७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मुख्यमन्त्रीद्वारा ‘दोकान’ उद्घाटनपछि आलोचना

शनिबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी चटकपुरस्थित एक निजी ‘दोकान’ को रिबन काटेर उद्घाटन गरे। उनले उद्घाटन गरेको समाचार आएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा व्यापक आलोचना भयो। मुख्यमन्त्री भट्टले ‘दोकान’ उद्घाटन गरे भनेरै बिहानैदेखि सामाजिक सञ्जाल फेसबुकमा आलोचना भइरहेको छ।

पसल उद्घाटन गरेको समाचारलाई लिएर धनगढीका युवा चित्रराज भट्टले व्यङ्ग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘आज मलाई एउटा पसलको उद्घाटन गरिदिन निम्तो आएको छ धनगढीतिर। के गरौं जाऊँ कि नजाउँ? कृपया सुझाव पाउँ?’ यस्तै यही विषयलाई लिएर टिप्पणी गर्दै राजनीतिक विश्लेषक कमलराज जोशीले भने,‘मुख्यमन्त्रीले व्यापार व्यवसायका लागि योजना तथा नीति बनाउनु पथ्र्यो, त्यो बनाउनुको साटो पसलमा गई रिबन काटेर उद्घाटन गर्नु उचित भएन।’

पदीय मर्यादा विर्सेर मुख्यमन्त्रीले नै पसल उद्घाटन गरिदिँदा आम नागरिकमा मुख्यमन्त्रीको कामै छैन, उनी फुर्सदिला छन् भन्ने भान हुने गरेको बताउँदै उनले भने, ‘त्यो पदको गरिमा भनेको उच्च हो, तर मुख्यमन्त्रीले पदीय मर्यादा नै बुझेनन्।’ यदि मुख्यमन्त्रीले पसलको रिबन काट्नुभन्दा अन्य प्रदेशका व्यापारी, उद्योगी तथा लगानीकर्तालाई सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउन गज्जबको नीति बनाउनु पर्ने उनको सुझाव छ। ‘मुख्यमन्त्रीले कसैको घर पसल उद्घाटन गर्नुभन्दा प्रदेशमा लगानी भित्र्याउने खालका नीति तथा योजना बनाउनु पथ्र्यो,’ उनले भने, ‘त्यसबारे अर्थशास्त्री, बजारशास्त्री जस्ता विज्ञलाई राखेर सुझाव सल्लाह र छलफल चलाउनु पथ्र्यो, त्यो गर्दैनन्, उल्टै निजी पसल उद्घाटनमै समय व्यतित गरे।’

पदीय मर्यादाका हिसाबले मुख्यमन्त्रीजस्तो गरिमा बोकेको व्यक्तिले निजी पसल, घर उद्घाटन गर्नु उचित नहुने अर्का राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीति शास्त्रका सह–प्राध्यापक देवराज अवस्थी बताउँछन्। ‘निजी पसल उद्घाटन गर्न जाँदा मुख्यमन्त्रीले सरकारी सवारी साधनदेखि सुरक्षा संयन्त्र परिचालन भएको हुन्छ,’ उनले भने, ‘राज्यका स्रोत साधन प्रयोग हुन पनि दुरुपयोगै हो।’  

आज बजारमा रहेको पसल उद्घाटन गरिँदा भोलि गाउँमा कुनै टहरामा एक साना व्यापारीले उद्घाटन गर्न बोलाउँदा जाने कि नजाने भन्ने पनि रहने गरेको बताउँदै उनले भने, ‘यस्ता निजी दोकान, घर उद्घाटन गर्न जानु उचित हैन।’ सरकारी लगानी, अर्ध सरकारी तथा सामाजिक क्षेत्रमा महत्व राख्ने विषयमा उद्घाटन गर्न जानु उचित भए पनि निजी क्षेत्रकै लगानीमा रहेको पसल उद्घाटन गर्दा त्यसले पदीय मर्यादा विर्सिएको भान भएको उनको तर्क छ।

यस विषयमा थप प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले फोन नै ‘रिसिभ’ गरेनन्।  

प्रकाशित: २५ मंसिर २०७८ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App