३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से २६ सयमाथि, सोमबार ३२ बिन्दुले बढ्यो

केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।

साताको पहिलो दिन आइतबार ६० बिन्दुले बढेको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक सोमबार पनि ३२ बिन्दुले बढेको छ। गत साताका पछिल्ला दिनमा पनि सेयर कारोबार बढेको थियो। सोमबारको बढोत्तरीपछि नेप्से परिसूचकले २६ सयको बिन्दु पार गरेको छ। नेप्से २६१६.९४ बिन्दुमा पुगेको हो। यो १.२४ प्रतिशतको वृद्धि हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार बजार खुल्नेबित्तिकै सेयर खरिद गर्ने लगानीकर्ताको चासो बढेको देखिएको थियो। सेयर किनबेच गर्ने चार घन्टाको समयमा खरिद–बिक्रीमा केही उतारचढाव आए पनि बजार बन्द हुँदा नेप्सेमा ३२ बिन्दुको बढोत्तरी भएको थियो।

एक्सचेन्जका अनुसार सोमबार २ सय ३० कम्पनीका ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच भएको छ। यो सेयर खरिद गर्न ४ अर्ब ५३ करोड ३० लाख रूपैयाँ लगानी गरिएको छ। यो संख्यामा सेयर खरिदबिक्री हुन ५४ हजार ५ सय ५ पटक कारोबार भएको थियो। एक्सचेन्जका अनुसार आइतबार ४ अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। यसमा २ सय ४० कम्पनीका ७१ लाख ६० हजार सेयर किनबेच भएका थिए।

सोमबार कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये अधिकांशको मूल्य बढेको छ भने केहीको घटेको छ। त्यसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहमा ०.०३ प्रतिशतले गिरावट देखिएको छ।

एक्सचेन्जका अनुसार १३ वटा उपसमूहमध्ये सबैभन्दा बढी व्यापार उपसमूहको परिसूचक बढेको छ। यो उपसमूह ७.०४ प्रतिशतले बढेको हो। दोस्रो धेरै बढ्नेमा लघुवित्त उपसमूह २.८८ प्रतिशतले छ भने वित्त उपसमूहको परिसूचक २.०५ प्रतिशतले बढेको छ। यसपछि धेरै बढ्ने उपसमूहमा लगानी, विकास बैंक, वाणिज्य बैंक र सामूहिक लगानी कोष देखिएका छन्।

एक्सचेन्जका अनुसार लगानी उपसमूह १.८७ प्रतिशतले र विकास बैंक उपसमूह १.६८ प्रतिशतले बढेका छन्। यस्तै वाणिज्य बैंक उपसमूह १.४६ प्रतिशतले र सामूहिक लागनी कोष उपसमूह १. २० प्रतिशतले बढेका छन्। सेयर कारोबारका आधारमा हिमालयन डिस्टिलरी पहिलो स्थानमा रहेको छ। यो कम्पनीको २८ करोड ४४ लाख अधिकको कारोबार भएको छ। सर्वाधिक कारोबार हुनेमा अर्को कम्पनी अपि पावर रहेको छ। अपि पावरको १८ करोड २९ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। अपि पावरको सेयर मूल्य ०.४३ प्रतिशतले बढेको हो।

एक्सचेन्जका अनुसार सोमबार सर्वाधिक कमाउने कम्पनीमा मध्य भोटेकोसीका लगानीकर्ता परेका छन्। भोटेकोसीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी गुराँस लघुवित्तका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका छन्। एनआइसी एसियाका लगानीकर्ताले ८ प्रतिशतभन्दा धेरै दरले कमाएका छन्।

आइतबार सबैभन्दा धेरै हिमालय डिस्टिलरीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो। सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्नेमा मध्य भोटेकोसी र सूर्या लाइफ इन्स्योरेन्स थिए। मध्य भोटेकोसीको सेयर मूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशतले बढेको थियो। आइतबार सबैभन्दा धेरै हिमालय डिस्टिलरीको सेयर कारोबार भएको थियो। यो कम्पनीको ४४ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो।

एक्सचेन्जका अनुसार सोमबार केही कम्पनीका लगानीकर्ता गुमाउने कित्तामा पनि परेका छन्। त्यसमध्ये रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

सोमबार यो कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन्। यस्तै २ प्रतिशतभन्दा धेरै सेयर मूल्य घट्नेमा नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सलगायत छन्। आइतबार सेयर मूल्य सबैभन्दा धेरै घट्नेमा गोर्खाज फाइनान्स रहेको छ।

प्रकाशित: २० पुस २०७८ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App