१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

एयर इन्डिया बनारस, सिल्क एयर कोलकाता र इन्डिगो नयाँदिल्ली फर्किए, एयर अरेबिया एक घन्टा होल्ड

काठमाडौं— बिहानैदेखि मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्नेमध्ये करिब तीन दर्जन आन्तरिक उडान रद्ध भएका छन् भने आधा दर्जनजति विदेशी जहाज 'डाइभर्ट' भएका छन्।

त्रिभुवन विमानस्थलबाट आइतबार मुलुकका विभिन्न गन्तव्य जानुपर्ने आन्तरिकतर्फका २९ उडान रद्द भए भने तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका पाँच जहाज यहाँ अवतरण गर्न नसकी भारत फर्किएका थिए। बिहानैदेखि वर्षा हुँदा त्रिभुवन विमानस्थल धावनमार्गको दृश्यांश (भिजिबिलिटी) तोकिएभन्दा कम भएपछि उडान रद्ददेखि डाइभर्टसम्म भएका थिए।'निरन्तर झरीका कारण भिजिबिलिटी आवश्यकभन्दा कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित हुनपुग्यो,' त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले आइतबार नागरिकसँग भने, 'यसबाट करिब तीन दर्जन आन्तरिक उडान रद्द भए भने अन्तर्राष्ट्रियतर्फ आधा दर्जनजति उडान डाइभर्ट भए ।'

उनका अनुसार एयर इन्डियाका तीन, इन्डिगो एयरलाइन्सको एक र सिल्क एयरको एक उडान डाइभर्ट भएका थिए । एयर इन्डियाका तीनवटै जहाज फर्केर बनारस अवतरण गरेका थिए । इन्डिगोले दुई पटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि नयाँदिल्ली डाइभर्ट भएको थियो ।

'बिहान भिजिबिलिटी न्यून भए पनि विस्तारै सुधार भएर दिउँसो राम्रो भएको थियो, तर ४ बजेदेखि साढे ४ भित्र भने भिजिबिलिटी २ हजार मिटरमा झरेपछि एयर इन्डियाका तीनवटा उडान यहाँ बस्न नसकेर बनारस डाइभर्ट भएका थिए,' श्रेष्ठले भने ।

त्यस्तै सिंगापुरबाट आएको सिल्क एयर कोलकाता फर्किएको थियो । एयर अरेबियाको साँझ आएको जहाज करिब एक घन्टा 'होल्ड' गरेपछि अवतरण गरेको थियो । 'बिहानका कुनै पनि माउन्टेन फ्लाइट हुन सकेनन्,' श्रेष्ठले भने, 'अन्य गन्तव्यका उडान पनि सामान्यमात्र भए ।

त्यसैगरी निजी वायुसेवा कम्पनी बुद्ध एयरका नौ उडान रद्द भएका थिए । 'माउन्टेन फ्लाइट एउटा पनि हुन सकेनन्,' बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, 'पोखराका लागि एउटा उडान भए पनि तीनवटा रद्द भए ।'

अर्को कम्पनी सिम्रिक एयरलाइन्सका आधा दर्जन उडान रद्द भएका थिए । सिम्रिकका बजार प्रबन्धक प्रज्वल थापाले लुक्लाका दुई, माउन्टेन दुई र पोखराका तीनमध्ये दुई उडान रद्द भएको जानकारी दिए । 'बिहानैदेखि भिजिबिलिटी कम हुँदा उडान रद्द हुन पुग्यो,' उनले भने ।

त्यसैगरी यती एयरलाइन्सको माउन्टेन फ्लाइट दुईवटा रद्द भएका थिए भने उसैको भगिनी वायुसेवा तारा एयरको लुक्ला जानुपर्ने करिब एक दर्जन उडान पनि हुन सकेन ।

अन्तर्राष्ट्रिय उडान गर्ने मध्यम किसिमका जहाजलाई त्रिभुवन विमानस्थलमा अवतरण गर्न २ हजार ८ सय मिटर र त्यसभन्दा ठूला जहाजलाई ३ हजार २ सय मिटर तथा उड्नलाई ९ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थलले जनाएको छ ।

जहाजको ककपिटभित्र बसेका पाइलटले सिधा अगाडि हेर्दा जति सफा देख्छ, त्यसलाई भिजिबिलिटी भनिन्छ । त्रिभुवन विमानस्थलको नियमअनुसार अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने बेला मध्यमखाले पाइलटले सिधा अगाडि २ हजार ८ सय मिटर र ठूलाले ३ हजार २ सय मिटर सफा देख्नैपर्छ । त्यसपछि मात्र अवतरण गर्न सकिन्छ ।

१ हजार ६ सय मिटर भिजिबिलिटी हुँदासम्म आन्तरिक उडान गर्ने साना जहाजलाई कुनै समस्या हुँदैन । त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ ।

विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ३ सयभन्दा बढी उडान–अवतरण हुने गरेका छन् । यिनमा ३५ देखि ४० अन्तर्राष्ट्रिय उडान–अवतरण तथा २ सय ६५ जति आन्तरिक उडान–अवतरण हुने गर्छन् ।

प्रकाशित: २८ मंसिर २०७१ २३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App