२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रौतहटको उखु सर्लाहीको चिनी उद्योगमा

रौतहटको मध्यभागमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहटका उखु किसानहरुले सर्लाहीको चिनी उद्योगलाई उखु बेच्न सुरु गरेका छन्। उखु किसानका अगाडि विकल्प नभएपछि सर्लाहीमा उखु बेच्नु बाध्यता भएको किसानहरुको भनाइ छ।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरका किसान रुदल सहनीले चार ट्रयाक्टर उखु सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगमा पुर्याएको बताएका छन्। यस पटक सर्लाही र रौतहट दुवै जिल्लामा उखु खेती कम भएकोले पहिलेका वर्षहरुभन्दा बढी मूल्यमा उखु बेचिरहेको सहनीको भनाइ रहेको छ।  

उखु किसानहरुले आफूहरुले प्रतिक्वीन्टल उखुको ६०५ रुपैयाँ पाउने बताएका छन्। उखुको मूल्य कहाँबाट थाहा भयो भन्ने विषयमा किसानहरुले केही नबताए पनि उखुको मूल्य बढेकोले आफूहरुले प्रतिक्वीन्टल ६०५ रुपैयाँ मूल्य पाउने थाहा पाएको भनाइ छ।

अर्का उखु किसान रवीन्द्र सहनीले पनि किसानहरुले उखुको मूल्य प्रतिक्वीन्टल ६०५ रुपैयाँ भएको थाहा पाएको र किसानहरुले सोही मूल्यमा उखु बिक्री गरिरहेको बताएका छन्।

इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रबन्धक योग नारायण रजकले बिहीबार दिउँसोदेखि उद्योगले क्रसिङ सुरु गरेको जानकारी दिएका छन्।  गत वर्ष २२ लाख १० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले यस सिजनमा २५ लाख क्वीन्टल उखु क्रस गर्ने लक्ष्य राखेको उखु प्रबन्धक रजकले बताएका छन्।

किसानहरुले उखुको मूल्य बढेको बताइरहेको विषयमा सोध्दा उखु प्रबन्धक रजकले सरकारले उखुको मूल्य नतोकेकोले शून्य मूल्य राखेर उखु खरिद गरिरहेको बताउँदै मूल्य निर्धारण भएअनुसार उद्योगले भुक्तानी दिने रजकले स्पष्ट पारेका छन्।

रौतहटको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिलका संचालक बैजुप्रसाद बाबराले चिनी उद्योग संचालनमा ल्याउने तयारी गरिरहेको बताएका छन्। उद्योग संचालनको तयारी भए पनि वर्षाको कारण उद्योगसम्म उखु ल्याउन समस्या भएको उद्योग संचालक बाबराको भनाइ छ।

उखुको मूल्य निर्धारण नभई किसानको उखु किन्ने काम गर्नु र उद्योग संचालनमा ल्याउनु उखु किसानमाथि धोखाधडी भएको उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्र यादवले बताएका छन्। उखुको मूल्य निर्धारण बेगर र संघको सहमतिबिना मिल संचालन गर्नु गलत रहेको बताउँदै सचिव यादवले किसानको सहमतिबिना उद्योग संचालनमा आएकोप्रति दुःख प्रकट गरेका छन्।  

उखु किसानले उद्योगपतिले हरेक वर्ष ठग्ने गरेको आरोप लगाउँदै सचिव यादवले प्रति क्वीन्टल ६८० रुपैयाँ मूल्य तोकिनु पर्नेमा अहिलेसम्म उखुको मूल्य निर्धारण नगरेर उद्योगपतिहरुले मन्त्रीलाई प्रलोभनमा पारेर चिनी उद्योग संचालनमा ल्याएको आरोप सचिव यादवको रहेको छ।

किसान र उद्योग प्रतिनिधिहरुको अनुगमनले उखुको मूल्य प्रतिक्वीन्टल ६८० रुपैया हुनुपर्ने प्रतिवेदन तयार भएको सचिव यादवको दाबी छ।

प्रकाशित: १५ पुस २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App