२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्।

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्। पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ।

सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ। राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हहाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ।

त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ।

यसले २० करोड रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। आइपिओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता सेयर सय रूपैयाँ प्रतिकित्ताका दरले बिक्री गरेर ३४ करोड ३० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको २५ लाख कित्ता आइपिओ निष्कासन गर्दैछ। प्रतिकित्ता एक सय रूपैयाँ दरले यसले आइपिओ बिक्री गरेर उक्त कम्पनीले २५ करोड रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ। हिमालयन हाइड्रोपावरले पनि २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार नौ सय ४० कित्ता आइपिओ निष्कासनका लागि निवेदन दिएको छ।

उसले एक रूपैयाँ प्रतिकित्ताका दरले आइपिओ बिक्री गरेर ३६ करोड ५५ लाख ९४ हजार रूपैयाँ जुटाउन खोजेको छ। ग्रिन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। यसले ६२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

दोर्दी खोला जलविद्युत्ले २९ लाख ५१ हजार नौ सय २९ कित्ता आइपिओ निष्कासनको तयारी थालेको छ। त्यस्तै, दुई बिमा कम्पनीहरूमा आइएमई लाइफ र रिलायबल लाइफले आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएका छन्। यी दुवै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्दैछन्।

रिलायबलले एक अर्ब २७ करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेको छ। रिलायबलले प्रिमियमको एक सय १२ रूपैयाँसहित प्रतिकित्ता दुई सय १२ रूपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति मागेको हो। आइएमई लाइफले भने अंकित मूल्यमै (एक सय रूपैयाँ) आइपिओ जारी गर्ने गरी ६० करोड बराबरको ६० लाख कित्ता सेयर जारी गर्न बोर्डमा निवेदन दिएको छ।

उता आइपिओ निष्कासनका लागि ६ लघुवित्त कम्पनीले आवदेन दिएका छन्।  सिवाइसी नेपाल लघुवित्तले तीन लाख ९५ हजार तीन सय ३६, आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार, जाल्पा सामुदायिकले पाँच लाख २२ हजार, उपकार लघुवित्तले दुई लाख ६६ हजार र राष्ट्र उत्थान लघुवित्तले आठ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन गरेका छन्।

त्यस्तै नेस्डो समृद्ध लघुवित्तले आठ लाख २८ हजार सात सय ५० कित्ता आइपिओ जारी गर्न खोजेको छ। आइपिओ जारी गर्न खोजेका अन्य कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन्। इमर्जिङ नेपालले पाँच लाख ५५ हजार ६ सय र डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार नौ सय २९ कित्ता आइपिओ जारी गर्न खोजेका छन्।

प्रकाशित: १४ पुस २०७८ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App