२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अवैध स्पेयर पार्ट्स आयात बढ्यो

नेपाल–भारत खुला सीमा क्षेत्रबाट अवैध स्पेयर पार्ट्सको आयात ह्वात्तै बढेको छ। नेपालको मुख्य नाकामध्येको सुनौलीबाट अवैध रूपमा गाडीका पार्ट्स भित्रिने गरेको स्रोतले जनाएको छ। यसबाट राज्यलाई ठूलो रकम राजस्व नोक्सानी भइरहेको देखिन्छ।

आधिकारिक रूपमा गाडीमा लाग्ने पार्ट्स भित्र्याउँदा मूल्य अभिवृद्धि कर सहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने हुन्छ। तर ती सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौं रूपैयाँ राजस्व नोक्सान भइरहेको छ।

सम्बधित निकाय मौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गएको स्रोतको दाबी छ। भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरी बसेका जमुना एन्ड सन्सका सञ्चालक सम्बन्धित निकायले चासो नदिँदा दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्ट्स अवैध रूपमा आयात भइरहेको बताउँछन्।

यसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुर्‍याएको उनको दाबी छ। सुरुसुरुमा सीमाआसपास मात्र यस्ता गतिविधि भए पनि हाल आएर यस्तो अवैध आयात रूपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भइसकेको उनी बताउँछन्।

त्यस्तै अर्का अटो पार्ट्स व्यवसायी सुरज रेश्मी मगरका अनुसार सम्बन्धित निकायलाई बारम्बार अधिकारिक रूपमा जानकारी गराए पनि उनीहरू चुप लागेर बसेका छन्।

स्थानीय व्यापारीका अनुसार गाडीधनी स्वयंले सीमापारिका व्यापारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमका सामान सेटिङमा ग्यारेजसम्म खुलेआम ओसारपसार हुने गरेको छ। यसले सरकारको राजस्वमा प्रत्यक्ष असर गरेको छ। अवैध आयातबाट राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारी विस्थापित हुनुपर्ने अवस्था आएको छ।

प्रकाशित: २ माघ २०७८ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App