५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनका लागि शैलुङमा मिनि ग्रेटवाल

दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनका लागि मिनि ग्रेटवाल निर्माण सुरु भएको छ। दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ वेसक्याम्प मानिने कालापानीदेखि शैलुङडाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न थालिएको हो।

महत्वपूर्ण पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङ डाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए।

दोलखाको शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा मिनि ग्रेटवाल निर्माण गर्न रु पाँच करोड लागत व्यवस्था गरिएको छ। कूल लागतमा सङ्घीय सरकार अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोड ५० लाख छ भने शैलुङ गाउँपालिकाले रु एक करोड ५० लाख रकम लगानी गरेको छ। पाँच सय मिटर कालापानी मिनी ग्रेटवालको गत सोमबार गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यस गरे। यो वालको निर्माण एक वर्षभित्र गरिने छ।

दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ। हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ। गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ। गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिसकेको छ।

पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा रहेकामा पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ। यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङडाँडाको भ्रमण गर्न सकिन्छ।

प्रकाशित: २२ मंसिर २०७८ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App