१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश देऊ :परिसंघ

नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको छ।

ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्व अनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे। उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको बिनाअवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे।

कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ। अध्यक्ष अग्रवालले नेपालले काठमाडौंबाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए।

नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिबहन सेवामा पनि जोड दिइएको छ। काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको परिसंघले जनाएको छ।

कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपनकान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे। ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस्।’

परिसंघ–डिसिसिआईबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (डिसिसिआई) बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डिसिसिआईका अध्यक्ष रिजवान रहमानले हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ।

सो अवसरमा परिसंघ अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि उद्योग लगायत क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए। समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत् विकासमा चासो देखाएका छन्। कार्यक्रममा डिसिसिआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क,बिम्स्टेक जस्ता साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए।

उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताए। बंगलादेशले पछिल्लो ५ वर्षमा औसत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ।

निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्नेमा जोड

यसैबीच, बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताएका छन्। परिसंघसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए।

उनले आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देशबीचको व्यापार घाटा न्यूनीकरणमा पनि जोड दिए। ‘दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएका छन्,यस अवसरमा हामीसँग अवसर र चुनौती दुवै छन्,’ उनले भने, ‘अब दुई देशले आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ, व्यापार अभिवृद्धि गर्नुपर्छ।’

प्रकाशित: १ पुस २०७८ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App