२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साहसिक पर्यटकका लागि ‘जायन्ट स्वीङ’

बञ्जी, जीपलाइन र स्वीङ एकै ठाउँमा

हेम्जाको स्वीङमा रमाउँदै पाहुना। तस्बिरः सन्तोष/नागरिक

साहसिक गतिविधि रुचाउने पर्यटक लक्षित प्रडक्ट थपिने क्रममा छन्। यसै क्रममा हाइग्राउण्ड एडभेन्चर्स नेपालले जायन्ट स्वीङ भित्र्याएको छ। पिङ खेलेजस्तै अनुभूति दिलाएर पर्यटकलाई रोमाञ्चक बनाउन जायन्ट स्वीङ भित्र्याएको कम्पनिले बताएको छ। नेपालमै पहिलोपटक जायन्ट स्वीङ भित्र्याएको कम्पनिले बताएको छ।  

यही कम्पनिले एकदशक अघि नेपालमै पहिलोपटक जिपलाइन भित्र्याएको थियो। पोखराको सराङकोटबाट हेम्जाको फाँटमा जीपलाइनमा ओर्लिन सकिन्छ। त्यस्तै त्यही कम्पनिले आठ वर्ष अघि पञ्जीजम्प पनि सुरु गरेको थियो। क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नै नेपालको पहिलो टावर बञ्जी रहेको कम्पनिले बताएको छ। त्यही बञ्जीमा अहिले दुईजनाले एकैपटक गर्न मिल्नेगरि टेण्डम सेवा पनि सुरु गरेको छ। त्यस्तै जीपलाइनमा सुपरम्यान जीपलाइन पनि गराउन थालिएको छ।

पछिल्लो समय आन्तरिक पाहुना पनि साहसिक गतिविधिमा रमाउन थालेपछि जायन्ट स्वीङ भित्र्याएको कम्पनिले बताएको छ। कम्पनिका निर्देशक दिनेश महर्जनका अनुसार पछिल्लो समय आन्तरिक पाहुना पनि साहसिक गतिविधिमा रमाउन थालेका छन। त्यही भएर नयाँ प्रडक्ट भित्र्याएको उनले बताए। उनका अनुसार सबैखालका पाहुनाका लागि जायन्ट स्वीङ उपयुक्त हुन्छ। पोखरा भित्रिएका पाहुनाले आफुले छानेको गतिविधिमा रमाउन मिल्नेगरि पूर्वाधार थपेको उनले बताए।  

हाइग्राउण्ड एडभेन्चरको हेम्जास्थित स्टेशनमा अहिले जीपलाइनको बटम स्टेशन, बञ्जी र स्वीङका पूर्वाधार बनाइएको छ। ती सबै प्रडक्ट एउटै पसिरमा संचालित छन्। ‘आठ वर्षदेखि माथिको उमेर समुहका पाहुना जायन्ट स्वीङमा रमाउन पाउँछन। जायन्ट स्वीङको ‘थ्रिल’अनुभव तीनमिनेटमै पुरा हुन्छ। महर्जनका अनुसार ३० मिटर अग्ला फलामे टावर बनाइएको छ। दुईवटा टावरलाई आधार मानेर पाहुना बस्न मिल्ने गरि सिट राखिएको छ। अर्काेपट्टिको अर्काे अग्लो टावरमार्फत सिटका पाहुनाई उठाएर ३० मिटर माथि पुर्‍याएर छाडिन्छ।  

स्वीङमा हुत्तिएका पाहुना जमिनको सतहभन्दा ४० मिटर माथिसम्म हुत्तिन्छन। एकपटकमा एकदेखि तीनजनाले स्वीङ गर्न मिल्ने पनि महर्जनले जानकारी दिए। ‘परिवारका सदस्य र साथीसँग मिलेर पनि खेल्न सकिने भएकोले यो पारिवारिक प्रडक्ट पनि हो,’ उनले भने, ‘निकै नै साहसिक हुन्छ। गाउँमा दसैंंमा खेलिने पिङको जस्तै अनुभव यसमा हुन्छ, तर यसमा भिन्दै थ्रिल हुन्छ। तर, माथिबाट एकाएक तल हुत्तिदाँ भने भिन्दै अनुभव दिलाउँछ।’ जायन्ट स्वीङ गर्दा प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने पनि उनले बताए।

पोखराको हेम्जामा सुरु भएको जायन्ट स्वीङबारे जानकारी दिँदै संचालकहरु। तस्बिरः सन्तोष/नागरिक

साहसिक पर्यटकलाई लक्षित गरि चारजना युवाहरुले यो कम्पनिमा लगानी गरेका छन। शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जन यसका संचालक हुन। अर्का निर्देशक शरद गोल्छाले पोखराका अबको केही समयमा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने र त्यो बेलामा अहिले भन्दा बढी आन्तरिक पाहुना आउने भएकोले पनि जायन्ट स्वीङ थप गरेको जानकारी दिए। ‘कोरोना संक्रमण पछि आन्तरिक पाहुना निकै नै बढेका छन्। आगामि दिनमा विमानस्थल संचालनमा आएपछि थप आन्तरिक पाहुना पोखरा आउनेछन,’ गोल्छाले भने, ‘अरु नयाँ प्रडक्ट पनि थप्ने तयारीमा छौ। किनकी पोखरा अब साहसिक पर्यटकीय गन्तव्य बनिसकेको छ।’

अर्का निर्देशक चुरिवालले केही समय अघि नै जायन्ट स्वीङ थप गर्ने योजना बनाएको भएपनि कोरोना संक्रमणले गर्दा ढिलाई भएको बताए। उनका अनुसार जायन्ट स्वीङमा मात्र अहिले २ करोड रुपैयाँ खर्च भएको छ। ‘बञ्जी तल मुन्टो पारेर हाम फाल्ने हुँदा सबैका लागि उपयुक्त नहुन सक्छ। तर, जायन्ट र जीपलाइन सबैले गर्न सक्ने गतिविधि हुन,’ चुरिवालले भने,‘जायन्ट स्वीङमा ७० वर्ष उमेरसम्मका पाहुना पनि रमाउन सक्छन्।’

पछिल्लो समय आन्तरिक पाहुनाको संख्या बढिरहेकोले पनि कोरोनाको यो अप्ठेरोमा पनि लगानी थपेको चुरिवालले बताए। ‘पोखरा घुम्न आउने जो कोही पाहुना साहसिक प्रडक्टलाई मनमा राखेर आएको हुन्छ। हामीले उनै साहसिक गतिविधिमा रम्न खोज्ने पाहुनाका लागि यो ‘अफर’ ल्याएका हौ,’ उनले भने, ‘नयाँनयाँ केही न केही आकर्षक गतिविधि ल्याउनुपर्छ। पर्यटन उद्योगमा यस्ता गतिविधि आवश्यक पर्छ।’ चुरिवालका लागि हाइग्राउण्डले पोखरामा साहसिक पर्यटकीय गतिविधिका लागि अहिलेसम्म झन्डै २५ करोड रुपैयाँ लगानी गरिसकेको छ। दशक अघि नै ठुलो आकारको लगानी गरेकोले अहिले त्यसको आकार झनै बढ्ने उनले बताए।  

एकै परिसरमा तीनवटा गतिविधिका प्रडक्टमा पाहुना रमाउन सक्ने भएकोले एकीकृत प्याकेज ल्याइएको उनले जानकारी दिए। उनका अनुसार बञ्जी, जीपलाइन र स्वीङ गर्दा पर्यटकले प्रतिव्यक्ति १० हजार रुपैयाँ तिर्नुपर्छ। जीपलाइनको मात्र ५ हजार, बञ्जीको ४५ सय र स्वीङको २ हजार रुपैयाँ पर्ने भएपनि तीनवटै प्रडक्टमा रमाउनेले १० हजार रुपैयाँ बुझाउनपर्ने चुरिवालले बताए।

समुन्द्री सतहको ५ हजार ३२ फिट उचाईको सराङकोट चुचुरोबाट झोला आकारको सिट (ट्रलि)मा बसेर फलामे तारमा झुण्डिदै ३ हजार फिटको हेम्जाफाँटमा ओर्लन सकिने जिपफ्लायर संचालित छ। त्यस्तै बञ्जीमा डाँडाको ठुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाईएको छ। त्यसैबाट ७० मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाईएको पानीपोखरीमाथि झुण्डिएर पर्यटकले मनोरञ्जन लिन सक्छन। ‘अहिले आन्तरिक पर्यटकले पनि हामीलाई साथ दिएका छन। सबैखालका गतिविधिलाई एकैठाउँमा उपलब्ध गराउने हाम्रो योजना हो,’ चुरिवालले भने।  

प्रकाशित: १ माघ २०७८ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App