५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मेलम्चीको आधा गेग्य्रान हटाइयो

बाढीपहिरोले पुरिएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको आधा गेग्य्रान हटाउने काम सकिएको छ। मेलम्चीको अस्थायी ड्याममार्फत पानी ल्याउने संरचनामा आधा जति गेग्य्रान हटाउने काम सकिएको बताइएको छ। बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेक्डवक्र्स क्षेत्रमा २० मिटर अग्लो गेग्य्रान थुपारेको थियो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालले हटाउनुपर्ने गेग्य्रानमध्ये आधा जति हटाइसकेको बताए। ‘अस्थायी रूपमा पानी पथान्तरणको लागि हटाउनुपर्नेमध्ये अहिलेसम्म लगभग आधा जति गेग्य्रान हटाइसकेका छौं,’ उनले भने, ‘अबको करिब १५ दिनमा सुरुङको मुखसम्म पुग्ने गरी काम भइरहेको छ।’ 

कार्यकारी निर्देशक पौड्यालले निर्माण कम्पनीले विभिन्न ठाउँमा ग्रेगान हटाउने कामलाई तिव्र गतिमा अघि बढाइरहेको बताए। ‘गेग्य्रान हटाउने क्रममा कहिलेकहीँ ठूला खालका ढुंगा भेटिएसँगै कामको गति केही ढिला हुन्छ,’ उनले भने, ‘ठूला–ठूला ढुंगा भेटिनेबित्तिकै ब्लाष्टिङ गर्नुपर्ने भएकाले केही समस्या भइरहेको छ।’ कार्यकारी निर्देशक पौड्याल ढुंगा नभेटिँदा गेग्य्रान सफा गर्ने काम छिटो हुने र ढुंगा भेटिँदा ढिलो हुने गरेको बताउँछन्।

गेग्य्रान हटाउँदै सुरुङको मुखसम्म पुग्न बाँक रहेका तर सुरुङको भित्री भागमा क्षति भएको छैन होला भन्ने अनुमानमा रहेका उनले बताए। ‘हामीले सरकारले लक्ष्यलाई पछ्याएर अघि बढिरहेका छौं। सकेसम्म लक्ष्य अनुसार नै मेलम्चीको पानी उपत्यका झार्ने गरी काम भइरहेको छ,’ उनले भने। आयोजनाका अनुसार अहिले दैनिक ८–१० वटा एक्जाभेटर र १५–२० वटा ट्रिपरको सहायताले मेलम्चीको गेग्य्रान हटाउने काम भइरहेको छ।

त्यसको साथसाथै ३–४ वटा कम्प्रेसरको सहायताले गेग्य्रान हटाउने काम भइरहेको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले साढे २ महिना (चैत मसान्त) भित्रै मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने घोषणा गरेका थिए। मेलम्ची खानेपानी आयोजनाको गेग्य्रान हटाउने काम गत माघ दोस्रो साता सुरु भएको हो। आयोजनामा देखिएका ठूला ढुंगा ब्लास्टिङ गर्न नेपाली सेनाको प्राविधिक टिम राखेर काम  भइरहेको छ।

सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम भेरिएसनमार्फत सिनो हाइड्रोपावरमार्फत गराएको हो। ठेकेदार कम्पनीले माघको दोस्रो साता आयोजनाको हेडवक्र्स क्षेत्रमा उपकरण परिचालन गरेर थुप्रिएको गेग्य्रान हटाउन थालेको थियो।

आयोजना क्षेत्रमा अत्याधिक मात्रामा गेग्य्रान थुप्रिएको छ। तर आयोजनाले हटाउनुपर्ने गेग्य्रान मात्रै हटाएको जनाएको छ। अहिले आयोजनामा २४सै घन्टा गेग्य्रान हटाउने र मर्मतसम्भारको काम भइरहेको छ। गत असार १ र साउन १५ गतेको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग, कोफर ड्यामसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍याएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७८ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App