१७ मंसिर २०७९ शनिबार
अर्थ

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन।

‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको थिएँ,’ साउदी उड्नुअघि उनको गुनासो थियो, ‘तर जति पहल गर्दा पनि स्वदेशमा गुजारा चलाउने उपाय फेला परेन।’

स्वदेशमा कृषि लगायतका घरेलु उद्योग गर्न मन हुँदाहुँदै आर्थिक स्रोत जुट्न नसक्दा सफल हुन नसकेको उनको भनाइ थियो। उद्यम गर्नका लागि उनले सहुलियत कर्जा पाउन पहल गरे पनि बैंकले नपत्याएको समेत गुनासो गरे। 

चार वर्षसम्म कतारमा बसेर सात महिनाअघि घर फर्केका झापा, विर्तामोडका हरि लामा पनि केही दिनअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गए। जसरी वैदेशिक रोजगारीमा जान लामा यसअघि उत्साही थिए। यसपालि त्यस्तो नलागेको उनको भनाइ छ। उनका अनुसार यसपटक बाध्यताले वैदेशिक रोजगारीमा जानु परेको हो।

‘चारचार वर्ष वैदेशिक रोजगारीमा बिताएपछि अब गाउँघरमै केही काम गर्ने सोच थियो,’ उनले भने, ‘त्यसका लागि अनेक सम्भावना पनि खोजेको हुँ,’ उड्नुअघि उनले नागरिकसँग गुनासो गरे, ‘सबै अवस्था हेर्दा पुनः वैदेशिक रोजगारीमा नगए छोराछोरीको विद्यालय शुल्क र अन्य दैनिक खर्च जुटाउने अवस्था देखा परेन।’

कोरोना महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट तीव्र रूपले फैलँदासमेत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएन। पहिलो र दोस्रो लहरको महामारीको बेला वैदेशिक रोजगारीमा जाने क्रममा केही कमी आए पनि तेस्रो लहरको बेला भने खासै असर नगरेको पाइएको छ।

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्। वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आइरहेको मानव अधिकारका लागि जनमञ्चका सल्लाहकार तथा श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल अब पनि वैदेशिक रोजगारीलाई गुणस्तरीय बनाउन नसक्ने हो भने यस्ता समस्या आइरहने बताउँछन्।

‘एकातिर स्वदेशमै सम्भावना खोजेर बाध्यताको वैदेशिक अन्त्य गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउन उत्तिकै जरूरी छ,’ उनले भने। वैदेशिक रोजगार विभागका अनुसार केही महिनादेखि वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ। विभागका अनुसार मंसिरमा करिब ७४ हजार वैदेशिक रोजगारीमा गएका थिए भने पुसमा उक्त संख्या ६६ हजार बढी रह्यो।

कोरोना महामारी सुरु भएयता वैदेशिक रोजगारीबाट फर्किएका करिब ६ लाखमध्ये धेरैले स्वदेशमा कुनै न कुनै काम गर्न खोजे पनि त्यस्तो अवसर नपाउँदा पुनः वैदेशिक रोजगारीमा जानु परेको बताइन्छ। कतिपयले परिवार पाल्नकै लागि वैदेशिक रोजगारीमा जानु परेको बाध्यता सुनाएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसी) का अनुसार कोरोनाका कारण गत वर्ष रोजगारी गुमाएर ६१ देशबाट पाँच लाख ९० हजार तीन सय ४५ नेपाली स्वदेश फर्किएका थिए। उनीहरू कोरोनाका कारण समस्यामा परेर तथा रोजगारी गुमाएर फर्किएको सरकारी अधिकारीहरू बताउँछन्।

कोरोना सुरुभएपछि सबभन्दा बढी युएईबाट एक लाख ६० हजार बढी नेपाली स्वदेश फर्किएको सिसिएमसीले जनाएको छ। त्यस्तै कतारबाट डेढ लाख स्वदेश फर्किएका छन्।

मलेसियाबाट ६२ हजार, साउदीबाट ५७ हजार, कुवेतबाट ३१ हजार टर्कीबाट २२ हजार कोरोनाका कारण घर फर्किएका छन्। त्यस्तै, जापानबाट १४ हजार, ओमानबाट सात हजार, सिंगापुरबाट सात हजार, दक्षिण कोरियाबाट चार हजार स्वदेश फर्किएका छन्। विभागका अनुसार रोजगारी गुमाएर फर्किएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा चालु आर्थिक वर्षको ६ महिनामा दुई लाख १० हजारभन्दा धेरै नेपाली विदेशिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने दायित्व आफ्नो भन्दा पनि उद्योग, अर्थजस्ता मन्त्रालयको हुने दावी गर्छन्। ‘हामी पनि वैदेशिक रोजगारी नभई आन्तरिक रोजगारीले बढ्वा पाओस् भन्ने चाहन्छौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसका लागि सबैको सामूहिक पहल र गाम्भिर्यता जरूरी छ।’

नयाँ श्रम स्वीकृति दुई वर्षपछिकै उच्च

विभागकमा अनुसार मंसिर र पुसमा नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो दुई वर्षयताकै उच्च हो। पुसमा करिब ३६ हजारले नयाँ श्रम स्वीकृति लिई रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका छन्। नयाँ श्रम स्वीकृति लिनेमा ३३ हजार ७६ पुरुष र दुई हजार नौ सय १७ महिला छन्।

पुनः श्रम स्वीकृति लिएकालाई समेत जोड्ने हो भने पुसमा कुल ६६ हजार ६ सय २५ वैदेशिक रोजगारीमा गएका छन्। जसमा महिलाको संख्या चार हजार ३ सय ५२ छ।

यसअघि अर्थात मंसिरमा ३४ हजार ४ सय ९७ ले नयाँ श्रम स्वीकृति लिएका छन्। मंसिरमा नयाँ र पुराना गरी ७४ हजार तीन सय ५४ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको बाटो तताएको विभागले जनाएको छ।

त्यस्तै कात्तिकमा नयाँ र पुनः गरी ५४ हजार नौ सय १८, असोजमा ३९ हजार ६ सय ७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार चार सय २८ ले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जान भारतबाहेकका मुलुकका लागि श्रम स्वीकृति अनिवार्य छ। केही समययता भिजिट भिसामा गएर उतै काम गर्ने धन्दा मौलाएपछि सरकारले दुई साताअघि भिजिट भिसामा कडाइ गर्ने निर्णय गरेको छ।

विदेश जानेमा सबैभन्दा धेरैजसो अदक्ष कामदार

वैदेशिक रोजगारीलाई प्रभावकारी, दक्ष, मर्यादित बनाउने चर्चा हुने गरे पनि पछिल्लो समयमा बिदेसिएका अधिकांश अदक्ष कामदार हुन्। पुसमा करिब ६६ हजार श्रमिक वैदेशिक रोजगारीमा गएकोमध्ये ५० प्रतिशत बढी अदक्ष कामदार रहेको विभागका तथ्यांकमा उल्लेख छ। त्यस महिना ३४ हजार अदक्ष कामदार बिदेसिएको विभागले जनाएको छ।

विदेशबाट फर्कनेलाई समेट्ने कार्यक्रममा ढिलाइ

विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्षित गरी सुरु गर्ने भनिएको पुनर्एकीकरण कार्यक्रम साढे एक वर्षभन्दा बढीदेखि अलपत्र परेको छ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमै उद्यमी बनाउन वा रोजगारीका अन्य अवसर सिर्जना गर्नका लागि लामो समयदेखि पुनर्एकीकरणका कार्यक्रम आवश्यक परेको माग हुँदै आएको थियो। श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लोपटक मंसिरमा पुनर्एकीकरणका कार्यक्रम चाँडै ल्याउने बताएका थिए। त्यसअघिका मन्त्रीहरूले धारणा पनि त्यस्तै थियो। पुनर्एकीकरण कार्यक्रमको तयारी सुरु गरिएयता मन्त्रालयमा चार मन्त्री फेरिएका छन्।

मन्त्रालयका अधिकारीहरू भने पुनर्एकीकरण निर्देशिका अर्थ मन्त्रालयबाट स्वीकृत भएर रायका लागि कानुन मन्त्रालयमा पुगेको बताउँछन्। विज्ञहरूले वैदेशिक रोजगारीलाई मात्र प्रवद्र्धन गर्दा दीर्घकालमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै आएका छन्। वैदेशिक रोजगारीलाई बर्खे खोलासँग तुलना गर्ने विज्ञहरूले युवाशक्तिलाई उत्पादनमूलक काममा लगाउन आवश्यक रहेको जोड दिने गरेका छन्। तर यतिखेर स्वदेशमा रोजगारीका अवसर नहुँदा र स्वदेशमै उद्यमशीलता गर्ने वातावरण बन्न नसक्दा केही गर्न चाहने पनि वैदेशिक रोजगारीमा जान बाध्य छन्।

पछिल्लो समयमा ठूलो संख्याका युवायुवती वैदेशिक रोजगारीमा जाँदा खेतीयोग्य जमिन बाँझै हुन पुगेका छन्। सन् १९८० सम्म विभिन्न मुलुकमा धान निर्यात गर्ने नेपालले यतिखेर ठूलो परिमाणमा धान आयात गर्ने गरेको छ। त्यस्तै ताजा तरकारीदेखि फलफूल र स्वदेशमा उत्पादन गर्न सकिने अन्य खाद्य पदार्थ पनि विदेशबाट आयात हुने गरेको छ। आयात बढ्दै जाँदा बर्सेनि व्यापार घाटा बढेको छ।

पुनर्एकीकरणका लागि सुरुमा वैदेशिक रोजगार बोर्डले कार्यविधि बनाएको थियो। बोर्डले कार्यविधि तयार पारेर स्वीकृतिका लागि मन्त्रालयमा पठाएपनि मन्त्रालयले अपुग ठानेपछि सबैलाई समेट्ने गरी निर्देशिका बनाउन आवश्यक ठानेको हो।

विदेशमा रोजगारी गुमाएर फर्केकालाई स्वदेशमा रोजगारी नदिए वा स्वरोजगारमूलक कार्यक्रममा समेट्न नसके समस्याले विकराल रूप लिने धेरैले आशंका गर्दै आएका छन्। राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकायले केही समयअघि गरेको अध्ययनमा वैदेशिक रोजगारीबाट करिब १० लाख युवा फर्कने सम्भावना देखिएको छ। विज्ञहरूले विदेशको रोजगारीबाट घर फर्किएकालाई काम दिन नसके अर्थतन्त्र झनै समस्यामा पर्ने बताउँदै आएका छन्।

प्रकाशित: १ फाल्गुन २०७८ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App