१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

उखु खेतीबाट पलायन हुँदै सर्लाही र रौतहटका किसान

सर्लाही र रौतहटका किसानहरु उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानको लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरु उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकहरुले गर्ने ठगी दुवै कारणले किसानहरु मर्कामा परेको र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरु पलायन हुन थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्।

उखु खेती गर्ने किसानहरु सरकार र चिनी उत्पादक दुवैतिरबाट असन्तुष्ट हुँदै गएपछि उखु खेतीप्रति नै निराश देखिएको महासंघ अध्यक्ष मैनालीको भनाइ छ।  

जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै जुन सरकार आए पनि उखु किसानको समस्या समाधान गर्न नसकेको बताउँदै महासंघ अध्यक्ष मैनालीले अहिले पनि कति मूल्यमा किसानले आफ्नो उत्पादन चिनी उद्योगलाई बेचेको हो भन्ने कुरो थाहा नपाएको बताएका छन्।

आफ्नो उत्पादनको मूल्य थाहा नपाउने उखु किसानले आफूले बिक्री गरिसकेको मूल्य कहिले पाउने, त्यो पनि थाहा नहुने देशका किसान निराश हुनु स्वाभाविक भएको मैनालीको भनाइ छ।

खेतमा मलखाद, बिउ र खेतको तयारी तथा सिंचाइ सबैमा किसानले आफ्नो घरको लगानी गरेर वा ऋण लिएर खेती गरे पनि एकातिर उचित मूल्य नपाउनु र अर्कोतिर उधारोमा बेचेर उखुको मूल्य पाउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु किसानका साथै देशकै लागि दुर्भाग्यको अवस्था  भएको मैनालीको भनाइ छ। भुक्तानीको लागि किसानले अरु काम छाडेर उद्योगमा तारेखमा धाएजस्तै दौडनु परेको अवस्थामा किसानहरुले उखु खेती विस्तारै छाड्दै गएको स्वीकार गरेका छन्।

सर्लाही र रौतहटका किसान उखु खेतीबाट पलायन हुँदै जानुमा चिनी उद्योगीभन्दा सरकार बढी जिम्मेवार रहेको छ। सरकारले उखु किसानको समस्यालाई कहिल्यै समाधान गर्न नखोजी जहिले पनि चिनी उत्पादकको पक्षमा काम गर्ने गरेको आरोप मैनालीको छ। सरकारले गरेका कतिपय निर्णय कार्यान्वयन गराउन नसक्नु पनि सरकारकै कमजोरी रहेको मैनालीको भनाइ छ।

सर्लाही र रौतहटमा संचालनमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स, इन्दुशंकर हरिवन, एभरेष्ट गौशाला, बगदह चिनी मिल्स, धन्कौलमा रहेका चिनी मिल्स किसानहरु निरन्तर ठगिँदा पनि सरकारले केही गर्न नसकेकाले पीडित किसानहरु विस्तारै उखु खेती क मगर्दै लगेको गरुडाका समाजसेवी तथा उखु विशेषज्ञ बृजकिशोर यादवको भनाइ छ।

किसानहरुले लगानीको उचित मूल्य पाउन नपाउने, उधारोमा विक्री गरेर महिनौँसम्म भुक्तानीको लागि दगुर्नु पर्ने, श्रम पसिनाको कुनै मोल नहुँदा उखु खेती गर्नबाट विस्तारै विस्तारै विस्थापित हुँदै उखु विशेषज्ञ यादवको भनाइ छ।

सरकारसित मिलेर चिनी उत्पादकहरुले हरेक वर्ष आम्दानी बढाउँदै गएको तर किसानहरु भने समस्यामा पर्दै गएको कारणले सर्लाही र रौतहटमा विगतका वर्षहरुभन्दा यस वर्ष उखुको खेती निकै कम भएको किसानहरुको भनाइ छ।

प्रकाशित: १८ पुस २०७८ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App