४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

गुन्द्रुक पनि महँगो!

महंगीले बजारमा हरेक बस्तुको मूल्य आकाशिएको छ। यसबाट गुन्द्रुक समेत अछुतो रहेन। ‘गरिवको तरकारी’ भनेर चिनिने अमिलो गुन्द्रुक यति बेला ‘धनिलो’ तरकारी बन्न पुगेको छ। काठमाडौका होटल रेष्टुरेन्टदेखि विदेशिएका नेपालीको भान्सासम्म गुन्द्रुक पाक्न थालेपछि यसको व्यापार आकाशिएको छ।

यति बेला बजारमा थरिथरिका गुन्द्रुक खुल्ला तथा प्याक गरेर बेच्न  राखिएको पाइन्छ। अन्य सागको गुन्द्रुकको तुलनामा रायो र तोरीको गुन्द्रुकको माग बढेको पसलेहरु बताउँछन्। ‘तोरीको गुन्द्रुक प्रतिकेजी ८ सयको हाराहारीमा बिक्छ,’ असनकी पसले लक्ष्मी प्रजापति भन्छिन्, ‘ कोरोना र लकडाउनका कारण सागको मूल्य बढेपछि गुन्द्रुकको भाउ पनि बढेका हो।’

बजारमा रायोको त गुन्द्रुक किलोको ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। गुन्द्रुक खुल्लारुपमा मात्र हैन प्याकेजिङग गरेर समेत आउन थालेकोले पनि यसको भाउ थप बढेको देखिन्छ।

राजधानीमा रहेका थकाली होटलको खानामा गुन्द्रुक अनिवार्य रहने गर्छ। त्यसैगरी नेवारी खाजामा पनि यो अचारको रुपमा प्रयोग हुने गरेको छ।  

उपत्यकाका ग्रामीण क्षेत्रसंगै तराईका विभिन्न भागबाट समेत गुन्द्रुक आउन थालेको प्रजापतिले सुनाइन्। 

बद्रीमाया मानन्धर पनि गुन्द्रुकको भाउ निकै बढेको सुनाउँछिन्। ‘पहिला पहिला गुन्द्रुक भनेपछि नाक खुम्चाउँथे,’ माछाका सुकुटी समेत राखेकी उनले भनिन्, ‘अहिले पहिलो रोजाइनै गुन्द्रुक बन्न थालेको छ।’

बजारमा गुन्द्रुकको माग बढेसंगै यो उत्पादन गर्ने उद्योग समेत खुल्न थालेका छन्। नेपाल मस्यौरा उद्योगकी कमला नेपाल पछिल्लो समय  विदेशमा गुन्द्रुक जाने क्रम पनि बढेको सुनाउँछिन्।

कसरी तयार पार्ने त गुन्द्रुक?

गुन्द्रुक प्रायः रायो, तोरी, मुला र काउलीको साग घाममा ओइलाएर तयार पारिन्छ। सुकेपछि सागलाई ओखलमा पिसेर हावा नपस्ने भाडामा कसेर सुकाइन्छ। केही घाम सुकेपछि यो अमिलो हुन्छ। फेरि घाममा सुकाएपछि यो तयार हुन्छ।

प्रकाशित: ११ माघ २०७८ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App