१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टले एक वर्षमा के-के गर्‍यो?

उदयपुर सिमेन्ट उद्योग लि. जलजले। तस्बिरः महेश्वर

नेपालकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले एक वर्षको प्रगति बिवरण सार्वजनिक गरेको छ। ०७७ माघ ३ गते नयाँ महाप्रवन्धक (जिएम) भएर कार्यभार सम्हाल्न आएका गोपीकृष्ण न्यौपानेको वर्षदिनको कामको फेहरिस्त उद्योगले मंगलबार विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो।

पूर्ण सरकारी स्वामित्वको उद्योगका प्रशासन महाशाखा प्रमुख कमलप्रसा पौडेल र प्रवक्ता लक्ष्मण अर्यालद्वारा जारी विज्ञप्तीमा ०७७ माघदेखि ०७८ पुस मसान्तसम्म क्लिंकर उत्पादन, सिमेन्ट बिक्री परिमाण, बिक्री रकम र राजश्व योगदानजस्ता गतिबिधि सार्वजनिक भएको छ। जस अनुसार वर्षदिनमा उद्योगले १ लाख ४ हजार १ सय ८५ मेट्रिक टन क्लिंकर उत्पादन गरेको तथा १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री गरेको छ। सिमेन्ट बिक्रीबाट १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ उद्योगलाई प्राप्त भएको महाशाखा प्रमुख पौडेलले बताए।

जिएम न्यौपानेका अनुसार उद्योगले यो अवधिमा सिमेन्ट बिक्री गरे वापत नेपाल सरकारलाई झण्डै १० करोड राजश्वसहित २३ करोड हाराहारी वित्तीय योगदान गरेको छ। मूल्य अभिवृद्धि कर (भ्याट) वापत मात्र ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ बुझाएको उद्योगले अन्तःशूल्क वापत ९९ लाख ३८ हजार ८ सय ९६ रुपैयाँ तिरेको छ। त्यसैगरी अग्रिम कर (टिडिएस) तथा अन्य कर वापत उद्योगले ८२ लाख ६९ हजार ३ सय २८ रुपैयाँ बुझाएको छ।

यो अवधिमा उद्योगले विद्युत महसुल भुक्तानी मात्र १३ करोड २४ लाख ६ हजार ५४ रुपैयाँ बुझाएको छ। यसरी विद्युत महसुल तथा भ्याट, अन्तःशूल्क, अग्रिम करलगायत बिभिन्न कर गरी उद्योगले एक वर्षमा २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ राज्यलाई योगदान गरेको जिएम न्यौपानेले बताएका छन्। उनले चालु वर्ष साउनयता हरेक महिना लक्ष्यभन्दा बढी क्लिंकर उत्पादन भईरहेको छ भने बिक्री पनि २१ प्रतिशतसम्म बढी भएको छ।

साउनदेखि पुस मसान्तसम्म ५० हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले २०.८३ प्रतिशत बढी अर्थात ६० हजार ६ सय ५५ टन उत्पादन गर्न सफल भएको छ। त्यस्तै ७ लाख ९९ हजार ९ सय २० बोरा सिमेन्टको लक्ष्य लिएको उद्योगले यो अवधिमा ९ लाख २ सय बोरा सिमेन्ट उत्पादन गरेको छ। यो अंक लक्ष्यभन्दा १२.५४ प्रतिशत बढी हो। बिक्री पनि ८.४१ प्रतिशतले बढेको जिएम न्यौपानेले बताएका छन्।

उद्योगले यसैवर्ष संस्पेन्सन प्रिहिटर पंखा (एसपी फ्यान) खरिद गरेर मौज्दात (स्टक) राखेको छ। विगत वर्षँहरुमा एसपी फ्यान बिग्रँदा लामो समयसम्म क्लिंकर उत्पादनमा बाधा पुगेको अनुभवबाट पाठ सिक्दै २ करोड मूल्यमा खरिद गरेर स्टक राखिएको उनले बताए। यति गरेपछि कुनै पनि बेला एसपी फ्यान बिग्रेमा क्लिंकर उत्पादनमा बाधा नपर्ने निश्कर्ष उद्योगले निकालेको छ। त्यसैगरी यसअघिसम्म प्रतिघण्टा २० मेट्रिक टन क्लिंकर उत्पादन गर्ने मिलको मर्मत गरेपछि अहिले प्रतिघण्टा ४३ मेट्रिक टनसम्म उत्पादन गर्न थालेको छ। जसले विद्युत खपत र समयको बचत भईरहेको छ।

उद्योगको कच्चा पदार्थ पिस्ने रमिलको ३ रोलरमध्ये एउटा वर्षौँदेखि बिग्रेर उत्पादन कम भईरहेकोमा जापानीज प्रविधिको सेलोलाईड भल्व आयात गरेर जडान गरेपछि उत्पादनमा उल्लेख्य प्रगति भएको छ। त्यसैगरी विगतमा कोल यार्डबाट हपरसम्म कोईला लाने बेल्ट कन्भेयर नभएकाले २० प्रतिशतसम्म कोईला खेर गईरहेको हुनाले भित्रसम्म लाने कन्भेयर सिस्टमको निर्माण अन्तिम चरणमा पुगेको छ। सो सिस्टम निर्माणपछि सोझै यार्डबाट हपरसम्म कोईला पुग्ने भएकाले एकरत्ति पनि कोईला खेर नजाने न्यौपानेको दावी छ।

उता कच्चा पदार्थ आपूर्ति गर्दा सप्लायर्सले बैंक भौचर पेश गर्नुपर्ने पुरानो पद्धति झन्झटिलो भएको ठहर गर्दै अहिले सोझै नगद जम्मा गर्दा पनि सिमेन्ट पाउने व्यवस्था मिलाइएको छ।

न्यौपाने महाप्रवन्धक भएर आएलगत्तै उद्योगमा मौज्दात क्लिंकरको भौतिक अवस्था र लेखामा अद्यावधिक अवस्थालाई तुलना गर्दा ३७ हजार ६ सय ४० मेट्रिक टन फरक पाइएपछि वास्तविक्ता पत्ता लगाउन ०७७ पुसमा एक कमिटी गठन गरिएको थियो। सो समितिले पेश गरेको प्रतिवेदन सञ्चालक समितिमा पेश भएर थप अध्ययन भईरहेको छ।

लोडसेडिङको क्रममा डेडिकेटेड फिडरबाट उद्योग आसपासका गाउँलेलाई बाल्न दिइएको विद्युत लोडसेडिङ अन्त्यपछि पनि बालिरहँदा उद्योगलाई ५० लाख घाटा भएकाले ०७७ माघदेखि नै त्यो लाईन हटाएर प्राधिकरणको लाईन जडान गरिएको छ। साथै डेडिकेटेड फिडरवापतको रकम प्राविधिकरलाई पहिले बुझाएको बढी रकमसँग मिलान गरिएको छ।

उद्योगलाई ०७७ पुस मसान्तसम्म ६५ करोड ८२ लाख दायित्व रहेकोमध्ये विद्युत महसुल १८ करोड ५२ लाखबाहेक अन्य दायित्व ३१ करोड ११ लाख भुक्तानी भईसकेको छ। त्यसैगरी १३ करोड राजश्व भुक्तानी बाँकी रहेकोमध्ये ४ करोड बुझाईसकेको प्रवक्ता लक्ष्मण अर्यालले बताएका छन्।

प्रकाशित: ४ माघ २०७८ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App