२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अदालतले टुंग्यायो त्रियुगा उद्योग वाणिज्य संघ बिवाद

विगत दुई वर्षअघि सुरु भएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको बाछिटाले सबै व्यापारीलाई छुने भएको छ। ३ दिनअघि संघका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको गाईघाटस्थित सुनचाँदी पसल रुजल ज्वेलर्समा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेपछि बिवादको प्रभाव व्यापारीसम्म पुग्ने संकेत देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शैलीमा राजश्व टोलीले गत आइतबार ज्वेलर्समा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। बजारमा लगभग ३ दर्जन हाराहारी सुनचाँदी पसल भए पनि रसाईलीकोमा मात्र छापा मारिनुलाई निलम्बित अध्यक्ष गजेन्दकुमार भगत र कार्यवाहक अध्यक्ष रसाईलीबीचको टकरावलाई छताछुल्ल बनाई दिएको छ।

उनीहरुबीचको बिवादको पहिलो बाछिटाले अन्तत्वगत्वा सबै व्यापारीहरुलाई पिरोल्ने आँकलन उनीहरुको छ। दुई वर्षअघि नै कार्यसमितिको अवधि सकिए पनि साधारणसभा तथा अधिवेशन नबोलाई बसेका भगत र तत्कालीन प्रथम उपाध्यक्ष रसाईलीबीच दुईवर्षदेखि नै मतभिन्नता रहँदै आएको थियो।

०७३ मा भएको साधारणसभाबाट कार्यसमितिमा अध्यक्ष छानिएका भगतले पहिले विभिन्न बहानामा र पछि कोभिडको कारण देखाउँदै ५ वर्षसम्म साधारणसभा नबोलाएको विषयलाई लिएर कार्यसमिति पदाधिकारीबीच नै मतभिन्नता  थियो।

त्यही ईख पलाउँदै जाँदा अध्यक्ष भगतले संघमा आर्थिक अपचलन गरेको ठहर गर्दै बहुमत पदाधिकारीले गएको असार अन्तिममा अध्यक्षबाट निलम्बन गर्दै रसाईलीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो। ०७८ असार २८ गतेको बैठकले निलम्बन गरेको निर्णय फिर्ता गरि पाउँ भन्दै भगत उच्च अदालत बिराटनगर पुगे। अदालतले सुुरुमा अन्तरिम आदेश दिँदै भगतलाई राहत महसुस गराए पनि पूर्ण फैसलामा भगतको दाबी पूर्ण नभएको भन्दै चाँडो साधारणसभा बोलाएर नयाँ समिति चयन गर्न आदेश दियो।

त्यही अनुसार साधारणसभा गर्ने तयारी गरेर मितिसमेत तोकिसकेको अवस्थामा भगतपक्षले पुनः अदालत गुहारेपछि यही पुस ३ गते गर्ने तयारी पूरा भइसकेको अधिवेशन रोक्न अदालतले आदेश दियो। अदालतको अघिल्लो फैसला र जिल्ला प्रशासनको निर्देशन अनुसार ताजा जनादेशका लागि गर्ने तयारी भएको साधारणसभा भगतपक्षले अदालतमार्फत रोकेकै केहीदिनपछि रसाईलीको ज्वेलर्समा राजश्व अनुसन्धानले छापा मारेको हो।

दुई पक्षबीच मुद्धा हालाहाल भइरहेकै बेला रर्साइलीको पसलमा मात्र छापा मारिनुलाई व्यापारीहरुले भगतपक्षकै उजुरी हो भन्ने निश्कर्ष निकालेका छन्। उनीहरुले एक व्यापारीलाई अर्को व्यापारीले दुःख दिने सिलसिला सुरु भएको भन्दै चिन्तासमेत व्यक्त गर्न थालेका छन्। ज्वेलर्सले राजश्व छलेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको राजश्व अनुसन्धान कार्यालय इटहरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। छापा मार्नै पर्दा सबै सुनचाँदी पसलमा टोली पुग्नुपर्ने जिकिरसमेत व्यापारीहरुको छ।

अनुसन्धान टोलीले जिल्ला प्रशासन कार्यालय र गाईघाटमै रहेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई समेत समन्वय नगर्नुले पनि छापा मार्ने काममा भगतकै हात रहेको रसाईलीको आरोप छ। व्यापारीहरुको छाता संगठनजस्तो संघले व्यापारीलाई नै दुःख दिनेगरी छापा मार्न लगाएर हैरानी बनाउन थालेको भन्दै संघको पुरानो नेतृत्वप्रति असन्तुष्टि आउन थालेको छ।

यसैबीच उच्च अदालत बिराटनगरले मंगलबार फैसला गर्दै संघको विद्यमान आधिकारिकता बिबाद टुंग्याएको छ। अदालतमा चलिरहेको त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटसँग सम्बन्धित मुद्दामा कार्यवाहक अध्यक्ष रसाईलीको पक्षमा फैसला दिदै बिबाद टुंगो लगाएको हो। फैसलाले ‘रसाईली संघको विधान अनुसार कार्यवाहक अध्यक्ष भएको कुरालाई जिल्ला प्रशासन कार्यालयले स्वीकारिसकेको प्रमाणको आधारमा संघको विधान बमोजिम काम कारवाही अगाडि बढाउन मिल्ने’ निर्णय गरेको छ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयले संघको बैंकखाता रोक्का गर्दै संस्था खारेजी हुनेसम्म चेतावनीयुक्त सूचना जारी गरेकोमा उच्च अदालतका न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायणसिंह राईको संयुक्त इजालसले प्रशासनलाई बैंकखाता नरोक्न र सूचना कार्यन्वयन नगर्न आदेश दिएको हो। विधान अनुसार कार्यवाहक अध्यक्ष नेतृत्वमा चलिरहेको संघलाई निस्कृय पार्नेगरी प्रशासनले कदम चालेको भन्दै रसाईलीलगायत वहुमत पदाधिकारीले अदालत गुहारेको थियो। सोही रिटउपर अदालतले मंगलबार सुनुवाई गर्दै रसाईलीको दावीलाई सही सावित गरेको हो।

कार्यवाहक अध्यक्ष रसाईलीसहित बहुमत कार्यसमितिले तत्कालीन अध्यक्ष भगतलाई असार २८ गतेको बैठकले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो। सो निर्णयविरुद्ध भगतले कात्तिक ८ गते उच्च अदालतले फैसला गर्दै रसाईली विधानतः  कार्यवाहक अध्यक्ष भएको फैसला गरेको हो। यस विषयलाई लिएर जिल्ला प्रशासनले गत मंसिर १० गते संस्था नै खारेजसम्म हुनसक्ने भन्दै संघलाई ध्यानाकर्षणसहित ३ दिनभित्र कार्यवाहक अध्यक्ष रसाईलीलगायतलाई लिखित जवाफ दिन माग गरेको थियो।

प्रशासनको सो कदमबिरुद्ध रसाईली पक्षले दिएको रिटउपर अदालतले प्रशासनको निर्णय कार्यान्वन नगर्न र संस्थाको कामकाज जारी राख्न अन्तरिम आदेश दिएको थियो। आदेश अनुसार रसाईली पक्षले पुस ३ गते साधारणसभा गर्ने तयारी गरेकोमा संघका पूर्व महासचिव चुडामणि कार्कीलगायतले मंसिर २९ गते सधारणसभा रोक्न अदालत गुहारेका थिए।

रिटउपर अदालतले पुस १ गते दिएको अल्पकालीन आदेशले साधारणसभा रोकेर पुस १३ गते छलफलका लागि दुवैपक्षलाई बोलाएको थियो। छलफलमा कार्की पक्ष अनुपस्थित भएपछि यसअघिको अन्तरिम आदेश खारेज गर्दै रसाईली पक्षलाई अघि बढ्न पूर्ण आदेश दिएको हो।

अदालतको फैसलापछि रसाईलीले संघको काम कारवाही विधानतः अगाडि बढाउने र रोकिएको साधारणसभा गर्ने बताए। अव संघलाई व्यापारी, व्यवसायीको साझा थलो बनाउन छिट्टै साधारणसभा बोलाउने पनि उनले बताए।

प्रकाशित: १४ पुस २०७८ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App