५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/०७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रूपैयाँ नाफा कमाएको छ।

प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/०७८ मा ६ अर्ब १८ करोड नाफा थियो। चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।

यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ। आव २०७२ /०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको बृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आय वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए।

कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो।’

‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं,’ घिसिङले भने।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रूपैयाँ खर्च गरेको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ। प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रूपैयाँ पुगेको छ। नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रूपैयाँ छ

प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्व ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ। तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ।

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

आघिल्लो वर्षहरूको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युत् आयातको परिमाण घटेको छ। गत आवमा ३१ करोड ६० लाख रूपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रूपैयाँको विद्युत् निर्यात गरिएको छ। ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ।

आव २०७६÷०७७ मा १३ अर्ब ४२ करोड रूपैयाँको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रूपैयाँ पुगेको थियो। तर चालु आवको ६ महिनामा २ अर्ब ५८ करोड रूपैयाँको मात्र विद्युत् आयात भएको छ। माघ, फागुनमा आयात केही बढ्ने भए तापनि यस वर्ष १० अर्ब रूपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए। यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ। 

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्यो

चालु आवको ६ महिनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट गत आवमा प्रणालीको १७.१८ प्रतिशत चुहावट चालु आवको ६ महिनामा २.७३ प्रतिशत बिन्दुले घटेर १४.४५ प्रतिशत सीमित भएको छ।

विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो। प्रणाालीमा हुने चुहावमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ। यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ। 

चुहावट घटेकोले आम्दानी बढ्दा त्यसको परिणामस्वरूप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताए। घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए।

प्रकाशित: ९ फाल्गुन २०७८ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App