चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके। नेपालगन्जबाट जहाजमा हुम्ला लाने तयारी छ। हुम्लाका स्थानीय तहको माग अनुसार बिरुवा पठाएको उनी बताउँछन्।
यही वर्ष रोकायाले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५ सय बिरुवा पठाए। अहिलेसम्म उनको नर्सरीका ५० हजार बिरुवामा झन्डै २५ हजार निर्यात भइसकेको छ। उनले भने, ‘नर्सरी बनाएर बिरुवा हुर्काउन सके पैसाको अभाव हुँदैन।’
सरकारी दर अनुसार नर्सरीधनीले एक बिरुवाको ७७ रूपैयाँमा बेच्नुपर्छ। तर नर्सरीधनीले ग्राहक अनुसार कम मूल्यमा पनि बेच्छन्। उनले भने, ‘गुणस्तरीय बिरुवाको माग जिल्ला बाहिर अत्यधिक छ। जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ। त्यो बिरुवा पनि हामीहरूबाटै जान्छ।’
रोकायाले वर्षमा झन्डै तीन लाख रूपैयाँको बिरुवा बेच्छन्। उनले भने, ‘निरोगी बिरुवा हुर्काउन सकियो भने यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुँदैन। तर गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ। पटकपटक कृषि प्राविधिकको परामर्श आवश्यक पर्छ ।’ उनले सामाजिक संघ–संस्था र स्थानीय तहले विदेशी जातको स्याउ भित्र्याउन थालेपछि स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता लागेको बताए। रोकायाले सिर्जनशील स्याउ नर्सरी फार्म खोलेर व्यावसायिक रूपमा बिरुवा बेचिरहेका छन्।
उनी जस्ता दर्जनौं किसानले नर्सरी सञ्चालन गरेका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार किसानले स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्न थालिसकेका छन्। यहाँको बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाको बागवानी शाखाकी प्रमुख सुष्मा बुढाले बताइन्।
यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरेको बताउँदै उनले हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा निर्यात भएको जानकारी दिइन्। अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन्। जुम्लामा १५५ स्याउ नर्सरी कृषि विकास कार्यालयमा दर्ता छन्। हरेक नर्सरीमा न्यूनतम १० हजारदेखि एक लाखसम्म बिरुवासम्म छन्।
प्रकाशित: १५ फाल्गुन २०७८ ०३:५८ आइतबार