नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ। विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिंङमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो। यस क्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरुसँंग नेपालमा यसबारे छलफल गरेका छन्। नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुई जना प्रतिनिधिहरुसँंग लगानीकर्ताले यसबारे छलफल गरेका हुन्।
गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालि यसको उत्पादनका लागि तयारी थालिएको हो। चीनबाट आएका प्रतिनिधिमण्डलले गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवाललगायतका प्रतिनिधिहरुसँंग यसबारे छलफल गरेका हुन्। सिमेन्ट बोर्ड उत्पादन गर्ने कारखाना खोल्नका लागि यसअघि नै प्रक्रिया सुरु गरिसकेको जनाइएको छ। यसका लागि काठमाडौं उपत्यका बाहिर चाहिने पाँंच विघा जग्गासमेत खरिद भइसकेको जनाइएको छ।
गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने जनाए। स्वदेशीमै उत्पादित सिमेन्ट, सिलिकायुक्त ढुंगा अथवा वालुवा र पल्प पेपर यसको कच्चा पदार्थको रुपमा रहने उनको भनाइ थियो। ‘यसमध्ये पल्प पेपर मात्रै विदेशबाट आयात गर्नुपर्ने हुन्छ,’ प्रालिका अध्यक्ष इन्जिनियर दुवालले नागरिकसँंग भने, ‘सिलिकायुक्त वालुवा ढुंगाको लागि नेपालका विभिन्न खानीबाट नमूना लिई चीनमा पठाएर जाँंच गराइ स्वीकृति समेत भइसकेको छ।’ यसका लागि आवश्यक बजार अनुसन्धानसमेत भइसकेको दुवालले जनाए।
यस्तो खाले सिमेन्ट बोर्ड उत्पादनको यो पहिलो कम्पनी हुने जनाइएको छ। उनका अनुसार हाल नेपालमा प्रयोग हुने सिमेन्ट बोर्ड सवै विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमा वार्षिक करिब ८० करोडको हाराहारीमा सिमेन्ट बोर्डहरु भारत, चीन, बैंककलगायतका देशहरुबाट आयात भइराखेको जनाइएको छ।
सिमेन्ट बोर्डको लम्वाई चार फिट, चौडाई आठ फिट र मोटाई ४ दशमलब पाँंच मिलिमिटरदेखि २२ मिलिमिटसम्म हुने जनाइएको छ। विशेष रुपमा बनाइने सिमेन्ट बोर्ड लचकदार भई मोटाई कम भए पनि नभाँंचिने जनाइएको छ।
यसको प्रयोग विशेष गरी घरको भित्ता र सिलिंग सजावटमा प्रयोग गरिने गरिन्छ। यसका साथै फर्निचर, मोडुलर किचेन बनाउन पनि यसको प्रयोग हुने गर्दछ। साथसाथै इको प्यानल (स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) बनाउन पनि यसको प्रयोग हुन्छ। यसको प्रयोग नेपालमा भूकम्प पश्चात अस्थायी टहराहरुमा भित्ताको रुपमासमेत बढी प्रयोग भएको देखिएको थियो।
यो अग्नि नियन्त्रक हुन्छ। घरमा आगलागी भए यो नबल्ने भएकाले यसको प्रयोगबाट घर आगलागीबाट सुरक्षित हुन सहयोग हुनेसमेत जनाइएको छ। कारखाना खोल्नका लागि करिब एक सय करोडको लगानी लाग्ने अनुमान गरिएको छ।
प्रकाशित: २९ माघ २०७८ १५:५७ शनिबार