७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणः माघ १८ देखि धनगढीमा

सुदूरपश्चिमका विकासे मुद्दा र माग राख्दै हरेक वर्ष उद्योग वाणिज्य संघ कैलालीले गर्दै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष १५ औँ संस्करणमा पुगेको छ।

मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष कैलालीको धनगढीमा उद्योग वाणिज्य संघले शालिन आन्दोलनका रुपमा महोत्सव आयोजना गर्दै आएको भए पनि यस वर्ष भने कोरोनाका कारण माघ १८ गतेदेखि २९ गतेसम्म हुन लागेको हो।

२०६३ सालमा सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १५ औँ संस्करणमा आउन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ।

‘उद्योग वाणिज्य संघले १५ वर्ष अघि तत्कालिन सरकारलाई सुदूरपश्चिमको विकासका लागि भन्दै २१ बुँदे माग राख्दै शालिन आन्दोलनको सुरुवात गरिएको थियो,’ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘१५ वर्षको अवधिमा जम्मा ५ माग मात्रै सरकारले पूरा गरेको छ, १६ माग अझै बाँकी नै छन्।’

तत्कालिन समयमा महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो। पछि माग घट्दै गएर १६ किलोको मालामा झरेको उनले बताए। ‘हामीले सुदूरपश्चिमको विकासका प्रमुख २१ माग राखेर २०६३ सालमा प्रमुख अतिथिलाई पनि २१ किलोको माला पहिर्याएर महोत्सव उद्घाटन गरेका थियौं,’ उनले भने, ‘जति माग सरकारले पूरा गर्यो, त्यति माग कम भएको तौल बराबरको माला प्रमुख अतिथिलाई पहिर्याउने गरेका थियौँ, पछिल्लो समयमा भने हामीले सुदूरपश्चिमका सात वटा प्रमुख माग राखेका छौँ।’

हरेक वर्ष मंसिर २२ गतेदेखि हुने सुदूरपश्चिम महोत्सव कोरोनाको दोस्रो भेरियन्टका कारण स्थगित गरिए पनि पछिल्लो समयमा सप्रिँदै गएको माहोललाई मध्यनजर गर्दै आगमी माघ १८ गतेदेखि महोत्सवको तयारी गरिएको महासचिव ओम बिष्टले बताए। उनले भने, ‘प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न थालेका छौँ।’

‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सुदूरपश्चिमका परिकारसहित स्थानीय उद्यमी र उत्पादनलाई प्रदर्शन तथा विक्री वितरणका लागि राखिने उनले बताए। ‘स्टलमा यहीँका उत्पादनलाई हामीले प्राथमिकता दिई बढावा गर्ने छौँ,’ उनले भने, ‘यसले कोरोनाका कारण खस्कँदै गएको व्यापार व्यवसायलाई थोरै भए पनि राहत पुग्नेछ।’

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ३ सय बढी स्टल राखिने अध्यक्ष पुष्पराज कुँवरले बताए।

उनले भने, ‘महोत्सवमा विभिन्न कारोबारका ३ सय बढी स्टलहरु राखिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति राखिने छ।’ करिब ४ लाख बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोड बढी रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ पुस २०७८ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App