१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा बहुमुखी क्याम्पसलाई एनएमबी बैंकको ३५ लाख सहयोग

पोखरा–९ नयाँबजारमा निर्माणाधिन पोखरा बहुमुखी क्याम्पसको भवन। तस्बिरः नागरिक

एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।  

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गरेको बैंकले बताएको छ। एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख दुुर्गाराम पूरीका अनुसार सामुदायिक शैक्षिक संस्था भएकोले पनि पोखरा बहुुमुुखी क्याम्पसलाई भवन बनाउन आर्थिक सहयोग गरिएको हो। नाफा नकमाउने शैक्षिक क्षेत्रका लागि बैंकले सीएसआर अन्तर्गत सहयोग गरेको उनले बताए।  

पूरीका अनुसार बैंकले यसअघि पनि शैक्षिक, वातावरण लगायतका क्षेत्रमा वर्षेनी सहयोग गर्दै आएको छ। ‘सामाजिक उत्तरदायित्वको फण्डबाट हामीले सहयोग गरेका हौ। समाजमा प्रभाव पार्ने खालका काममा सहयोग गर्छाै,’ पूरीले भने, ‘बैंकले कमाएको मुनाफा समाजमा पनि बाढ्नुपर्छ भनेर यो सहयोग गरेका हौ। आगामि दिनमा पनि यस्तै सहयोग विभिन्न क्षेत्रमा हुनेछ।’  

क्याम्पसले अहिले पोखरा–९ नयाँबजारमा अपांग तथा प्रविधिमैत्री सुविधासम्पन्न भवन बनाइरहेको छ। हाल यो क्याम्पस नयाँबजारमै संचालनमा छ। केहीमहिना भित्र भवन निर्माण सम्पन्न गरि हाल नयाँबजारमा भईरहेका शैक्षिक गतिविधि नयाँ भवनमा सारिने पनि क्याम्पसले बताएको छ। क्याम्पस प्रमुख शिशुकला पराजुलीले पाँचकरोड रुपैयाँ भन्दा बढि लगानीमा सुविधासम्पन्न भवन बनाईरहेको बताईन। उनका अनुसार चार रोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको भवन बनिरहेको छ।

‘हामीले सबैतिरको सहयोगको भरमा क्याम्पस भवन बनाउन थालेका हौ। करिब तीनकरोड रुपैयाँ त विभिन्न दाताबाट सहयोग जुटिसकेको छ,’ पराजुलीले भनिन, ‘व्यक्तिगत र संस्थागत सहयोगको भरमा एउटा सामुदायीक क्याम्पसको भवन तयार हुँदैछ।’

क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायीक क्याम्पसलाई समुदायकै आधार हुने बताए। ‘नाफा नकमाउने शैक्षिक निकाय हो। त्यसैले पनि यसलाई समुदायकै माया र सहयोग चाहिन्छ,’ उनले भने, ‘सबैतिरको सहयोगले यो क्याम्पसको भवनले पूर्णता पाउँदैछ।’ नयाँ भवनमा थप शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिने अध्यक्ष लालचनले बताए।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखरा बहुमुुखी गण्डकी प्रदेशकै पहिलो सामुदायीक क्याम्पस हो। यो क्याम्पस २०४४ सालमा पोखरा–१ टुँडिखेलमा स्थापना भएको थियो। तत्कालिन अवस्थामा शिक्षा क्षेत्रमा बढ्दो रुची र सीमित शैक्षिक संस्थाको कारण विद्यार्थीको चापलाई पृथ्वीनारायण क्याम्पसले थेग्न नसकेपछि यो क्याम्पस संचालन थालिएको हो। ‘सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ तत्कालिन नगरपञ्चायत, उद्योग बाणिज्य संघ, अञ्चलाधीश, समाजसेवी र शिक्षासेवीको पहलमा तत्कालिन अवस्थामा पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायीक क्याम्पसको रुपमा स्थापना गरिएको थियो।  

सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको क्याम्पस २०५९ मा टुँडिखेलबाट पोखरा–९ नयाँबजारमा सरेको थियो। सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ। हाल चारवर्षे बिए र बिबिएसमा यहाँ अध्यापन हुन्छ। क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।  

प्रकाशित: १२ फाल्गुन २०७८ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App