पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा पर्छ चुनपहरा। चुनपहराको फेँदबाट करिब २५ मिटर टाढा पृथ्वी राजमार्ग जोडिन्छ। राजमार्गको नजिकैबाट मस्र्याङदी नदी पनि बगिरहन्छ। अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तारको काम सुरु भएको छ। राजमार्ग कम्तिमा चारलेनको बन्दैछ।
राजमार्ग बिस्तारको क्रममा चुनपहरो केही खण्ड पनि भत्काउनुपर्ने अवस्था आउने र त्यसले पहरोमा भईरहेको रकक्लाइम्बिङलाई असर पर्ने भन्दै स्थानीयले पहरो जोगाउने पहल थालेका छन्। पहरोमा २०६४ देखि रक क्लाइम्बिङ सुरु भएको हो। रक क्लाइम्बिङको प्रशिक्षणस्थल समेत रहेको पहरो भत्काइएको खण्डमा अहिले भईरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने स्थानीयको चिन्ता छ।
स्थानीयले कुनैपनि हालतमा चुनपहरो भत्काउन नहुने बताईरहेका छन। हिमाल आरोहणका स्वदेशी र विदेशी आरोहीले त्यही चुनपहरोमा अभ्यास गर्ने भएकोले कुनैपनि हालतमा पहरो भत्काउन नहुने स्थानीयले बताएका छन्। राजमार्गको नजिकै भएर बग्ने मस्र्याङदी नदीको धार परिवर्तन गरेर भएपनि पहरो बचाउनुपर्ने उनीहरुको भनाई छ। विकल्प हुँदाहुँदै पनि पहरो भत्काउने प्रयास भएको स्थानीयको चिन्ता छ। पहरोबाट ठुलो परिमाणमा ढुंगा निस्कने भएकोले पनि त्यसैमा आँखा लागेको हुनसक्ने उनीहरुको आशंका छ।
पहरो बचाउँ अभियानका संयोजक लालकुमार श्रेष्ठका अनुसार पृथ्वी राजमार्ग फराकिलो बनाउने काम अघि बढेपछि आफुहरु खुसी भएपनि चुनपहरा कटान आफुहरुका लागि चिन्ताको विषय भएको बताए। गाउँलेले चुनपहरा कुनैपनि हालतमा बचाउनुपर्ने चाहना राखेको उनले बताए। ‘चुनपहरा हाम्रो गहना हो। यो पहरा काटियो भने यसले पर्यटनमा समेत असर पर्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा पहराको ढुंगा कटान भन्ने देखिन सक्छ। तर यसले पर्यटनमा दिएको योगदान कम्तिको छैन।’ पहरो बचाउनकै लागि केन्द्रसम्म ध्यानाकर्षण गराएको उनले बताए।
‘चुनपहरामा रक क्लाइम्बिङ हुन थालेको धेरै वर्ष भयो। साहसिक पर्यटकीय गतिविधिका लागि यो पहरोको ठुलो महत्व रहेको छ,’ उनले भने, ‘राजमार्ग बिस्तारको क्रममा पहरो नै विस्फोट गरेर फुटाइयो भने यहाँका गतिविधि रोकिनेछन। त्यसले पर्वतारोहीलाई समेत असर पार्नेछ। किनकी पर्वतारोही प्रशिक्षणका लागि यही पहरोमा आउँछन।’ हिमाल आरोहीले यही पहरोमा प्रशिक्षण लिने भएकोले पनि पहरोको महत्व रहेको उनले बताए।
अन्नपूर्ण क्षेत्र प्रवेशको नाकामा पर्ने भएकोले पनि यो पहरोले पर्यटनमा विशेष अर्थ राख्ने उनले बताए। ‘सबैको पहुँचमा यो पहरो रहेको छ। राजमार्गबाट नजिक पर्ने र आउजाउका लागि सहज भएकोले पनि यहाँ साहसिक गतिविधि गर्न उपयुक्त छ। पोखरा आउजाउकै क्रममा यहाँ रक क्लाइम्बिङ हुने गरेको छ,’ उनले भने, ‘पहरो नै फुटाइयो भने पर्यटनको साहसिक गतिविधिमा मार पर्नेछ। यसले नेपालको पर्यटन क्षेत्रमै असर पार्छ।’ उनका अनुसार रक क्लाईम्बिङका लागि उपयुक्त पहरा अन्यत्र पनि छन, तर चुनपहरो जत्तिको सहज र पहुँचयुक्त पहरो अन्यत्र छैनन। त्यसले गर्दा पनि यो पहरो जोगाउनुपर्ने आवश्यक छ। यही पहरो नजिक सिद्ध गुफा पनि छ। त्यसबाहेक पर्यटकीय केन्द्र बन्दीपुर पनि यसैको सिरानमा पर्छ।
२०६४ का रक क्लाइम्बिङ सुरु भएको यो पहरोमा १६० वटा फलामे नटबोल्ट गाडिएका छन। त्यही नटबोल्टमा झुण्डिएर पर्यटक र आरोहीले रक क्लाइम्बिङ गर्छन। ७० मिटर उचाईको पहरोमा अहिले २७ वटा रुटमार्फत रक क्लाइम्बिङ गर्न मिल्छ। कोरोना संक्रमण सुरु हुनुअघि वर्षमा करिब ५ सय जना विदेशी पर्यटक रक क्लाइम्बिङ गर्नकै लागि आउँथे। केही स्वदेशी पनि हुने गर्दथे। ‘पहरो फुटाएर ढुंगा निकाल्न सक्ने हो भने पृथ्वी राजमार्गका लागि आवश्यक ढुंगा यही पहरोबाट पु¥याउन सकिने भएकोले पनि आँखा लागेको हुनसक्छ। हामी त्यो हुन दिन्नौ,’ उनले भने।
स्थानीय पहरोको विकल्प पनि दिएका छन्। पारिपट्टी गोरखा जिल्ला पर्ने र छोटो दुरीमा मस्र्याङदी नदीमाथि दुईवटा पक्कि पुल भएकोले अहिलेकै खण्डलाई एकतर्फी बनाउँदै अर्काे सडक गोरखा हुँदै जोड्न सकिन्छ। त्यसो गर्दा पहरो कटान गर्नुपर्दैन। गोरखा र तनहुँलाई मस्र्याङदी नदीले छुट्याएकोले गोरखाखण्डमा नदीको धार परिवर्तन गर्न सके तनहुँ खण्डमा पर्ने पहरो भत्काउनु आवश्यक पर्दैन। किनकी खोलाको धार अलिकति मात्र गोरखातिर लैजान सकेमा तनहुँ खण्डमा ठाउँ पर्याप्त हुने र त्यहाँ तलबाटै ढुंगाको पर्खाल उठाएर राजमार्ग बिस्तार गर्न सकिन्छ। ‘हामीले पर्याप्त विकल्प पनि दिएका छौ। पहरो फुठाउनु आवश्यक छैन,’ उनले भने। यो पहरोको लम्बाई झन्डै एकसयमिटरसम्म छ। अहिले पहरोकै कारण केही खण्ड साँघुरो पनि छ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा पहरो उपयोगविहीन तरिकाले बचाउनका लागि मात्र नभई साहसिक पर्यटनका लागि महत्व रहेको बताए। ‘चुन पहरोको रक क्लाइम्बिङ कुनैपनि हालतमा बचाउन जरुरी छ, किनकी यो पहरो प्रकृतिले दिएको उपहार हो,’ अध्यक्ष थापाले भने, ‘पहरोमा साहसिक पर्यटकीय गतिविधि गरेर नेपालकै पर्यटन क्षेत्रले लाभ लिएको छ। यो स्थानीयको लाभको विषय मात्र होईन।’
अध्यक्ष थापाका अनुसार नेपालमा हिमाल आरोहणको अभ्यासमा जाने विदेशी र स्वदेशी आरोहीले चुचुरोमा डोरीमा झुन्डिएर कसरी आरोहण पुरा गर्ने भन्ने सिक्नका लागि यही पहरोमा आउँछन। ‘राष्ट्रिय रुपामा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि यो पहरोको महत्व छ। राजमार्ग र पहरोको दुरी टाढा छैन,’ उनले भने, ‘तर, इच्छाशक्ति भए जोगाउन सकिन्छ। राजमार्ग फराकिलो बनाउन पर्याप्त विकल्प छन। पहरो विस्फोटलाई मात्र ध्यान दिनु भएन, विकल्प पनि हेर्नुपर्छ।’ पहरो भत्काउनेको साटो मस्र्याङदीलाई धार परिवर्तन गराउने, टनेल बनाएर सडक बिस्तार गर्ने लगायतका धेरै विकल्प रहेको उनले बताए।
प्रकाशित: १० पुस २०७८ १०:४६ शनिबार