६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगा नगरपालिकाले खोल्यो भूमि आयोग

नगर आयोगको कार्याय उद्घाटन गर्दै आयोग अध्यक्ष तामाङ तथा मेयर उपमेयर चौधरीद्वय । तस्बिर: महेश्वर

सदरमुकामको त्रियुगा नगरपालिकाले नगरस्तरीय ‘राष्ट्रिय भूमि आयोग’ कार्यालय स्थापना गरेको छ । केन्द्रीय आयोग गठन भई गत साता जिल्ला आयोगको कार्यालय खुलेसँगै नगरभित्रको भूमिसम्बन्धी काम गर्न नगरपालिकाले औपचारिकरुपमा आयोग कार्यालय खोलेको हो।

पुरानो गाईघाटस्थित वडा नं. १२ को कार्यालय भवनको पहिलो तलामा खोलिएको कार्यालयको उद्घाटन बुधबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तमाङ, नगरप्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्तरुपमा उद्घाटन गरे।  

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले नगरपालिकाले आयोग कार्यालय भर्खर खोले पनि भूमिहीन तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीको जमिन व्यवस्थापन गर्ने कार्य भने ३ वर्षअघिदेखि नै भईरहेको बताए । मेयर चौधरीका अनुसार नगरपालिकाले ३ वर्षअघि नै सोही भवनमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने नगरबासीको दीर्घकालीन समाधान गर्ने उदेश्यले काम गर्दै आएको बताए ।  

‘त्रियुगा नगरपालिकाले ३ वर्षअघि ०७६ सालबाटै ऐलानी तथा अव्यवस्थित जमिनमा बसोबास गर्ने नगरबासी र भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्न कार्यविधि नै पास गरेर काम गरिरहेको छ’ मेयर चौधरीले भने ‘त्यसबेलादेखि नै हामीले कार्यालय खोलेरै भूमि व्यवस्थापनको काम थालेको र अव त्यो सबै काम आयोगले गर्नेछ।’

नगरपालिकाका हरेक वडामा अहिले ऐलानी र अव्यवस्थित जमिनको नापजाँच र बिबरण संकलन कार्य भईरहेको भन्दै मेयर चौधरीले अब छिट्टै पुर्जा बितरणको कामतर्फ लाग्ने बताए। त्रियुगा नगरले अव्यवस्थित जमिनको छिट्टै समाधान गर्ने आश्वासन दिदै उनले वर्षौँदेखि चासभोग गर्दै आएको जमिनको स्वामित्व नगरबासीलाई दिलाउने प्रतिबद्धता जनाए।  

राष्ट्रिय भूमि आयोग उदयपरका अध्यक्ष तामाङले नगरपालिकाले अहिलेसम्म गरेको भूमिसम्बन्धी कामहरुको अपनत्व ग्रहण गर्ने बताए। उनले जिल्लाको भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि जिल्ला आयोगले तदारुक्ताका साथ काम थालिसकेको बताउँदै यथासिघ्र पुर्जा बितरणको कामतर्फ लाग्ने प्रतिबद्धता जनाए।  

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, नगरपालिका सामाजिक विकास शाखा संयोजक तथा १६ नं. वडाध्यक्ष मानवहादुर राई, १२ नं वडाध्यक्ष जयबिक्रम राईलगायतको सहभागिता थियो।

प्रकाशित: २६ माघ २०७८ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App