२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्याउका विरुवा बेचेर लाखौँ आम्दानी

जुम्ला चन्दननाथ नगरपालिका ८ का हरीबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउँका विरुवा हुम्ला पठाए। उनले स्याउका विरुवा ट्रकमा नेपालगञ्ज पठाइसके। नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ। हुम्लाका स्थानीयतहको माग अनुसार स्याउ विरुवा पठाएका उनी बताउँछन्।

यही वर्ष रोकायाले बाजुराको बुढिनन्दा गाउँपालिकामा १३ हजार ५ सय विरुवा पठाए। अहिलेसम्म उनको नर्सरीमा रहेको ५० हजार विरुवामा झण्डै २५ हजार विरुवा निर्यात भइसकेको छ। उनले भने,‘स्याउको नर्सरी बनाएर विरुवा हुर्काउन सकेको खण्डमा पैसाको अभाव हुदैन। स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम हो। ’

सरकारी दर अनुसार स्याउ नर्सरी धनिले एक विरुवाको ७७ रुपैयाँमा बेच्नुपर्छ। तर नर्सरी धनिले ग्राहक अनुसार केही कम मुल्यमा पनि विरुवा बेचेको पाइएको छ। उनले भने,‘गुणस्तरीय स्याउ विरुवाको जिल्ला बाहिर अत्यधिक माग छ। जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका विरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ। त्यो विरुवा पनि हामीहरुबाटै जाने गरेको छ।  

हरीबहादुरले बर्षमा झण्डै तीन लाख रुपैयाँको विरुवा बेच्दछन्। उनले भने,‘निरोगी विरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुनेछैन। तर गुणस्तर विरुवा उत्पादनमा जोड दिनुपर्छ। पटक पटक कृषि प्राविधिकको परामर्श आवश्यक पर्छ। स्याउ विरुवा प्रयाप्त लगाउने हो भने विदेश जानु पर्दैन। ’

उनले सामाजिक संघ संस्था र स्थानीयतहले विदेशी जातको स्याउ भित्र्याउन थालेपछि स्थानीय जातको स्याउ लोप हुने होकी भन्ने चिन्ता लागेको बताए। हरीबहादुरले आधिकारिकरुपमा सिर्जनशिल स्याउ नर्सरी फारम खोलेर व्यवसायिकरुपमा स्याउका विरुवा बेचिरहेका छन्। स्याउ विरुवा बेच्ने हरीबहादुर एक उदाहरण मात्र हुन्। उनी जस्तै सयौँ किसानले नर्सरी सञ्चालनमा ल्याएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार स्याउका विरुवा बाहिर जिल्ला निर्यात गर्न थालिसकेका छन्।

यहाँको विरुवा  बझाङ, बाजुरा, दैलेख, अछामा, अर्घाखाँची, हुम्ला‚ कालीकोट,मुगु र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाको बागवानी शाखाकी प्रमुख सुष्मा बुढाले बताइन्।   यहाँ उत्पादित स्याउका विरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारीस दिने गरेको बताउँदै उनले हालसम्म  ४९ हजार स्याउ र ओखरका विरुवा निर्यात भएको जानकारी दिइन्। 

अहिले  नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन्। जुम्लामा १५५ स्याउ नर्सरी कृषि विकास कार्यालयमा दर्ता छन्।  यहाँ नर्सरीमा न्युनतम १० हजार देखि एक लाख विरुवा सम्म छन्। उनले भनिन्,‘यहाँ स्याउका विरुवा प्रयाप्त छन्। देशविदेश जहाँ माग भएपनि पुर्याउन सकिने अवस्था छ। स्याउको विरुवाको अभाव छैन।’

प्रकाशित: ९ फाल्गुन २०७८ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App