८ वैशाख २०८१ शनिबार
अर्थ

गाईघाट दिक्तेल सडकः ठेक्का लागेको ५ वर्षसम्म कालोपत्रे सुरु भएन

फोक्सिन्टार–राजापानी खण्डको भँडारेघाटमा ग्रावेल गर्न थुपारिएको गिटी बालुवा जंगलमा परिणत भईसकेको अवस्थामा। तस्बिरः महेश्वर

उदयपुरलाई छिमेकी जिल्ला खोटाङसँग जोड्ने सगरमाथा लोकमार्गका ठेकेदार कारबाहीमा परेका छन्। सडक कालोपत्रे गर्ने जिम्मा लिएको ५ वर्षसम्म पनि काम गर्न नसकेपछि गाईघाट–दिक्तेल सकडअन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर खण्ड कालोपत्रे नगर्ने भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवी कारबाहीमा परेका हुन्।

भारत/सिद्धि शाहीले खोटाङको महुरेदेखि राजापानीसम्मको २२ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो। २०७३ असार ३० गते ४१ करोड ५० लाख लागतमा ४ वर्षमा अर्थात ०७७ असार २९ गतेभित्र सक्नेगरी सम्झौता गरेकोमा हालसम्म कालोपत्रेको काम सुरुसम्म नगरेको पाइएको छ। उसले भर्खर ४१ प्रतिशत प्रगति गरेको जनाएको छ।  

त्यस्तै राजापानीदेखि फोक्सिन्टारसम्म २६ किलोमिटर कालोपत्रे गर्ने ठेक्का लिएको देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवीले पनि हालसम्म कालोपत्रेको काम सुरु गर्न सकेको छैन। मैनाचुलीले ०७३ साउन ११ गते ५५ करोड ८७ लाखमा काम सक्नेगरी ठेक्का सम्झौता गरेको थियो। ४ वर्ष अर्थात ०७७ साउन ११ गतेभित्र कालोपत्रे गरिसकेर हस्तान्तरण गर्नपर्ने सम्झौता गरेको भर्खर ६० प्रतिशत प्रगति गरेको छ। तर, अहिलेसम्म कालोपत्रेको काम भने सुरु गर्नै बाँकी छ।  

कोभिड महामारीका कारण काम गर्न नसकेको जनाएपछि सरकारले ०७८ असार मसान्तसम्म म्याद थपेको थियो। तर, थपिएको म्याद पनि गुज्रिसक्दासम्म कालोपत्रेको काम नथालेपछि दुवै ठेकेदार कम्पनीलाई कारबाही गर्नुपरेको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ। योजना प्रमुख (डिई) गोपाल खकुरेलले कारबाहीस्वरुप दुवै कम्पनीलाई योजना सञ्चालन (मोबिलाईजेसन)वापत दिइएको पेश्की रकम फिर्ता गराएको बताए। उनका अनुसार सो रकमको व्याजसमेत असुल उपर गराइएको छ।  

दुवै कम्पनी प्रत्येकलाई ४ करोड ७२ लाखका दरले मोविलाईजेसनवापत निकासा दिइएको रकम फिर्ता लिइएको छ भने सोको वार्षिक १० प्रतिशतका दरले हुन आउने व्याज ६७ लाखका दरले असुल गरिएको डिई खकुरेलले बताए। उनका अनुसार सडकको काम छिटो अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गर्ने काम भईरहेको छ। दुई जिल्लालाई जोड्ने मुख्य सडक भएकाले सगरमाथा लोकमार्ग धेरै महत्वपूर्ण छ। तर, निर्माण कम्पनीको लापरबाहीका कारण ५ वर्ष बित्दासम्म सडक नबन्दा निरन्तर यातायात सञ्चालनमा समस्या आएको छ।

डिई खकुरेलले पटक पटक सचेत गराउँदा काम नभएपछि चेतावनीस्वरुप मोविलाईजेसन रकम फिर्ता गराएको बताएका छन्। उनले अझै अटेर गरे ठेक्का सम्झौता तोडेर कालो सूचीमा राख्नेसम्मको कारबाही हुनसक्ने संकेत गरे। ‘हामीले धेरै पटक आग्रह र अनुरोध गर्दै काम अघि बढाउन ठेकेदारलाई भनिरह्यौँ। तर, ठेकेदार कम्पनीले बेवास्ता गरिरहे’, खकुरेलले भने, ‘५ वर्षसम्म कालोपत्रे सुरु नभएपछि मोविलाईजेसनवापतको रकम व्याजसहित असुल गरिएको हो। अझै लापरबाही कायम राखे ठेक्का तोडेर कालो सूचीमा नाम निकाल्नेसम्मको कारबाही हुनसक्छ।’  

डिई खकुरेलले सडक चाँडो बनाउन प्रशासन, जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज र सरोकारवाला व्यक्तिनिकाय सबैले चासो दिनुपर्नेमा जोड दिए। योजना कार्यालयले मात्र ताकेता गर्दा ठेकेदारले वास्तै नगरेको भन्दै उनले सार्वजनिक चासोको विषयमा लापरबाही गर्ने निर्माण कम्पनीलाई सचेत गराउन सरोकारवाला निकाय र व्यक्तिहरु सबैको ध्यान जानुपर्ने बताए।  

गाईघाटदेखि १ सय १९ किलोमिटर दूरीको दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको उदयपुर खण्ड सुनकोसी फोक्सिन्टारसम्म ५३ किलोमिटर, फोक्सिन्टारदेखि महुरेसम्म ४८ र त्यहाँदेखि दिक्तेल १८ किलोमिटर दूरीमा छ। ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म कालोपत्रे भईसक्नुपर्ने सडक ग्रावेलसम्म हुन सकेको छैन। ग्रावेल गर्न भनेर सडक छेउमा थुपारिएको गिटीबालुवामा रुख विरुवा उम्रेर जंगलजस्तै भईसकेको छ।  

सडकको छेउमा लहरै थुपारिएको गिटी बालुवाले बाटो साँघुरो हुनुका साथै हिउँदमा धुलाम्य र वर्खामा हिलाम्य भएर दुर्घटनाको त्यत्तिकै जोखिम छ। धेरै ठाउँमा सडक चौडा बनाउने रिटेनिङ वाल नै निर्माण हुन बाँकी छ भने खोल्साहरुमा कल्भर्ट बनाउने काम पनि सकिएको छैन। खासगरी वर्षायाममा हिलाम्य सडकले गर्दा दर्जनौँ ठाउँमा दुर्घटना हुने गरेको छ।

फोक्सिन्टारस्थित सुनकोसीमा पक्की पुल निर्माण नभएका कारण हरेक वर्ष हिउँदमा ६ महिना बेलिब्रीज जडान गरेपछि गाईघाट दिक्तेल सोझो यातायात सुरु हुने गरेको छ। वैशाख जेठदेखि भने वर्षाले पानीको सतह बढाउने हुँदा बेलिब्रीज खोल्ने गरिएको छ। बेलिब्रीज चलेसम्म सोझो यातायात चल्ने लोकमार्गमा बेलिब्रीज झिकेपछि गाईघाटबाट गएका गाडीहरु फोक्सिन्टार कोसी वारी र दिक्तेलबाट आएकाहरु पारिसम्म मात्र पुगेर फर्कनुपर्ने हुन्छ।  

सुरु भएको ९ वर्ष बितिसक्दासम्म ३० प्रतिशत मात्र काम भइरहेको छ। पुल बनाउन ढिला भएका कारण वर्षेनि बेलिब्रीज जडान र लगाएर वारिपारि पिल्लर मात्र बनिरहेको छ। आधार पनि बनिसकेको छैन। सडक निर्माण कार्यमा लापरबाही हुँदा उदयपुर सदरमुकाम गाईघादेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म पुग्न यात्रुलाई सकस छ।  

सडक अधुरो हुँदा यातायातका साधन आउजाउ गर्न धेरै कठिनाई रहेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ। केन्द्रका अध्यक्ष ओमभक्त मैनालीका अनुसार सडक निर्माण कार्य ढिला हुँदा व्यवसायीलाई समय र इन्धन बढी लाग्नुका साथै यात्रुलाई भाडा महँगो पर्न जाने समस्या छ। सो रुट भएर दैनिक १ दर्जन यात्रुबाहक बस, दर्जनौँ मालबाहक ट्रक र ट्याक्टर तथा सयौँको संख्यामा मोटरसाईकल र बोलेरो र सुमो जीप आउजाउ गर्ने गरेको मैनालीले बताए।  

सडक निर्माणको काम यति ढिला हुनुको कारणबारे बुझ्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन। सिद्धि शाही जेवीका प्रतिनिधि दीपेन्द्रबहादुर शाही तथा मैनाचुली जेवीका प्रतिनिधि मदन अधिकारीको मोवाइल लागे पनि उठेन।

प्रकाशित: १० माघ २०७८ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App