१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनकोसी–मरिण डाइभर्सनलाई बजेट अभाव हुँदैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई बजेटको अभाव नहुने बताएका छन्। ‘सिन्धुलीमा निर्माण सुरु भएको सुनकोसी–मरिण डाइभर्सनलाई २० अर्ब बजेट स्वीकृत गरेको छु,’ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित तेस्रो मरिण महोत्सव उद्घाटन गर्दै मन्त्री शर्माले भने, ‘कुनै पैसाको अभाव हुन दिँदैनौँ।’

सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम सुचारु गर्न थप २० अर्ब बजेट स्वीकृत गरी सिँचाइ मन्त्रालयमा पठाइसकिएको अर्थमन्त्री शर्माले जनाए। मरिण डाइभर्सनले सिन्धुलीको मरिण क्षेत्रको विकास गर्ने भन्दै पानी वाग्मतीमा मिसाउने परियोजना भए पनि मरिण क्षेत्रको नदी नियन्त्रणका साथै अन्य विकास उक्त परियोजनाले गर्ने मन्त्री शर्माको भनाइ छ।

डाइभर्सनले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्दै सुरुङसहित अन्य संरचनाले पर्यटकीय विकास गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे। सरकारको चालु बजेट ३४ प्रतिशत खर्च भइसकेको जानकारी दिँदै उनले पुँजीगत बजेट कम खर्च भएको बताए। ‘करिब ३/४ खर्बको पुँजीगत बजेट छ,’ उनले भने, ‘त्यो बजेटनै कम खर्च भयो, आजका दिनसम्म आउँदा ९ प्रतिशत खर्च भएको छ।’ उनले पुँजीगत बजेट कम खर्च हुँदा विकास निर्माणमा असर परेको भन्दै त्यसले पनि तरलतामा केही प्रभाव पारेको बताए।

बजेट आफूले नबनाएको र थोरै कोभिडलगायत क्षेत्रमा मात्रै परिमार्जन भएको भन्दै उनले राज्यको स्रोतको समानुपातिक वितरणको आवश्यकता भएको औंल्याए। उनले आवश्यकताका आधारमा सामाजिक न्यायलाई ध्यानमा राखी बजेट वितरणको आवश्यकता स्थानीय स्तरमा देखिएको र आगामी बजेट सोहीअनुसार बन्ने आश्वासन दिए।

यसपटक पनि कोभिडको महामारीमा परेका विपन्न परिवारलाई प्रतिघर १० हजार दिने व्यवस्था गरेर सबै पालिकामा पठाइसकिएको भन्दै उनले द्वन्द्वको समयका घाइते तथा अपांगलाई सहयोग र सम्मान गर्ने कुराको सुरुवात भएको बताए।

प्रकाशित: २४ पुस २०७८ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App