले बताएका छन्।  

संक्रमण कमजोर भएको मौका पारेर केही आन्तरिक पाहुना पनि पोखरा आउँदा यहाँको पर्यटन क्षेत्रले गति लिने संकेत देखिएको व्यवसायीको भनाई छ। घुम्नकै लागि आउने भारतीय पाहुनाबाहेक खेल्नकै लागि पनि खेलाडी पोखरा आउन थालेका छन्। भारतीय पाहुनाका कारण पर्यटन व्यवसाय आशावादी भएको व्यवसायी बताउँछन्।  

पाँचतारे होटल पोखरा ग्राण्डका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचन भन्छन, ‘कोरोनाको तेश्रो लहरले रोकिएका भारतीय अहिले आउन थालेका छन्। भारतीय पाहुनाको बुकिङ पनि धमाधम आईरहेको छ।’ उनका अनुसार कोरोनाको तेश्रो लहरले भारतीयको आगमन करिब शुन्यमा झरेको थियो। तर, अहिले दिनहुँजसो समुहमा भारतीय पाहुना आउन थालेका छन्। त्यस्तै बुकिङ पनि धमाधम आईरहेको छ। 

‘भारतीय पाहुनाको आगमन र बुकिङले व्यवसायीलाई उत्साही बनाएको छ। अब व्यवसायले गति लिने संकेत देखाएको छ,’ शेरचनले भने, ‘अहिलेका लागि नेपालसँग सिमाना जोडिएका नजिकका सहरका भारतीय पाहुना आएका छन्। टाढाका सहरका पाहुना भने अझै आउन थालेका छैनन, तर, उनीहरुको बुकिङ भने आइरहेको छ।’  

भारतीय सहरमा अधिक गर्मि हुने भएकोले पनि गर्मि छल्नका लागि वर्षेनी यो समयमा भारतीय पाहुना पोखरा आउँछन्। भारतीय पाहुनाको लागि अबको केहीमहिना सिजन मान्न सकिने उनले बताए। ‘केही आन्तरिक र भारतीय पाहुना पनि भित्रिँदा पर्यटन क्षेत्र अब तेश्रो लहरअघिको अवस्थामा फर्किने देखिएको छ,’ उनले भने। उनका अनुसार केही आन्तरिक पाहुना पनि अहिले पोखरामा आउन थालेका छन्।

 ‘कोरोनाका संक्रमण अब नबढ्ने हो भने भारतीय पाहुना पक्का आउँछन। तेश्रो मुलुकका विदेशी पाहुना भने अब अक्टोवर नलागेसम्म आउँदैनन, तर, भारतीय भने आउनेछन,’ उनले भने, ‘कोरोनाका कारण शुन्यमा झरेको भारतीय आगमन बिस्तारै उकासिँदैछ। भारतीय पाहुना आउन नपाउँदा झन्डै डेढ महिनासम्म पोखराको पर्यनटन क्षेत्र सुनसान बनेको उनले बताए।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका कोषाध्यक्ष समेत रहेका व्यवसायी राजेश पहारीका अनुसार भारतीय पाहुनाको आगमन सुरु भएको छ। अबका केही महिनाका लागि भारतीय पाहुनाको बुकिङ पनि उत्साहजनक रहेको उनले बताए। ‘अहिलेका लागि बोर्डर क्षेत्रका पाहुना भित्रिन थालेका छन । तर, केही टाढाका सहरका पाहुनाको बुकिङ भने धमाधम आईरहेको छ,’ पहारीले भने, ‘अब केही समस्या थपिएन भने भारतीय पाहुना आउनेमा हामी ढुक्क छौ।’ उनका अनुसार मे महिना सम्मका लागि भारतीयको बुकिङ निकै नै राम्रो छ।  

उनका अनुसार अहिले समुहमा भारतीय पाहुना भित्रिन थालेका छन्। पारिवारिक पाहुनाको आगमन भने अझै आउन सकेका छैनन। कोभिडको अन्योलले गर्दा पारिवारिक पाहुना निस्कन नसकेको उनले बताए। ‘बोर्डरमा केही समस्या भए नभएको भनेर कतिपय हच्केका छन्। तर, बुकिङ भने निकै नै उत्साहवद्र्धक छ,’ उनले भने, ‘भारतमा अबका केही समय गर्मि हुने भएकोले पनि त्यहाँका पाहुना पोखरा आउन थाल्नेछन।’ 

मुक्तिनाथका लागि पनि भारतीय आउने समय सुरु भएको उनले बताए। पहारीका अनुसार अबको एकमहिना पछि भारतीय पाहुनाको मुक्तिनाथको मुख्य समय सुरु हुन्छ। ‘भारतीय पाहुना आउने हो भने व्यवसाय थेग्न सकिन्छ। अहिले सोधपुछ निकै नै राम्रो छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठ पनि विहार क्षेत्रका भारतीय पाहुना अहिले धमाधम पोखरा आईरहेको बताउँछन। टाढाका सहरका पाहुनाको भने बुकिङ आइरहेको उनले बताए। ‘नजिकका गन्तव्यका पाहुना आउन थालेका छन्। कोभिड पनि कम भएको र गर्मि पनि बढेकोले पाहुना आउन थालेका छन्,’ पोखरा अल्ट्रालाइट कम्प्निका संचालक समेत रहेका उनले भने, ‘भारतीय पाहुना बढेसँगै अल्ट्रालाइट उडानले पनि गति लिएको छ। अहिले उडान थपिन थालेका छन्।’ श्रेष्ठले भारतीय पाहुना पर्याप्त भिœयाउन सक्ने हो भने कोरोनाले थलिएको पर्यटन क्षेत्र उकालो लाग्नेछ। ‘कोरोना संक्रमण अब नबढ्ने हो भने भारतीयकै कारण हामीलाई राहत मिल्नेछ,’ उनले भने।  

पर्यटकको रुपमा मात्र नभई भारतीय खेलाडी पनि खेल्नकै लागि पोखरा आउँछन्। पछिल्लो समय मैत्रीपूर्ण क्रिकेट खेल्न भारतका विभिन्न सहरका खेलाडी आउन थालेका छन। खेलाडी तथा अफिसियल गरेर ८० जनाको एउटा समुह अघिल्लो साता पोखरा आएर खेलेर स्वदेश फर्केका छन। यो समुह चारदिनसम्म पोखरामा बसेको थियो। त्यस्तै २० जनाको अर्काे समुह पनि पोखरा आएको छ। उनीहरु अहिले पोखरामा खेलिरहेका छन्। यो समुहले तीनदिन खेलेको छ। अहिले खेलिरहेको टिम फर्के लगत्तै अर्काे समुह पनि आउने तयारीमा छ। एथलेटिक्स, क्रिकेट, मार्सल आर्टस, कबड्डीका खेलाडी पोखरामा आएर स्थानीय क्लव र टिमसँग वर्षेनी खेल्नछन। महाराष्ट्रदेखि अभ्यास र मैत्रीपूर्ण खेल खेल्नकै लागि पोखरासम्म खेलाडी आएको खेल पदाधिकारी बताउँछन्।

कोरोना संक्रमणका कारण बीचमा केही रोकिएकोमा अहिले आउन थालेको खेल पदाधिकारी नै बताउँछन। कोभिडको त्रास हटेपछि भारतबाट खेलकुदकै लागि खेलाडी आउने क्रम शुरु भएको नेपाल युवा खेलकुद विकास मञ्च, कास्कीका अध्यक्ष प्रदीप राउतले जानकारी दिए। खेल्न आएपनि ती खेलाडी पाहुनाको रुपमा भित्रिँदा यहाँको पर्यटन क्षेत्रमा लाभ पुगेको उनले बताए। मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि आउने भारतीयहरुलाई प्रतिस्पर्धासँगै स्थानीय व्यवस्थापकले एकदिने पोखरा भ्रमण समेत गराउने गरेका छन्। 

प्रकाशित: १९ फाल्गुन २०७८ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App