coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा पहिलोपटक केन हार्भेस्टर मेसिनको प्रयोग रौतहटको उखुमा

खेतमा लगाइएको उखुलाई काटेर मेसिनमा लोड गर्ने प्रविधि नेपालमा भित्र्याइएको छ। पहिलोपटक रौतहटमा भित्र्याइएको मेसिनको एउटा खेतमा परीक्षण गरिएको छ।

नेपाली काँग्रेस प्रदेश २ का सभापति कृष्णप्रसाद यादवले बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्री रौतहटद्वारा भित्र्याइएको केन हार्भेस्टर मेसिनको संचालन गरी परीक्षण गरेका छन्। चिनी उद्योगले ९६ लाख भारतीय रुपैयामा केन हार्भेस्टर मेसिन भित्र्याएको हो।

केन हार्भेस्टर मेसिनले प्रतिघन्टा दुई सय क्वीन्टल काटेर लोड गर्ने हुनाले उद्योग र किसान दुवैलाई फाइदा हुने उद्योगपति बैजु बाबराको दाबी छ। किसानलाई उखुको कटिङ, लोडिङ तथा ढुवानीमा गरी कम्तीमा प्रति क्वीन्टल एक सय रुपैयाँ बचत हुने उद्योगी बाबराले दाबी गरेका छन्।

किसानको समयको बचत हुने, लोड गर्दा लाग्ने श्रम पनि जोगिने र जाडो तथा गर्मीमा किसानले धेरै काम गर्नु नपर्ने बताउँदै उद्योगपति बाबराले किसानको लागतमा प्रति क्वीन्टल सय रुपैयाँ बचत हुनु आफैँमा राम्रो भएको बताए। साथै उद्योगले पनि ताजा उखु पाउने र समयमै उद्योगमा उखु पुग्ने भएकोले उद्योगलाई पनि फाइदा हुने उद्योगपति बाबराको भनाइ छ।

मेसिनको औपचारिक रुपमा संचालन गर्दै प्रदेश अध्यक्ष यादवले उद्योगले किसानको हकहितको लागि काम गर्दा अन्ततः उद्योगलाई नै फाइदा हुने बताउँदै कृषिमा आधुनिकीकरण गर्नु आवश्यक रहेको बताएका छन्। कृषिमा प्रविधिको प्रयोगले कृषिलाई व्यावसायीकरण बनाउने बताउँदै यादवले कृषकको लागत कम गर्ने दिशामा भएको आधुनिकीकरणले देशलाई कृषिमा आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने बताएका छन्।

अन्य चिनी उद्योगले किसानसित विगतमा किनेको उखुको मूल्य भुक्तानी हुन नसकेको गुनासो आएको तर बाबा बैजुनाथ सुगर मिल्सले विगतका वर्षहरुमा किसानसित किनेको उखुको भुक्तानी हरेक वर्ष निर्धारित समयमै गर्दै आएको दाबी गरेको छ।

रौतहटमा पहिलोचोटि गरिएको केन हार्भेस्टर मेसिनको प्रयोग आउँदा दिनमा अन्य उद्योगले पनि गर्दै जाने विश्वास उद्योगले लिएको छ।

प्रकाशित: २३ पुस २०७८ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App